मेक्सिको र ईयूलाई ३० प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

अगस्ट १ देखि लागू गर्ने भनिएको नयाँ करले विश्वका अन्य देशजस्तै ईयूलाई पनि अनिश्चितताको घेरामा पारेको अर्थशास्त्रीको भनाइ

असार २९, २०८२

एजेन्सी

Trump's announcement of 30 percent tariffs on Mexico and the EU

वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र युरोपेली संघ (ईयू) लाई लक्षित गर्दै ३० प्रतिशत कर वृद्धि गरिएको शनिबार घोषणा गरेका छन् । यसअघि अमेरिकाले वर्षको सुरुमा मेक्सिकोका सामानमा २५ प्रतिशतको नयाँ शुल्क तोकेको थियो । त्यसैगरी, ईयूका लागि पनि ट्रम्पले गत अप्रिलमा मात्र २० प्रतिशत कर तोकेका थिए ।

सात महिना नहुँदै अमेरिकाले मेक्सिकोका सामानमा दोस्रो पटक कर बढाएको हो । अमेरिका, मेक्सिको र क्यानडाबीचको त्रिपक्षीय सम्झौता (यूएसएमसीए) अन्तर्गत संयुक्त राज्य अमेरिका प्रवेश गर्ने उत्पादनलाई भने छुट दिइँदै आएको छ ।

राष्ट्रपति ट्रम्पले आफ्नो ट्रुथ सोसलमा एक पोस्ट गर्दै भनेका छन्, ‘करसम्बन्धी यी दुवै घोषणा अगस्ट १ देखि लागू हुनेछन् ।’ संयुक्त राज्य अमेरिकामा अवैध लागूपदार्थको प्रवाहमा मेक्सिकोको भूमिका र ईयूसँगको व्यापार असन्तुलनका कारण कर वृद्धि गर्नुपरेको ट्रम्पले उल्लेख गरेका छन् ।

‘मेक्सिकोले सीमा सुरक्षित गर्न सहयोग गरिरहेको छ, तर मेक्सिकोले जे जति गरेको छ, त्यो पर्याप्त छैन,’ ट्रम्पले मेक्सिकोका राष्ट्रपति क्लाउडिया शेनबामलाई लेखेको पत्रमा भनेका छन्, ‘अगस्ट १ देखि हामी संयुक्त राज्य अमेरिकामा पठाइएका मेक्सिकोका उत्पादनहरूमा ३० प्रतिशत थप कर लिनेछौं ।’

ईयूले भने ट्रम्पको यस घोषणाको तीव्र आलोचना गरेको छ । ईयूले प्रतिउत्तरमा अमेरिकासँगको आपूर्ति प्रणालीलाई नै खलल पुर्‍याउने चेतावनी दिएको छ । तर कर लागू हुने भनिएको अगस्ट १ अघि नै कुनै खाले सम्झौताका लागि वार्ता जारी राख्न भने तयार रहेको ईयूले जनाएको छ । गत जनवरीमा दोस्रो कार्यकालका लागि राष्ट्रपति बनेपछि ट्रम्पले आफ्ना प्रतिस्पर्धी र सहयोगी देशलाई लक्षित गरी व्यापक मात्रामा कर वृद्धि गरिरहेका छन् । ट्रम्पको ‘ट्यारिफ एक्सन’ ले विश्वकै वित्तीय बजारलाई तहसनहस बनाएको छ भने विश्वव्यापी आर्थिक मन्दीको भय पनि बढाएको छ । 

ट्रम्प प्रशासनले भने नयाँ कर लागू हुनुअघि नै सम्झौतामा आउन व्यापारिक साझेदारहरूलाई निरन्तर दबाब दिँदै आएको छ । अहिलेसम्म अमेरिकाले बेलायत र भियतनामसँग सम्झौता गरिसकेको छ भने चीनसँग चलेको प्रतिशोधात्मक करलाई यतिबेला अस्थायी रूपमा घटाएका छन् ।  

आपूर्ति शृंखलामा खलल पुग्ने 

युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डेर लेयेनले एक विज्ञप्ति जारी गर्दै भनेकी छन्, ‘ईयूको निर्यातमा ३० प्रतिशत कर लगाउँदा एटलान्टिक महासागरका दुवैतर्फका व्यवसायी, उपभोक्ताबीच आपूर्ति शृंखलामा खलल पुग्नेछ ।’

उनले आफूहरू अगस्ट १ अघि नै सम्झौताका लागि काम गर्न तयार रहेको बताउँदै ईयूको हित र रक्षाका लागि आवश्यक सबै कदम चाल्ने बताइन् । भनिन्, ‘आवश्यक परेमा समानुपातिक प्रतिकारको उपाय पनि अपनाउन सकिनेछ ।’ ट्रम्पले यस वर्षको सुरुमा स्टिल र आल्मुनियमको आयातमा छुट्टाछुट्टै कर लगाएपछि ईयूले करिब २१ अर्ब युरो बराबरको अमेरिकी सामानमा प्रतिशोधात्मक कर लगाउने तयारी गरेको थियो । 

यसै सातादेखि नै ट्रम्पले २० भन्दा बढी देशलाई पत्र पठाउँदै क्यानडाका लागि ३५ प्रतिशत करसहित प्रत्येक देशका लागि कर अद्यावधिक गरेका छन् । एटलान्टिक काउन्सिलका अन्तर्राष्ट्रिय अर्थशास्त्रका अध्यक्ष जोश लिप्सकीले भनेका छन्, ‘सम्झौताका लागि सबै आन्दोलनको बाबजुद नयाँ करले ईयू विश्वका लगभग सबै देशजस्तै अनिश्चितताको घेरामा रहेको देखाउँछ ।’ उनले अब ईयूले कस्तो प्रतिक्रिया दिन्छ भन्नेमा निर्भर रहेको र यो अहिलेसम्मको सबैभन्दा अनिश्चित व्यापार युद्धको क्षणमध्ये एक भएको टिप्पणी गरे ।

एजेन्सी

Link copied successfully