ट्रम्पको चेतावनीले शान्ति प्रक्रियामा असर पर्ने रुसी चेतावनी

असार ३२, २०८२

एजेन्सी

Russia warns that Trump's warning will affect the peace process

मस्को — युक्रेनलाई थप सैन्य सहायता प्रदान गर्ने तथा रुसी व्यापारिक साझेदारमाथि प्रतिबन्ध लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिले शान्ति प्रक्रियामा प्रतिकूल असर पार्न सक्ने भन्दै रुसले चिन्ता व्यक्त गरेको छ ।

राष्ट्रपति ट्रम्पले रुसलाई ५० दिनको समयसीमा दिँदै युक्रेनसँग शान्ति सम्झौता गर्न दबाब दिएका छन् । साथै, उनले उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) का सदस्य राष्ट्रहरूसँग समन्वय गर्दै युक्रेनलाई नयाँ अमेरिकी हतियार उपलब्ध गराउने योजनाको घोषणा गरेका छन् ।

रुसी प्रवक्ता दिमित्री पेस्कोभले मस्कोमा सञ्चारकर्मीसँग कुरा गर्दै भनेका छन्, ‘वासिङ्टन तथा नाटोका सदस्य राष्ट्रबाट लिइएको यस्तो निर्णयलाई युक्रेनी नेतृत्वले सम्भवतः युद्ध जारी राख्न प्रोत्साहनका रूपमा बुझ्न सक्छ । ट्रम्पद्वारा व्यक्त विचार अत्यन्त गम्भीर छन्, त्यसको यथोचित विश्लेषण आवश्यक छ ।’

यदि उक्त अवधिमा शान्ति सम्झौता हुन नसकेको खण्डमा राष्ट्रपति ट्रम्पले रुसका बाँकी व्यापारिक साझेदारमाथि उच्च दरको आयात कर (ट्यारिफ) लगाउने चेतावनी दिएका छन् । यस निर्णयले रुसको सैन्य अर्थतन्त्रमा प्रत्यक्ष असर पार्न सक्ने मस्कोको बुझाइ छ । हालसम्म रुसले चीन, भारतजस्ता व्यापारिक साझेदारहरूसँगको सहकार्यबाट पश्चिमी प्रतिबन्धको प्रभावलाई न्यूनीकरण गर्दै आएको देखिन्छ ।

यसैबीच, डेनमार्क र नेदरल्यान्डजस्ता युरोपेली राष्ट्रहरूले पनि राष्ट्रपति ट्रम्पको प्रस्तावित योजनामा सहभागी हुने इच्छा व्यक्त गरेका छन् । उक्त योजनाअनुसार, अमेरिकामा निर्मित उच्च प्रविधियुक्त हतियार युक्रेनलाई आपूर्ति गरिनेछ । 

वार्ताको सम्भावना र द्विपक्षीय अडान 

रुसले शान्ति वार्ताका लागि खुला रहनुका साथै युक्रेनी पक्षबाट समय र स्थानसम्बन्धी प्रस्तावको प्रतीक्षा गरिरहेको बताएको छ । यद्यपि, युक्रेनी नेतृत्वले वर्तमान रुसी वार्ता टोलीसँग संवाद गर्नु ‘अप्रभावकारी’ हुने उसको धारणा छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अघिल्ला वार्तामा युक्रेनले सम्पूर्ण पश्चिमी सैन्य समर्थन त्याग्नुपर्ने तथा पूर्व र दक्षिणका चार वटा क्षेत्रहरूबाट सेना फिर्ता गर्नुपर्ने सर्तहरू अघि सारेका थिए, जसलाई युक्रेन तथा उसका पश्चिमी सहयोगी राष्ट्रहरूले अस्वीकार गरेका थिए ।

एजेन्सी

Link copied successfully