सन् २०१० मे २१ मा दार्जिलिङको क्लबसाइड क्षेत्रमा भाषण गरिरहँदा तामाङको हत्या भएको थियो
What you should know
विराटनगर — अखिल भारतीय गोर्खा लिग (अभागोली) का तत्कालीन अध्यक्ष तथा दार्जिलिङका गोर्खा नेता मदन तामाङको हत्या प्रकरणमा १५ वर्षपछि अन्ततः अदालतले औपचारिक सुनुवाइ प्रक्रिया सुरु गरेको छ ।
सन् २०१० मे २१ मा दार्जिलिङको क्लबसाइड क्षेत्रमा भाषण गरिरहेका तामाङमाथि अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरेको थियो ।
उक्त घटनामा गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) का तत्कालीन अध्यक्ष विमल गुरुङलाई मुख्य अभियुक्त बनाएर ४७ जना नेता–कार्यकर्ताविरुद्ध अदालतमा मुद्दा दायर गरिएको थियो । जसमा गुरुङ पत्नी आशा, रोशन गुरुङ, विनय तामाङ, हर्कबहादुर क्षेत्रीलगायत छन् ।
खासमा सीबीआईले ५३ जनालाई आरोपी र ९७ जनालाई साक्षी बनाएर अदालतमा मुद्दा दायर गरेको थियो । जसमध्ये निकोल तामाङ र काँइला (दिनेश) बेपत्ता छन् । चार आरोपीको मृत्यु भइसकेको छ । खुकुरी प्रहारमा संलग्नमध्येका एक निकेल तामाङलाई सीआईडीले सीमावर्ती इलामबाट पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखेको थियो । तर, उनी हिरासतबाटै बेपत्ता भएको सीआईडीको दाबी छ । निकेल र काँइला दुवै आरोपी बेपत्ता भएको भनिए पनि उनीहरूको ‘इन्काउन्टर’ भएको हुन सक्ने आशंका मोर्चा नेतृत्वको छ ।
लामो अनुसन्धान, कानुनी उल्झन र अदालती प्रक्रिया पार गर्दै यो मुद्दा हाल पश्चिम बङ्गालको वर्धमानस्थित केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) को विशेष अदालतमा प्रवेश गरेको छ । अदालतमा मंगलबारदेखि औपचारिक सुनुवाइ प्रक्रिया (ट्रायल) सुरु भएको छ ।
मदन तामाङका परिवार र समर्थकहरूले लामो समयदेखि हत्या प्रकरणको गम्भीर अनुसन्धानको माग गरिरहेका थिए । सन् २०२० मा कलकत्ता उच्च अदालतले निष्पक्ष सुनुवाइका लागि मुद्दा वर्धमान स्थानान्तरण गर्ने आदेश दिएको थियो । त्यसयता पटक–पटक स्थगन हुँदै आएको मुद्दा बल्ल सुनुवाइको प्रक्रियामा छिरेको हो ।
अदालतले मुख्य अभियुक्तसहित सबैलाई अदालतमा उपस्थित भई प्रमाण पेस गर्न निर्देशन दिएको छ । घटनाको बेला तामाङले दार्जिलिङमा सार्वजनिक सभा आयोजना गरिरहेका थिए । त्यही कार्यक्रमकै बीच उनीमाथि धारिलो हतियार प्रहार गरिएको थियो ।
अखिल भारत गोर्खा लिगकी अध्यक्ष तथा तामाङकी पत्नी भारती तामाङले ढिलो भए पनि ट्रायल सुरु हुनु सकारात्मक पक्ष भएको बताइन् । ‘न्यायको लडाइँ अझै बाँकी छ,’ उनले भनिन्, ‘सरकारले ढिलै भए पनि न्यायको आशा जगाउने काम गरेको छ ।’
मदन तामाङ हत्या अनुसन्धान शृङ्खला
