गाजाका हरेक तीनमध्ये एक जना कैयौं दिनदेखि भोकै रहेको संयुक्त राष्ट्र संघको दाबी

कुपोषणबाट शुक्रबार थप ९ जनाको मृत्यु

श्रावण १०, २०८२

कान्तिपुर संवाददाता

The United Nations claims that one in three people in Gaza have been hungry for several days

काठमाडौँ — संयुक्त राष्ट्र संघको खाद्य कार्यक्रमले गाजाका हरेक तीन मध्ये एक जना कैयौं दिनदेखि भोकै रहेको बताएको छ । वर्ल्ड फुड प्रोग्राम (डब्लूएफपी)ले एक वक्तव्य जारी गर्दै भनेको छ, ‘कुपोषण बढिरहेको छ । ९० हजार महिला र बालबालिकालाई तत्काल उपचारको आवश्यकता छ ।’

गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार कुपोषणले थप ९ जनाको मृत्यु भएको छ ।गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर २०२३ मा इजरायलले युद्ध सुरु गरेयता गाजामा कम्तिमा ११५ प्यालेस्टाइनीको भोकमरीका कारण मृत्यु भइसकेको छ । गाजामा आउने-जाने सबै वस्तुहरूमा इजरायलले नियन्त्रण बनाएको हमासको आरोप छ । इजरायलले भने गाजामा जाने कुनै पनि सहायता नरोकेको दाबी गरेको छ । कुपोषणका लागि इजरायलले हमासलाई जिम्मेवार ठहर्‍याएको छ । हमासका अनुसार सन् २०२३ अक्टुबर ७ यता गाजामा ५९ हजारभन्दा बढी मारिएका छन् ।

गाजामा भोकमरी र कुपोषणको संकट चुलिँदै गएपछि बालबालिका र वृद्धवृद्धाको अवस्था नाजुक बन्दै गएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले गाजामा राहत सामग्रीमाथि नाकाबन्दी लगाइएकाले मानवनिर्मित भोकमरीको अवस्था सिर्जना भएको प्रतिकृया दिएका छन् । 

यसअघि गाजाका बालबालिकाहरू कुपोषणको सिकार भइरहँदा पछिल्लो समय वृद्धवृद्धामा पनि यसका स्पष्ट लक्षणहरू देखिन थालेको अलजजिराका पत्रकार ताकेर अबु अज्जुमले आफ्नो स्थलगत रिपोर्टिङमा उल्लेख गरेका छन् ।  यसमध्ये धेरैजसो मृत्यु पछिल्ला हप्ताहरूमा भएको र त्यसमा धेरै बालबालिका समावेश रहेको मन्त्रालयले जनाएको छ । 

गाजा शहरको अल-अहली अरब अस्पतालका एक स्रोतले अलजजिरा अरबीलाई बताएअनुसार प्यालेस्टाइनी बालक अब्दुल कादर अल-फायौमीको कुपोषण र भोकमरीका कारण मृत्यु भएको छ । मार्चमा इजरायलले गाजामा पूर्ण नाकाबन्दी लगाएको थियो । मे महिनाको अन्त्यदेखि न्यून संख्यामा मात्रै सहायता सामग्री गाजा प्रवेश गर्न दिइएको हमासको भनाइ  छ । यसले गर्दा गम्भीर मानवीय संकट निम्तिएको उल्लेख गरेको छ । विश्व स्वास्थ संगठन लगायतले मास स्टारभेसन (व्यापक भोकमरी) को चेतावनी दिएका छन् ।

संयुक्त राष्ट्रसंघको प्यालेस्टाइनी शरणार्थी एजेन्सीले बिहीबार एक विज्ञप्ति जारी गर्दै भोकमरी संकटका कारण ‘परिवारिका विखण्डन’ को अवस्था आउने चेतावनी दिएको छ । सो एजेन्सीका प्रमुख फिलिप लाजारिनीले एक्समा पोस्ट गर्दै भनेका छन्, ‘भोकका कारण अभिभावकहरू आफ्ना बालबालिकाको हेरचाह गर्नसक्ने अवस्थामा छैनन् । हाम्रै स्वास्थकर्मीहरू दिनको एक छाक दालको भरमा काम गरिरहेका छन्, कार्यालयमै बेहोस भएर ढलिरहेका छन् । स्वास्थकर्मी र हेरचाह गर्नेहरूले नै पर्याप्त खाना खान पाएनन् भने समग्र मानवीय प्रणाली ध्वस्त हुन्छ ।’

संयुक्त राष्ट्रसंघको मानवीय एजेन्सी, ‘ओचा’ले वितरण केन्द्रहरूमा रहेका सहायता सामग्री प्रमाणीकरण गर्न इजरायलले रोकिरहेको बताएको छ । गाजा शहरबाट अलजजिराका हनी महमुदले अवस्था बिग्रँदै गएको र प्यालेस्टाइनीहरूले जुनसुकै सहायता पाउन पनि हारालुछ र भिड गरिरहेको उल्लेख गरेका छन् । ‘भोकमरी र पानीको अभावले गाजालाई गाँजेको छ,’ उनले लेखेका छन्, ‘यसले गर्दा कुपोषणको महामारी देखिएको छ ।’ कुपोषणले कंकाल बनेका बालबालिकाहरूले गाजाका अस्पतालहरू भरिएको द गार्जियनको समाचारमा उल्लेख छ ।

कान्तिपुर

Link copied successfully