गाजामा इन्धन आपूर्ति न्यून : राष्ट्रसंघ

आपत्कालीन सेवाका सञ्चालनका लागि गाजामा दैनिक रूपमा लाखौं लिटर इन्धन आवश्यक पर्नेमा इजरायलले ४ महिनादेखि इन्धन प्रतिबन्ध लगाएको छ

असार २९, २०८२

एजेन्सी

Gaza fuel supply low: UN

गाजा — गाजामा इन्धन आपूर्ति न्यून हुँदा मानवीय संकट उच्च रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । इजरायलका अधिकारीद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर इन्धन मात्र प्रवेश गर्न दिइए पनि त्यो आपूर्ति अत्यन्तै न्यून भएको र गम्भीर मानवीय संकट समाधान गर्न अपर्याप्त रहेको राष्ट्रसंघले जनाएको छ ।

संयुक्त राष्ट्रसंघको मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) का अनुसार, गाजामा दैनिक रूपमा लाखौं लिटर इन्धन आवश्यक पर्दछ, जसको प्रयोग स्वास्थ्य सेवा, खानेपानी आपूर्ति, सरसफाइ तथा आपत्कालीन सेवाका सञ्चालनका लागि अत्यावश्यक मानिन्छ । चार महिनाभन्दा लामो समयदेखि जारी इन्धन प्रतिबन्धका कारण गाजामा सेवा प्रवाहमा गम्भीर असर परेको ओसीएचएले जनाएको छ ।

‘गाजामा इन्धनको अभाव अत्यन्त चिन्ताजनक अवस्थामा पुगेको छ,’ ओसीएचएद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नियमित रूपमा पर्याप्त मात्रामा इन्धन आपूर्ति हुन सकेन भने धेरै जीवनरक्षक सेवाहरू पूर्णरूपमा बन्द हुने खतरा छ ।’ इन्धन वितरण प्रयास दक्षिण गाजामा मात्र सीमित रहेको बताउँदै ओसीएचएले उत्तर गाजातर्फ पुर्‍याउने अनुमति इजरायलले प्रदान नगरेको बताएको छ । ‘उत्तर गाजामा रहेका अस्पतालहरू बन्द हुने स्थितिमा छन्, एम्बुलेन्स सेवा, खानेपानी प्रशोधन केन्द्र र अन्य अत्यावश्यक सेवामा पनि इन्धनको अत्यधिक अभाव छ,’ ओसीएचएले भनेको छ । 

भोक, प्यास र उपचारको खोजीमा रहेका गाजाका सर्वसाधारण सहायता लिन जाँदा पनि गोली लागेर ज्यान गुमाइरहेका छन् । यसले घाइतेको उद्धार, जोखिमयुक्त क्षेत्रबाट सर्वसाधारणको स्थानान्तरण र स्वास्थ्य उपकरणको मूल्यांकनजस्ता महत्त्वपूर्ण कामहरू प्रभावित पारेको ओसीएचएले जनाएको छ । बुधबार गाजा सहरको एक क्षेत्रमा १८ जना घाइते भग्नावशेषमा फसेको सूचना पाएर उद्धार टोली पठाउने अनुमति मागिएको थियो । तर अनुमति ढिला भई बिहीबार मात्र पुग्दा कोही पनि जीवित भेटिएनन् ।

ओसीएचएले हाल आश्रयका लागि आवश्यक सामग्रीको भण्डारण पूर्ण रूपमा सकिएको र विगत १ सय ३० दिनभन्दा बढी समयदेखि इजरायलले नयाँ पाल तथा आश्रय सामग्री प्रवेश गर्न नदिएको जानकारी दिएको छ । साथै, द्वन्द्व र असुरक्षाका कारण गाजाभित्र कार्यरत सहायता कर्मचारीहरूको सुरक्षामा समेत गम्भीर चुनौती देखिएको छ ।

संयुक्त राष्ट्रसंघका महासचिवका प्रवक्ता स्तेफान दुजारिकले मानव अधिकार कार्यालयबाट प्राप्त पछिल्लो विवरण सार्वजनिक गर्दै भने, ‘गाजा क्षेत्रमा राहत सामग्री लिन खोज्दा ज्यान गुमाएका ८ सय १९ जना फिलिस्तिनीको तथ्यांक हामीसँग छ । यसमध्ये अधिकांश व्यक्ति सहायता वितरण केन्द्रहरू र राहत सवारीसाधन नजिक मारिएका थिए ।’ उनले निष्पक्ष र स्वतन्त्र छानबिन आवश्यक रहेको जोड दिँदै भने, ‘जहाँ नागरिकहरू दैनिक रूपमा केवल खाना लिन जाँदा मारिन्छन्, त्यो प्रणालीलाई मानवीय भनेर स्वीकार गर्न सकिन्न ।’

एजेन्सी

Link copied successfully