ट्रम्पले आफूसँगको कुराकानीमा पुटिन शान्ति सम्झौताको पक्षमा रहेको बताउने गरे पनि लगत्तै किभका भवन ढाल्न उद्यत देखिने गरेको भन्दै आलोचना गरे
वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको ‘रवैया’ ले आफू उनीप्रति निराश भएको टिप्पणी गरेका छन् । बीबीसीसँगको विशेष टेलिफोन अन्तर्वार्तामा ट्रम्पले भनेका छन्, ‘तर उनीसँगको सम्बन्ध टुटेको भने होइन ।’ त्यसो त उनले आफूले कसैमाथि पूर्ण भरोसा नगर्ने पनि थपे ।
‘हामी निकै दुःखी छौं, म रुससँग दुःखी छु । यदि ५० दिनमा शान्ति सम्झौता भएन भने हामी धेरै कडा भन्सार शुल्क लगाउने छौं, लगभग एक सय प्रतिशत,’ राष्ट्रपति ट्रम्पले भने, ‘रुस र युक्रेनसँगको यो युद्धमा हामीले लगभग ३ खर्ब ५० अर्ब डलर खर्च गरिसकेका छौं र यो अन्त्य भएको हेर्न चाहन्छौं । किनकि यो मेरो युद्ध थिएन, यो बाइडेनको युद्ध थियो ।’ ट्रम्पले सोमबार नै नाटोले अमेरिकाबाट हतियार खरिद गर्ने र त्यो युक्रेनका लागि वितरण गर्ने गरी एउटा सम्झौता पनि गरेका छन् ।
ह्वाइट हाउसस्थित ओभल अफिसबाट भएको २० मिनेट लामो उक्त अन्तर्वार्ता ट्रम्पले युक्रेनलाई हतियार पठाउने योजना र रुसमाथि ५० दिनभित्र युद्धविराम सम्झौता नभए कर एक सय प्रतिशत लगाउने चेतावनी दिएको केही घण्टापछि लिइएको हो । अमेरिकी राष्ट्रपति ट्रम्प अब के रुसी राष्ट्रपति पुटिनसँग साँच्चै अघाएका नै हुन् त ? ‘हो, म उनीप्रति निराश भएको पक्कै हुँ तर यतिमा नै बिच्किसकेको अवस्था भने हैन ।’
युक्रेनसँगको लडाइँ अन्त्य गर्दै पुटिनलाई ‘रक्तपात रोकाउन’ के काम भइरहेको छ भन्ने प्रश्नमा राष्ट्रपति ट्रम्पले भने, ‘हामी यसमा काम गरिरहेका छौं । मलाई लाग्छ, हामी यो काम पूरा गर्न नजिक–नजिक पुगिसकेका छौं ।’
त्यसो त उनले अझै पनि पुटिनले आफूसँग युद्धविरामका विषयमा कुराकानी गर्दा निकै सकारात्मक र मीठा कुरा गर्ने गरेको उल्लेख गर्दै थपे, ‘कुरा गर्दा पुटिनले आफू पनि शान्ति सम्झौताको पक्षमा नै रहेको जिकिर त गर्छन् तर लगत्तै किभका भवन ढाल्न पनि उद्यत देखिने गरेका छन् ।’
ट्रम्पले कुराले मात्रै ठिक्क पार्नेभन्दा युद्धका मूल कारणहरू नै पत्ता लगाएर समाधानको बाटोतर्फ लाग्न जोड दिए । रुसले हालैका सातामा पनि युक्रेनी सहरहरूमा ड्रोन र मिसाइल आक्रमणलाई निरन्तरता दिइरहेको छ ।
सोमबार मात्रै नाटो महासचिव मार्क रुटसँग ओभल अफिसमा भेटवार्ता गरेपछि ट्रम्प एकाएक रुसप्रति खनिएका हुन् । उनले नाटोको समर्थनमा पनि शब्द खर्चिएका छन् । यसअघि उनी नाटोप्रति पनि आक्रमक देखिँदै आएका थिए ।
‘नाटो अब पहिलेको जस्तो छैन किनभने यसका सदस्य राष्ट्रहरूले आफ्नो रक्षा खर्च ५ प्रतिशतसम्म बढाउन सहमत भएका छन्,’ ट्रम्पले साना देशलाई ठूला देशहरूविरुद्ध रक्षा गर्न पनि सामूहिक रक्षाको अवधारणालाई आत्मसात् गर्नुपर्ने बताउँछन् । ट्रम्पले बेलायतका प्रधानमन्त्री कियर स्टार्मरको पनि प्रशंसा गर्न भ्याए । ‘उनी उदारवादलाई मान्ने भए पनि मलाई धेरै मन पर्छ,’ उनले बेलायतसँगको विशेष सम्बन्ध र व्यापार सम्झौताको पनि उल्लेख गर्दै बेलायतले ब्रेक्जिटको पूर्ण उपयोग नगरेको तर अब सुधार हुँदै गएको बीबीसीसँगको अन्तर्वार्तामा बताए ।
पछिल्लो समय नयाँ कर लागू गर्ने धम्की दिएर विश्वभरका देशलाई चिढाएका अमेरिकी राष्ट्रपति ट्रम्प यति बेला सम्बन्ध सुधार गर्ने र वार्ताबाट नयाँ सम्झौताका लागि ती देशका प्रमुखहरूलाई दबाब दिने नीतिमा छन् । यही सिलसिलामा उनले सेप्टेम्बरमा बेलायतको दोस्रो राजकीय भ्रमण गर्दै छन् ।
क्यानडाबारे भने उनले ‘वार्ता गरिरहेकाले राम्रोसँग समस्या समाधान हुने’ उल्लेख गरे । घरेलु एजेन्डामा ट्रम्पले अमेरिका–मेक्सिको सीमामा अवैध आप्रवासन घटेकामा पनि खुसी व्यक्त गरेका छन् । उनले आप्रवासीहरूलाई तेस्रो मुलुकमा निर्वासन गर्ने नीतिमा सफलता प्राप्त गरेको र कर तथा खर्चसम्बन्धी विधेयकलाई ‘इतिहासकै ठूलो कर कटौती’ भन्दै प्रशंसा गरे ।
ट्रम्पले आफ्नो विरासतलाई ‘अमेरिकाको पुनरुद्धार’ का रूपमा परिभाषित गर्दै थपे, ‘एक वर्षअघि अमेरिका मृत थियो, अब यो देश महान् बनेको छ ।’ गत साता अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रुसी समकक्षी सेर्गेई लाभरोभसँगको भेटका क्रममा शान्ति वार्तामा प्रगति नभएकामा अमेरिकी राष्ट्रपति ट्रम्पको ‘निराशा र हताशा’ प्रतिध्वनित गरेको बताएका थिए ।
लाभरोभसँगको भेटपछि गत जुलाई १० मा मलेसियाको क्वालालम्पुरमा पत्रकारसँग कुरा गर्दै रुबियोले रुस र युक्रेनबीचको द्वन्द्वको नतिजा खोज्नमा सबै पक्षलाई संलग्न गराउन अमेरिकाको रणनीति रहेको बताएका थिए ।
