What you should know
मस्को — रुसको सुदूरपूर्वी दुर्गम क्षेत्रमा बिहीबार करिब ५० जना यात्रु बोकेको यात्रुबाहक विमान दुर्घटना हुँदा त्यसमा सवार सबैको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
सोभियत संघमा निर्मित ट्विन प्रोपेलर एन्टोनोभ–२४ विमान दुर्गम र घना जंगलमा खसेको र दुर्घटनास्थलबाट धुवाँको मुस्लो उडेको देखिएको भिडियोहरू रूसी सञ्चारमाध्यमले सम्प्रेषण गरेका छन् । सरकारी सञ्चारमाध्यम र अनुसन्धानकर्ताले सार्वजनिक गरेको भिडियोमा घटनास्थलमा जीवित व्यक्तिको कुनै संकेत नपाइएको देखाइएको छ । अंगारा एयरलाइन्सको विमान ब्लागोभेश्चेन्स्क सहरबाट टिन्डा शहरतर्फ जाँदै गर्दा स्थानीय समयअनुसार दिउँसो १ बजे राडारसँग सम्पर्कविच्छेद भएको थियो ।
एक उद्धार हेलिकप्टरले टिन्डा विमानस्थलबाट करिब १५ किलोमिटर दक्षिणमा रहेको जंगली पहाडको ढलानमा विमानको जलिरहेको भग्नावशेष फेला परेको थियो । रुसी अन्वेषकहरूले सार्वजनिक गरेको भिडियोमा दुर्घटनास्थलबाट धुवाँ उठिरहेको र जंगलको भुइँमा छरिएको विमानका टुक्राहरू देखिएको छ ।
सरकारी समाचार संस्था तासका अनुसार दुर्घटना भएको केही घण्टापछि मात्र खोजी तथा उद्धार टोली घटनास्थल पुगेको थियो र त्यहाँ कोही पनि जीवित रहेको कुनै प्रमाण फेला परेको थिएन । अनुसन्धानकर्ताहरूले दुर्घटनाको कारण भने खुलाएका छैनन् ।
अंगारा एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत सेर्गेई सलामनोभले रुसको आरईएन टिभी च्यानललाई बताएअनुसार घटनाको समयमा मौसम खराब थियो तर विमानचालक (क्याप्टेन)ले उडान गर्ने निर्णय गरेका थिए ।
करिब ३०,००० मानिसको बसोबास रहेको टिन्डा चिनियाँ सीमाबाट करिब २०० किलोमिटर (१२५ माइल) टाढा घना ताइगा जंगलमा अवस्थित छ ।
विमानमा कम्तीमा एक जना चिनियाँ नागरिक रहेको चीनको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।
