आक्रमणमा परी १८ जना घाइते, युद्धविराम उल्लंघन भएको सिरियाको भनाइ
काठमाडौँ — इजरायलले सिरियाको राजधानी दमास्कसस्थित सेनाको मुख्यालयमा बुधबार हवाई आक्रमण गरेको छ । बीबीसीका अनुसार सिरियाको दक्षिण–पश्चिमस्थित प्रान्त स्वेइदाका अल्पसंख्यक ड्रुज समुदायको रक्षाका लागि आक्रमण गरेको इजरायलले जनाएको छ । इजरायलको आक्रमणमा परी १८ जना घाइते भएको सिरियाको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ‘ड्रुज समुदायका दाजुभाइको रक्षा गर्न र सिरियाका शासनमा रहेको गिरोहलाई हटाउनका लागि’ काम गरिरहेको बताएका छन् । उनले आफ्नो देशमा रहेका ड्रुज समुदायका सदस्यलाई सीमापार गरेर सिरिया नजान पनि आग्रह गरेका छन् । इजरायलका रक्षामन्त्री इजरायल कात्जले चेतावनीको समय सकिएको जानकारी दिएका छन् । ‘अब कडा र दर्दनाक हमला हुनेछ,’ उनले भनेका छन् ।
सिरियाले इजरायली आक्रमणको निन्दा गरेको छ । ‘इजरायलको आक्रमण आपराधिक र अवैध व्यवहार हो,’ सिरियाको गृह मन्त्रालयले भनेको छ । इजरायलको आक्रमणले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेको र युद्धविराम पनि भंग गरेको सिरियाले जनाएको छ । सिरियास्थित अमेरिकी दूत टम बाराकले शान्ति र सहकार्यका लागि वासिङ्टन सबै पक्षसँग सम्पर्कमा रहेको बताएका छन् ।
सिरियाली रक्षा अधिकारीहरूले मंगलबार मात्र स्वेइदामा पूर्ण युद्धविरामको घोषणा गरेका थिए । सिरियाका रक्षामन्त्री मुरहाफ अबु कास्राका अनुसार स्थानीय ड्रुज सशस्त्र गुटहरू, बेदुइन जनजाति र अन्तरिम सरकारका सेनाबीच पछिल्लो भिडन्तपछि युद्धविरामको घोषणा गरिएको थियो । सिरियाली सेनाका इकाइहरूले युद्धविराम सम्झौताअनुसार स्वेइदाबाट भारी सैन्य सवारीसाधनहरू फिर्ता गर्न थालेका थिए । सप्ताहन्तमा हिंसामा तीव्र वृद्धि भएपछि युद्धविरामको घोषणा भएको थियो ।
बेलायतस्थित सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार स्वेइदामा भिडन्तमा परी दुई दिनमा कम्तीमा ९९ जनाको मृत्यु भएको छ भने झन्डै २ सय जना घाइते भएका छन् । मृत्यु हुनेमा ६० ड्रुज नागरिक छन् । जसमध्ये दुई महिला र दुई बालबालिका, १८ बेदुइन, अन्तरिम सरकारका १४ सैनिक र सैन्य पोसाक लगाएका ७ जना अज्ञात व्यक्ति पनि छन् । रक्षा प्रवक्ता हसन अब्देल घानीले गैरकानुनी सशस्त्र समूहको आक्रमणमा १८ सैनिक मारिएको बताए ।
युद्धविराम घोषणा भइसकेपछि पनि सशस्त्र समूहले इजरायली वायु सेनाको सहयोगमा आफ्नो सरकारको सुरक्षा दस्तामाथि आक्रमण थालेको सिरियाको गृह मन्त्रालयले जनाएको छ । तर, ड्रुज नेता सेख हिकमत अल–हजरीले एक बयानमा सिरियाले नै पहिला युद्धविरामको उल्लंघनको आरोप लगाएका छन् । उनले सरकारी बलको सामना गर्न स्थानीय लडाकुलाई आह्वान गरेपछि इजरायलले हमला गरेको समाचार संस्था अलजजिराले जनाएको छ ।
स्वेइदा इजरायली सीमासँग जोडिएको सिरियाको प्रान्त हो । ड्रुज र बेदुइन समुदायका सशस्त्र समूहबीच लामो समयदेखि विवाद चलिरहेका छ, जसका कारण बेलाबेलामा हिंसात्मक घटना हुने गरेको छ । सिरियामा ड्रुज समुदायको संख्या ७ लाखको हाराहारीमा छ । ड्रुज धार्मिक सम्प्रदायलाई सिया इस्लामको एक शाखाको रूपमा मानिन्छ । सरकारी बल र यो समुदायको लडाकु समूहबीच पछिल्लो समय गत अप्रिल र मेमा भिडन्त भएको थियो, जसमा दर्जनौं व्यक्ति मारिएका थिए ।
सिरियाली सरकारले अल्पसंख्यक ड्रुज समुदायमाथि आक्रमण गरिरहेको र त्यसलाई चुपचाप सहन नसक्ने प्रतिक्रिया इजरायलले दिँदै आएको छ । इजरायलको डायस्पोरा मामिलामन्त्री अमिचाई चिकलीले ‘ड्रुजमाथि भइरहेको नरसंहार र अपमान देखिरहेको र अब सिरियाको आतंकवादी शासनविरुद्ध लड्नुपर्ने’ बताएका छन् ।
सन् २०११ मा तत्कालीन राष्ट्रपति बसर अल असदले सरकारविरोधी प्रदर्शनमाथि निर्मम दमन गरेपछि सिरियामा गृहयुद्ध सुरु भएको थियो । ८ डिसेम्बर २०२४ मा इस्लामिक शक्तिहरूको विद्रोहबाट असद सत्ताच्युत भए । सिरियामा ३० वर्ष शासन गरेका हाफिज अल–असदको मृत्युलगत्तै सन् २००० मा बसर अल–असद राष्ट्रपति भएका थिए । २०११ को ‘अरब स्प्रिङ’ यता चलेको गृहयुद्धमा करिब ५ लाख मानिसले ज्यान गुमाएका थिए । तीमध्ये कम्तीमा ३० हजार बालबालिका थिए । करिब सवा करोड जनसंख्या कुनै न कुनै रूपमा विस्थापित भएका थिए । असद सत्ताच्यूत भएर मस्कोतर्फ भागेपछि लाखौं व्यक्ति घर फिर्ती भइसकेका छन् ।
अहिले सिरियाको अन्तरिम राष्ट्रपतिमा अहमद अल–सारा छन् । तर देशभित्र विभिन्न सशस्त्र समूहका सक्रियताका कारण पूर्णरूपमा शान्ति स्थापना हुन सकेको छैन । गत फागुनमा मात्र सिरियाली अन्तरिम सरकार र कुर्दिस नेतृत्वको सिरियन डेमोक्रेटिक फोर्सेसले कुर्दिस नियन्त्रित क्षेत्रका सबै नागरिक र सैन्य संस्थाहरूलाई राज्य संस्थाहरूअन्तर्गत गाभ्ने सम्झौता गरेका थिए ।
एकीकरणमा सीमा नाका, विमानस्थलका साथै तेल र ग्यास क्षेत्रहरूमा रहेका ती संस्थाहरू समावेश थिए । सम्झौतामा सबै सिरियालीको अधिकारको ग्यारेन्टी गर्ने, कुर्दिस समुदायलाई सिरियाको अभिन्न अंगको रूपमा आधिकारिक मान्यता दिने, राष्ट्रव्यापी युद्धविराम गर्ने र फर्केका विस्थापित सिरियालीहरूको सुरक्षा गर्ने प्रावधान समेटिएको थियो ।
– एजेन्सीको सहयोगमा
