गाजामा इजरायली आक्रमण, कम्तीमा २८ जनाको मृत्यु

इजरायली हमलाबाट असन्तुष्ट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई बोलाए ह्वाइट हाउस

श्रावण ६, २०८२

एजेन्सी

Israeli attack on Gaza, at least 28 dead

What you should know

गाजापट्टी — इजरायलले मंगलबार गरेको दुई छुट्टाछुट्टै हमलामा गाजामा कम्तीमा २८ जनाको ज्यान गएको प्यालेस्टिनी स्वास्थ्य अधिकारीले जनाएका छन् ।

मध्य गाजाको देइर अल–बलाह सहरको पश्चिमी भागमा अवस्थित शाती शरणार्थी शिविरमा आश्रय लिइरहेका सर्वसाधारणमाथि भएको आक्रमणमा कम्तीमा १५ जनाको ज्यान गएको गाजाको नागरिक सुरक्षा एजेन्सीले जनाएको छ । एजेन्सीका प्रवक्ता महमुद बासलले गाजा सहरको पश्चिममा रहेको अल–सती शिविरमा इजरायलले गरेको अर्को आक्रमणमा पनि कम्तीमा १३ जनाको मृत्यु भएको बताएका छन् । प्यालेस्टिनी रेड क्रिसेन्टका अनुसार उक्त हमलामा कम्तीमा १ सय १८ जना घाइते भएका छन् । तर इजरायली सेनाले भने हमलाका बारेमा ‘कुनै जानकारी नभएको’ बताएको छ ।

२२ महिनादेखि चलिरहेको युद्धमा इजरायलले नयाँ क्षेत्रमा आक्रमण गरेको बताइएको छ, जुन क्षेत्रमा यसअघि इजरायल–हमास युद्धको प्रभाव थिएन । मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसंघको कार्यालय (ओसीएचए) ले यस क्षेत्रमा ५० हजारदेखि ८० हजार मानिस बसोबास गर्ने अनुमान गरेको छ । इजरायल–हमास युद्ध चर्केपछि पछिल्लो समय यस क्षेत्रमा झन्डै ३० हजारको संख्यामा विस्थापितहरू आएर आश्रय लिएर बसेका छन् । यस क्षेत्रलाई अहिलेसम्म अपेक्षाकृत सुरक्षित मानिएको थियो । यिनै क्षेत्रलाई लक्षित गर्दै इजरायलले ठूलो मात्रामा स्थलगत अपरेसन थाल्दै मंगलबार पहिलो आक्रमण गरेको हो । स्थानीय प्यालेस्टिनीले बताएअनुसार इजरायलले यहाँ ट्यांक गोलाबारीबाट रातभर भीषण हमला गरेको थियो ।

‘यो हमला रातभर चलेको थियो,’ देइर अल–बलाहका स्थानीय आयमान अबी हसनले एपीसँग भने, ‘हमला यति भीषण थियो कि कुनै ठूलो भूकम्प आएर जमिन हल्लाइरहेको जस्तो अनुभव भएको थियो ।’

सिफा अस्पतालका निर्देशक डा. मोहम्मद अबु सेल्मियाहले समाचार संस्था एपीलाई बताएअनुसार मृतकहरूमध्ये तीन महिला र तीन बालबालिका समावेश छन् । अन्य ३८ जना प्यालेस्टिनीहरू घाइते भएका छन् । स्वास्थ्य मन्त्रालयको एम्बुलेन्स र आपत्कालीन सेवाले सार्वजनिक गरेका फुटेजमा आक्रमणपछि मृतकहरूलाई भुइँमा लडिरहेको देखिएको थियो ।

त्यसैगरी, गाजा सहरमा सहायता लिएर आउने ट्रकहरू पर्खिरहेका प्यालेस्टिनीको भीडलाई लक्षित गर्दै भएको दोस्रो आक्रमणमा आठ जनाको मृत्यु भएको बताइएको छ । प्यालेस्टिनी रेड क्रिसेन्टका अनुसार उक्त हमलामा कम्तीमा १ सय १८ जना घाइते भएका छन् । हमला हुनुअघि सहायता सामग्रीका लागि पर्खिरहेका अहमद मानाले भने, ‘भीडलाई लक्षित गर्दै इजरायली विमानले दुई पटक प्रहार गरेको थियो ।’

इजरायली सेनाले गाजा सहरको हमलाका बारेमा तत्काल कुनै टिप्पणी गरेको छैन । इजरायलले भने हमास लडाकुहरू घनाबस्तीमा रहेका कारण प्यालेस्टिनी नागरिकको मृत्यु हुने गरेको भन्दै त्यसको दोष हमासलाई नै दिँदै आएको छ । साथै, इजरायलले हमासलाई युद्धविरामका लागि हतियार त्यागेर निःशस्त्रीकरण हुन राखेका सर्तहरू नमानेका कारण पनि युद्ध लम्बिएको आरोप लगाएको छ । इजरायली सेनाले यसै साताको सुरुमा सहरका केही भागहरू खाली गर्न सर्वसाधारणलाई आदेश दिएको थियो ।

पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विशेष जोडबलमा इजरायल र हमासबीच गाजामा युद्धविरामका लागि निरन्तर प्रयासहरू भइरहेका बेला इजरायलले गाजाको नयाँ क्षेत्रमा स्थल आक्रमण बढाएको हो । इजरायलको पछिल्ला हमलापछि लडाइँलाई रोक्ने र कम्तीमा केही बन्धकहरूलाई मुक्त गर्ने प्रारम्भिक वार्ताका सम्झौतालाई असर गर्ने देखिएको छ । जबकि पछिल्लो चरणको वार्ता केही सातादेखि जारी छ । शान्ति सम्झौताका लागि इजरायलले आफ्ना सेना गाजा क्षेत्रबाट फिर्ता बोलाउनुपर्ने हमासको मागका कारण पनि वार्ता निष्कर्षमा पुग्न सकिरहेको छैन । बरु इजरायलले दिनानुदिन गाजा क्षेत्रमा आफ्नो नियन्त्रण बढाउँदै लगेको छ ।

ट्रम्प प्रशासनले भने इजरायललाई गाजामा हमला नगर्न बारम्बार दबाब दिँदै आएको छ । सोमबार पनि राष्ट्रपति ट्रम्पकी प्रेस सचिव कारोलिन लेभिटले गाजाको एकमात्र क्याथोलिक चर्चमा हालै गरिएको इजरायली हमलाबाट ट्रम्प ‘स्तब्ध’ भएको बताएकी छन् । जुन हमलामा तीन जनाको मृत्यु हुनुका साथै १० जना घाइते भएका थिए । उक्त हमलाको भोलिपल्टै क्रिस्चियन पादरीहरूले उक्त क्षेत्रको भ्रमण गर्दै लडाइँबाट गाजा सहर लगभग ध्वस्त भएको र यहाँका वृद्धवृद्धा, महिला, बालबालिका खाद्यान्न, औषधि र आश्रयस्थलको अभावमा नाजुक अवस्थामा रहेको भन्दै यस युद्धलाई तत्काल रोकाउन पहल गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका थिए । इजरायली सेनाले भने साताको सुरुमा सर्वसाधारणलाई सहरका केही भागहरू खाली गर्न आदेश दिँदै हमला बढाएको हो ।

इजरायलले लामो समयदेखि गाजाका लागि अन्तर्राष्ट्रिय समुदायले दिएका सहायतालाई प्रवेशमा कडिकडाउ गर्दै आएको छ भने सीमित मात्रामा पठाइएका सहायता लिन जाने सर्वसाधारणलाई पनि सहायता वितरण केन्द्रमा अन्धाधुन्ध गोली चलाउने गरेको छ ।

संयुक्त राष्ट्रसंघले मंगलबार यसरी सहायता खोज्दै आउने १ हजारभन्दा बढी सर्वसाधारण मारिएका उल्लेख गर्दै यसलाई इजरायलद्वारा गरिएको हत्याको आरोप लगाएको छ । राष्ट्रसंघले भनेको छ, ‘गाजा मानवीय फाउन्डेसन (जीएचएफ) द्वारा सञ्चालित सहायता स्थल वरपर नै ७ सय ५० भन्दा बढीको मृत्यु भइसकेको छ ।’ जीएचएफले भने सहायता वितरण केन्द्रमा भएका भनिएका आक्रमण र हताहतीलाई अस्वीकार गर्दै आइरहेको छ ।

७ अक्टोबर २०२३ मा हमास लडाकुहरूले इजरायलमा हमला गर्दै २ सय ५१ जनालाई बन्धक बनाएपछि इजरायलसँगको लडाइँ चर्केको हो । २२ महिनाभन्दा लामो लडाइँमा इजरायलतर्फ लगभग १ हजार २ सय जनाको मृत्यु भइसकेको छ भने उसका अझै पनि सुपुर्दगी हुन बाँकी ५० बन्धकमध्ये आधाभन्दा कम मात्रै जीवित रहेको आशंका गरिएको छ । गाजाको स्वास्थ्य मन्त्रालयले भने ५९ हजारभन्दा बढी प्यालेस्टिनीहरू मारिएको दाबी गरेको छ । मन्त्रालयका अनुसार मृतकहरूमध्ये आधाभन्दा बढी महिला र बालबालिका रहेका छन् ।

०००

शान्ति सम्झौतामा इजरायली हमला बाधक बनेको ट्रम्पको बुझाइ

Israeli attack on Gaza, at least 28 dead

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा र सिरियामा भइरहेको इजरायली हवाई हमला नियन्त्रण गरी स्थितिमा सुधार ल्याउन इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई ह्वाइट हाउसमा बोलाएको सीएनएनले जनाएको छ । गत बिहीबार गाजाको क्याथोलिक चर्चमा भएको आक्रमणको प्रतिक्रिया स्वरूप ट्रम्पले नेतान्याहुलाई आफ्नो तीव्र असन्तुष्टि व्यक्त गर्दै इजरायललाई उक्त आक्रमणमा भएको गल्ती स्वीकार गर्न बोलाइएको जनाइएको छ ।

युद्धरत देशहरूलाई शान्ति सम्झौता गर्न निरन्तर दबाब दिइरहेका बेला सिरियाको राजधानी दमास्कसमा भएको इजरायली हवाई हमलाबारे पनि ट्रम्पले चासो राखेको ह्वाइट हाउसका प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले बताएका छन् । अमेरिका इजरायलको घनिष्ट सहयोगी भए पनि पछिल्ला हमलाका कारण ट्रम्प र नेतान्याहुबीच आपसी अविश्वास बढ्दै गएको बताइन्छ । जसका कारण सम्बन्ध जटिल बनेको सीएनएनले पनि उल्लेख गरेको छ । इरानमाथिको इजरायली हमलामा साथ दिएको अमेरिकाले त्यसपछिका युद्धविराम पहलमा सोचेजस्तो प्रगति नहुनुमा इजरायलको हमला जिम्मेवार रहेको निष्कर्ष निकाल्दै नेतान्याहुसँग ट्रम्प असन्तुष्ट देखिएका हुन् ।

ट्रम्पले नेतान्याहुको हालैको वासिङ्टन भ्रमणले गाजामा युद्धविरामको दिशामा प्रगति हुने आशा व्यक्त गरेका थिए । युद्धविराम सम्झौतामा हमासले बन्धक बनाएकाको रिहाइ र मानवीय सहायताको पहुँच विस्तार गर्ने बुँदा समावेश थियो । यसैका आधारमा राष्ट्रपति ट्रम्पले इजरायल–हमासबीच चाँडै नै सम्झौता हुने दाबी गरेका थिए । तर नेतान्याहुले उनको दाबी अनुरूप ठोस जवाफ नदिई अमेरिका छोडेका थिए । जबकि हमासले सोमबार पनि एक विज्ञप्ति जारी गर्दै इजरायलसँगको युद्ध सम्झौताका लागि आफूहरू चौबीसै घण्टा तयार रहेको बताएको थियो । हालै २५ देशका विदेशमन्त्रीहरूले पनि गाजा क्षेत्रमा ‘ड्रिप फिडिङ’ सहायताका लागि इजरायलको आलोचना गरेका छन् ।

एजेन्सी

Link copied successfully