दमास्कस — सुन्नी बेदुइन समुदाय र ड्रुज लडाकुबीच जातीय झडप हुँदा सिरियाको दक्षिणी स्वेइदा प्रान्तमा कम्तीमा ८९ जनाको ज्यान गएको छ ।
मृतकमध्ये ४६ जना ड्रुज, १८ जना सुन्नी लडाकु, १४ जना सर्वसाधारण र ७ सैनिक पोसाकमा रहेका अज्ञात व्यक्ति रहेको सिरियाली मानवअधिकार निगरानी संस्थाले जनाएको छ । बाँकी ४ मृतकको सनाखत हुन बाँकी रहेको जनाइएको छ ।
बेदुइन समूहले दमास्कस जाने राजमार्गमा एक ड्रुज तरकारी व्यापारीलाई अपहरण गरेपछि आइतबारदेखि झडप सुरु भएको थियो । घटनाले प्रतिघातको रूप लिँदै अपहरणको शृंखलाले सशस्त्र भिडन्त निम्त्याएको हो । झडप सोमबारसम्म जारी रहँदा गाउँहरूमा ‘मोर्टार’ प्रहार भएको र दर्जनौं सर्वसाधारण घाइते भएको समाचार संस्था ‘स्वेइदा २४’ ले जनाएको छ ।
झडपपछि स्वेइदा सुनसान बनेको छ भने पसल बन्द छन् । निधन भएकाहरूको अन्त्येष्टि गर्दैगर्दा समेत गोली चलेको प्रत्यक्षदर्शीले बताएका छन् । ५१ वर्षीय स्थानीय बासिन्दा अबु तयमले भने, ‘दुई दिन गोला बारुद अनियमित रूपमा खसिरहेका थिए, हामी अत्यधिक त्रासमा छौं ।’ इजरायली सेनाले स्वेइदामा केही
ट्यांकहरूमा आक्रमण गरेको दाबी गरे पनि घटनाको विस्तृत विवरण भने दिएको छैन । सिरियाली सरकारका रक्षा र गृह मन्त्रालयले सेनाको परिचालन, सर्वसाधारणका लागि सुरक्षित मार्ग र हिंसा चाँडै अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन् । स्वेइदाका आध्यात्मिक ड्रुज नेताहरूले स्थिति नियन्त्रण गर्न दमास्कसलाई हस्तक्षेप गर्न आग्रह गरेका छन् । तर प्रमुख धार्मिक नेता शेख हिक्मत अल–हिज्रीले सुरक्षा निकायको प्रवेश अस्वीकार गर्दै ‘अन्तर्राष्ट्रिय संरक्षण’ को माग गरे ।
