ओस्बोर्न दर्शकसामु ‘प्रिन्स अफ डार्कनेस’ र ‘हेभी मेटलका गडफदर’ का रूपमा प्रख्यात थिए ।
काठमाडौँ — विश्वप्रसिद्ध सांगीतिक समूह ‘ब्ल्याक सब्बाथ’का प्रमुख गायक तथा रियालिटी टिभी स्टार ओजी ओस्बोर्नको निधन भएको छ । उनको परिवारले विज्ञप्तिमार्फत ७६ वर्षे ओस्बोर्नको मंगलबार निधन भएको पुष्टि गरेको छ ।
‘हाम्रा प्रिय ओजी ओस्बोर्नको आज बिहान निधन भएको खबर हामीले भन्नुपर्ने शब्दहरूभन्दा धेरै दुःखद छ,’ ओस्बोर्नको परिवारले बर्मिङ्घम, इङ्ल्यान्डबाट जारी विज्ञप्तिमार्फत भनेको छ, ‘उनी परिवारसँगै थिए र मायाले घेरिएका थिए । हामी यस समयमा सबैलाई हाम्रो पारिवारिक गोपनीयताको सम्मान गर्न अनुरोध गर्दछौं ।’
ओस्बोर्न दर्शकमाझ ‘प्रिन्स अफ डार्कनेस’ र ‘हेभी मेटलका गडफादर’का रूपमा प्रख्यात थिए। उनले केही साता अघिमात्रै ‘ब्याक टु द बिगिनिङ’ नामक कन्सर्टमा आफ्नो प्रस्तुति दिएका थिए । ओस्बोर्नको निधनले विश्व संगीत क्षेत्रलाई दुःखी बनाएको छ। उनको मृत्युको कारण भने खुलाइएको छैन। सन् २०२० मा उनले आफू पार्किन्सन्स रोगसँग जुधिरहेकामा सार्वजनिक रूपमा बोलेका थिए।
सन् १९६९ मा स्थापना भएको सांगीतिक समूह ब्ल्याक सब्बाथले हेभी मेटल संगीतप्रेमीहरूबीच बेग्लै स्थान बनाएको थियो । भियतनाम युद्धले निम्त्याएको चरम त्रासदी र हिप्पीकालीन समयमा सार्वजनिक भएका ब्ल्याक सब्बाथका गीतहरू सुरुआतदेखि नै चर्चित बनेका थिए।
