What you should know
मस्को — युक्रेनसँगको युद्ध अन्त्यका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन शान्ति सम्झौता गर्न तयार रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले आइतबार सरकारी टेलिभिजनसँग कुरा गर्दै भने, ‘राष्ट्रपति पुटिन युक्रेनसँग शान्ति सम्झौता गरेर सकेसम्म चाँडो शान्तिपूर्ण निष्कर्षमा पुग्न इच्छुक हुनुहुन्छ ।’ प्रवक्ता पेस्कोभले पुटिनलाई उद्धृत गर्दै यसका लागि लामो प्रक्रियाबाट गुज्रनुपर्ने भएकाले त्यति सहज नभए पनि युद्धरत दुवै पक्षको यसमा बराबर आवश्यक प्रयास गरेमा लक्ष्य हासिल गर्न सकिने बताए ।
‘हाम्रा लागि मुख्य कुरा लक्ष्य प्राप्त गर्नु हो, हाम्रा लक्ष्यहरू स्पष्ट छन्,’ पेस्कोभले भनेका छन् । उनले यसका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि लागिपरिरहेको उल्लेख गर्दै भने, ‘त्यसो त संसार यतिबेला ट्रम्पका चर्का वक्तव्यबाजीबाट अभ्यस्त भइसकेको छ, रुसका बारेमा पनि पछिल्लो समय त्यस्तै टिप्पणीहरूमा जोड दिँदै आएका त छन्, तर रुस–युक्रेनबीच शान्ति सम्झौताको खोजीलाई पनि जारी राखेका छन् ।’
गत सोमबार नै ट्रम्पले रुसमाथि कडा रवैया अपनाउँदै नयाँ करको घोषणा गर्नुका साथै युक्रेनलाई नयाँ सैन्य हतियार सहायता गर्ने बताएका थिए, जसमा प्याट्रियट मिसाइल रक्षा प्रणालीहरू दिइने उल्लेख थियो । यसअघि ट्रम्पले रुसलाई युद्धविराममा सहमत हुन वा थप प्रतिबन्धहरूको सामना गर्न भन्दै ५० दिनको समयसीमा दिएका थिए । रुसले शान्तिवार्ताका लागि खास चासो नराखी युक्रेनमाथि निरन्तर हमला गर्न थालेपछि ट्रम्प पुटिनसँग चिढिएका थिए ।
यसअघि इस्तानबुलमा भएका दुई चरणका वार्ताबाट युद्धविरामका लागि खासै ठोस निष्कर्ष ननिस्केपछि रुस थप वार्तामा बस्न अनिच्छुक देखिँदै आएको थियो । त्यसो त उक्त वार्तापछि दुवै देशले मृतक सैनिकका शव आदानप्रदान भने गरेका थिए । पछिल्लो पटक किभले आगामी साता पुनः वार्तामा बस्न रुसलाई नयाँ प्रस्ताव गरेपछि पुटिन यसका लागि तयार रहेको खुलासा भएको हो ।
