ड्रुज क्षेत्र अझै अशान्त
What you should know
सिरिया — सिरियाको दक्षिणी सहर सुवेइदामा एक सातादेखि जारी साम्प्रदायिक हिंसालाई रोक्न राष्ट्रपति कार्यालयले ‘तत्काल युद्धविराम’ को घोषणा गरेको छ ।
स्थानीय जनजाति बेदुइन र ड्रुज समुदायबीच गत आइतबारदेखि भड्किएको हिंसामा ९ सय ४० जनाको ज्यान गइसकेको यूकेस्थित सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स (एसओएचआर) ले जनाएको छ । दुई समुदायबीच सडकमा गोली हानाहान भएका छन् भने सडकमा लासहरू छरिएको अवस्थामा देखिएका छन् ।
‘यो क्षणमा एकताको आवश्यकता छ र हामीले सामना गरिरहेको संकटलाई पार गर्न पूर्ण सहकार्य आवश्यक छ,’ सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल–शाराले भनेका छन् । यद्यपि, युद्धविराम कायम रहन्छ कि रहँदैन भन्नेमा ढुक्क हुने अवस्था भने छैन । किनभने शनिबार नै पनि हिंसा नरोकिएको अपुष्ट खबर प्राप्त भएका छन् । युद्धविरामको घोषणा इजरायलले ड्रुज समुदायका लागि सहयोग अघि बढाएपछि आएको हो, जुन बेला सिरियाली आन्तरिक सुरक्षा बलहरू सुवेइदामा तैनाथ थिए । सुवेइदाको ड्रुज समुदायले सिया इस्लाममा विश्वास गर्छ भने उनीहरूले दमास्कसको वर्तमान सरकारमाथि अविश्वास गर्छन् । सिरिया, इजरायल र लेबनानमा ड्रुज अल्पसंख्यक समुदाय छन् ।
इजरायलले यसै साताको सुरुमा हस्तक्षेप गर्दै सरकार समर्थित सेना र दमास्कसस्थित रक्षा मन्त्रालय भवनमाथि आक्रमण गरेको थियो र ड्रुज समुदायको समर्थनको घोषणा गरेको थियो । शनिबार इजरायलका विदेशमन्त्री गिदोन सारले सिरियामा अल्पसंख्यकहरूको सुरक्षाका लागि शाराले गरेको नयाँ प्रतिबद्धतामाथि शंका व्यक्त गरेका छन् । ‘सिरियामा अल्पसंख्यक हुनु निकै खतरनाक छ, र यो विगत ६ महिनादेखि बारम्बार प्रमाणित हुँदै आएको छ,’ सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘अन्तर्राष्ट्रिय समुदाय सिरियामा अल्पसंख्यकहरूको सुरक्षा र अधिकार सुनिश्चित होस् भन्ने चाहन्छ ।’
सिरियाका लागि वासिङ्टनका विशेष दूत टम ब्यारकले शुक्रबार सिरिया र इजरायलले युद्धविराममा सहमति जनाएको घोषणा गरेका थिए । बेराकले शनिबार बिहानै पनि यसबारे जानकारी दिँदै भनेका छन्, ‘सिरियाका कार्यवाहक राष्ट्रपति अहमद अल–शारा र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुबीच अमेरिकाको पहलमा युद्धविरामको सहमति भएको छ ।’ उनले यो युद्धविरामलाई तुर्किए र जोर्डन जस्ता छिमेकी देशहरूले पनि समर्थन गरेको बताएका थिए । सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्दै उनले ड्रुज, बेदुइन र सुन्नी समुदायलाई हतियार बिसाएर शान्तिपूर्ण र एकीकृत सिरियाली पहिचान निर्माण गर्न आह्वान पनि गरेका छन् । ‘हामी ड्रुज, बेदुइन र सुन्नीहरूलाई हतियार त्याग्न र अन्य अल्पसंख्यकहरूसँग मिलेर शान्ति र समृद्धिमा नयाँ सिरियाली पहिचान निर्माण गर्न आह्वान गर्छौं,’ ब्यारकले भने ।
बीबीसीकी मध्यपूर्व संवाददाता लिना सिनजाबले सिरियाबाट रिपोर्टिङ गर्दै ड्रुज समुदायमाथिको हिंसा देशभर फैलिरहेको बताइन् । समुदायबीचको झडपलाई नियन्त्रणमा लिन अन्तरिम राष्ट्रपति शारा अक्षम भएको गम्भीर प्रश्न पनि उठेको छ । यसै साताको सुरुमा, संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुख भोल्कर तुर्कले आफ्नो कार्यालयले सुवेइदामा भएको झडपमा व्यापक मानव अधिकार उल्लंघन र दुरुपयोगका विश्वसनीय रिपोर्टहरू प्राप्त गरेको बताए, जसमा मृत्युदण्ड र मनोमानी हत्याहरू समावेश छन् । यस्ता घटनाका दोषीहरूमा सुरक्षा बलका सदस्यहरू, अन्तरिम सरकारसँग सम्बद्ध व्यक्ति र स्थानीय ड्रुज र बेदुइन सशस्त्र समूहहरू रहेको तुर्कले बताए । उनले चेतावनी दिँदै भने, ‘यो रक्तपात र हिंसा रोक्नुपर्छ, सबैलाई जवाफदेही बनाउनुपर्छ ।’
त्यसैगरी, हालसम्म शान्ति सम्झौताबारे कुनै टिप्पणी नगरेको इजरायलले गत बुधबार सिरियाली सेनाको मुख्यालय नै लक्षित गरेर राजधानी दमास्कसमा हवाई आक्रमण गरेको थियो । यसअघि, अमेरिकाको मध्यस्थतामै शराआले ड्रुज समुदायको बाहुल्य रहेको स्वेइदा सहरबाट सैनिक फिर्ता गरेका थिए । तर शराआको कार्यालयले ड्रुज लडाकुहरूकै कारण युद्धविराम भंग भएको आरोप लगाएको छ । शुक्रबार साँझ शराआ कार्यालयले फेरि स्वेइदातर्फ थप सुरक्षा बल पठाउने तयारी रहेको जानकारी दिँदै सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ । यसैबीच, इजरायलले स्वेइदाका ड्रुजहरूका लागि ६ लाख डलर बराबरको राहत सामग्री (खाद्य र औषधि) पठाउने घोषणा गरेको छ । विश्लेषकका अनुसार, इजरायलको यस्तो कदमले सिरियाली सेनालाई थप कमजोर पार्ने रणनीति हो ।
एएफपीका अनुसार, स्वेइदाको प्रवेशद्वारमा ड्रुज र बेदुइन लडाकुहरूबीच शुक्रबार पुनः झडप भएको छ । करिब दुई सय बेदुइन लडाकुले मेसिनगन र गोला प्रहार गरेका थिए । स्वेइदा राष्ट्रिय अस्पतालमा शव राख्ने ठाउँ भरिएकाले सडकमा राखिएका छन् । उक्त अस्पतालका चिकित्सक ओमर ओबेदले सोमबारदेखि चार सयभन्दा बढी शव आएका र अस्पतालमा उपलब्ध शव राख्ने फ्रिजमा ठाउँ अभाव भएको बताए । संयुक्त राष्ट्रसंघको आप्रवासन निकायका अनुसार, आइतबारदेखि हालसम्म ७९ हजार ३ सय ३९ स्थानीय विस्थापित भएका छन् ।
सिरियाभरका विभिन्न बेदुइन समुदायका लडाकुहरू स्वेइदा वरपरका गाउँमा भेला भएका छन् । हमासका प्रमुख अनेस अल–एनादले भनेका छन्, ‘हाम्रो बेदुइन दाजुभाइहरूले सहयोग मागे, त्यसैले हामी आइपुग्यौं ।’
