अमेरिकाले साना मुलुकलाई १० प्रतिशतको हाराहारीमा भन्सार लगाउने

श्रावण १, २०८२

एपी

The US will impose tariffs of around 10 percent on small countries

वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साना मुलुकलाई १० प्रतिशतको हाराहारीमा भन्सार लगाउने बताएका छन् । अफ्रिकी र क्यारेबियन क्षेत्रका मुलुकसहित साना देशलाई त्यस्तो भन्सार शुल्क लगाउने ट्रम्पको भनाइ छ । ‘हामी सम्भवतः सबैका लागि एउटै भन्सार दर तय गर्नेछौं,’ ट्रम्पले भने, ‘कम्तीमा सय मुलुकबाट आयात हुने वस्तुमा १० प्रतिशतभन्दा केही बढी भन्सार लगाउनेछ ।’

वासिङ्टनमा पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिने क्रममा मंगलबार ट्रम्पले त्यस्तो घोषणा गरेका हुन् ।

अमेरिकी वाणिज्यमन्त्री होवार्ड लुटनिकले ट्रम्पको घोषणालाई थप प्रस्ट्याउँदै अमेरिकासँग सामान्य परिमाणमा व्यापार गर्ने अफ्रिकी र क्यारेबियन क्षेत्रका मुलुकसहितका साना देशका लागि त्यस्तो व्यवस्था गर्न लागिएको बताए । यसबाट अमेरिकाको व्यापार घाटा कम गर्ने ट्रम्पको लक्ष्यलाई भने धेरै ठूलो योगदान नगर्ने उनको भनाइ छ । 

ट्रम्पले केही साता अघि मात्र दुई दर्जन मुलुक र युरोपियन संघलाई १ अगस्टदेखि लागू हुने नयाँ भन्सार दर खुलाएर पत्र लेखेका थिए । राष्ट्रपति ट्रम्पले जुलाईको अन्त्यसम्म औषधिमा थप भन्सार शुल्क लगाउने पनि बताएका छन् । विदेशी औषधि उद्योगहरूलाई एक वर्षभित्र अमेरिकामै उद्योग खोल्न समय दिनका लागि त्यतिन्जेल भन्सार दर धेरै नबढाउने घोषणासमेत उनले गरेका छन् । 

गत शनिबार मात्र ट्रम्पले मेक्सिको र युरोपेली संघ (ईयू) लाई लक्ष्य गर्दै ३० प्रतिशत कर वृद्धि गरिएको घोषणा गरेका थिए । यसअघि अमेरिकाले वर्षको सुरुमा मेक्सिकोका सामानमा २५ प्रतिशतको नयाँ शुल्क तोकेको थियो । त्यसैगरी, ईयूका लागि पनि ट्रम्पले गत अप्रिलमा मात्र २० प्रतिशत कर तोकेका थिए । ७ महिना नहुँदै अमेरिकाले मेक्सिकोका सामानमा दोस्रो पटक कर बढाएको हो । अमेरिका, मेक्सिको र क्यानाडाबीचको त्रिपक्षीय सम्झौता (यूएसएमसीए) अन्तर्गत अमेरिका प्रवेश गर्ने उत्पादनलाई भने छुट दिइँदै आएको छ ।

ईयूले ट्रम्पको उक्त घोषणाको तीव्र आलोचना गरेको छ । ईयूले प्रतिउत्तरमा अमेरिकासँगको आपूर्ति प्रणालीलाई नै खलल पुर्‍याउने चेतावनी दिएको छ । तर कर लागू हुने भनिएको अगस्ट १ अघि नै कुनै खाले सम्झौताका लागि वार्ता जारी राख्न भने तयार रहेको ईयूले जनाएको छ ।

गत जनवरीमा दोस्रो कार्यकालका लागि राष्ट्रपति बनेपछि ट्रम्पले आफ्ना प्रतिस्पर्धी र सहयोगी देशलाई लक्षित गरी व्यापक मात्रामा कर वृद्धि गरिरहेका छन् । ट्रम्पको ‘ट्यारिफ एक्सन’ ले विश्वकै वित्तीय बजारलाई तहसनहस बनाएको छ भने विश्वव्यापी आर्थिक मन्दीको भय पनि बढाएको छ ।

ट्रम्प प्रशासनले भने नयाँ कर लागू हुनुअघि नै सम्झौतामा आउन व्यापारिक साझेदारहरूलाई निरन्तर दबाब दिँदै आएको छ । अहिलेसम्म अमेरिकाले बेलायत र भियतनामसँग सम्झौता गरिसकेको छ भने चीनसँग चलेको प्रतिशोधात्मक करलाई यतिबेला अस्थायी रूपमा घटाएको छ ।

एपी

Link copied successfully