मनसुनजन्य विपद्बाट ३ हप्तामा पाकिस्तानमा १२४ जनाको मृत्यु

श्रावण १, २०८२

एजेन्सी

124 people died in Pakistan in 3 weeks due to monsoon disaster

काठमाडौँ — पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए)का अनुसार मनसुनको वर्षा र यससँग सम्बन्धित घटनाहरूले विगत तीन हप्तामा पाकिस्तानभर १ सय २४ जनाको मृत्यु भएको छ ।

२ सय ६४ जना घाइते भएका छन् । आफ्नो पछिल्लो प्रतिवेदनमा एनडीएमएले जुन २६ देखि जुलाई १६ सम्ममा हताहत रेकर्ड गरिएको बताएको छ । जसमा पछिल्लो २४ घण्टामा आठ नयाँ मृत्यु र ११ जना घाइते भएको रिपोर्ट गरिएको छ । 

पूर्वी पञ्जाव प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ । जसमा ४९ जनाको मृत्यु र १५८ जना घाइते भएका छन् । त्यसपछि उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा ३८ जनाको मृत्यु र ५७ जना घाइते भएका छन् । 

दक्षिणी सिन्ध प्रान्तमा २० जनाको मृत्यु र ४० जना घाइते भएको रिपोर्ट गरिएको छ भने दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा १६ जनाको मृत्यु र चार जना घाइते भएका छन् । 

पाकिस्तान नियन्त्रित कश्मीरमा एक जनाको मृत्यु र पाँच जना घाइते भएको रिपोर्ट गरिएको छ । पाकिस्तानमा हरेक वर्ष जुलाईदेखि सेप्टेम्बरसम्म भारी मनसुनी वर्षा हुन्छ । 

एजेन्सी

Link copied successfully