किएभ — रुसले युक्रेनविरुद्धको लडाइँमा नयाँ उपलब्धि हासिल गरेको दाबी गरेलगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार युक्रेनमा थप हतियार पठाउने घोषणा गरेका छन् । जबकि वासिङ्टनले गत साता मात्रै किएभलाई हतियार ढुवानी रोकेको बताएको थियो ।
तीन वर्षभन्दा लामो समयदेखि चलिरहेको रुस–युक्रेन लडाइँमा किएभका लागि यो रोकावटले सम्भावित गम्भीर चुनौती खडा गरेको थियो । युक्रेनले रुसका क्षेप्यास्त्र र ड्रोन आक्रमणको लगातार सामना गर्दै आइरहेको छ ।
‘हामीले थप हतियारहरू पठाउनुपर्नेछ, मुख्यतया रक्षात्मक हतियारहरू’, ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूसँग भने, ‘उनीहरू (युक्रेनी) लाई धेरै, धेरै चोट लागेको छ ।’ पछिल्लो समय रुस र युक्रेनबीच युद्धविरामको पहलकदमी गरिरहेका उनले यति बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग ‘खुसी नभएको’ पनि बताएका छन् ।
२०२२ देखि सुरु रुस–युक्रेन लडाइँलाई ट्रम्पको दबाबका बाबजुद द्वन्द्व अन्त्य गर्न पुटिनले पनि इच्छा देखाएको बताइएको थियो । तर मस्कोले सोमबार आफ्ना सुरक्षा बलहरूले युक्रेनको मध्य डनिप्रोपेत्रोभस्क क्षेत्रमा रहेको डाच्ने गाउँ कब्जा गरेको बताएपछि अमेरिकी राष्ट्रपतिले युक्रेनलाई थप हतियारहरू पठाउने घोषणा गरेका हुन् ।
ट्रम्पको घोषणा हुनुअघि रुसले युक्रेनका सैन्य भर्ती केन्द्रहरूलाई लक्षित गर्दै ठूलो मात्रामा ड्रोन र मिसाइल आक्रमण सुरु गरेको थियो । किएभले पनि मस्को क्षेत्रमा रहेको रुसी गोलाबारुद कारखानामा ड्रोन आक्रमण गरेको दाबी गरेको छ । रुसले कब्जा गरेको भनिएको डाच्ने गाउँ युक्रेनको एक महत्त्वपूर्ण औद्योगिक खानी क्षेत्र हो ।
गत महिना मस्कोका सुरक्षा बलहरू पहिलो पटक डनिप्रोपेत्रोभस्क क्षेत्रको सिमाना पार गरेको बताइएको थियो । यस क्षेत्रमा रुसी सेनाको उपस्थितिले युक्रेनका लागि रसद र आर्थिक समस्याहरू खडा गर्न सक्ने बताइएको छ ।
किएभले भने डनिप्रोपेत्रोभस्कमा रुसी सैन्यबलको उपस्थितिलाई अस्वीकार गरेको छ । डाच्ने गाउँसहित डनिप्रोपेत्रोभस्कमा भएका रुसी आक्रमणलाई ‘प्रतिरोध’ गरेको युक्रेनी सेनाको दाबी छ । डनिप्रोपेत्रोभस्क पाँच युक्रेनी क्षेत्रहरू डोनेत्स्क, खेर्सन, लुगान्स्क, जापोरिज्जिया र क्रिमियामध्येमा पर्दैन ।
यी पाँच क्षेत्रलाई भने मस्कोले सार्वजनिक रूपमा रुसी क्षेत्र दाबी गर्दै आएको छ । डनिप्रोपेत्रोभस्कको अवस्थालाई किएभका सैन्य बलहरूका लागि ‘कठिन’ भनेर वर्णन गर्दै युक्रेनी सैन्य विशेषज्ञ अलेक्सी कोपित्कोले रुसले यस क्षेत्रमा कुनै प्रकारको बफर जोन बनाउन चाहेको बताए । भने, ‘हाम्रा सेनाहरूले आफ्नो स्थिति निकै स्थिर रूपमा राखिरहेका छन् ।’
ह्वाइट हाउसले गत साता ट्रम्पका पूर्ववर्ती जो बाइडेनले प्रतिज्ञा गरेका केही मुख्य हतियार ढुवानी युक्रेनलाई रोकेको बताएको थियो । अमेरिकी रक्षा आवश्यकता र विदेशलाई सैन्य सहयोगको समीक्षा गरेपछि यो निर्णय गरिएको वासिङ्टनले बताएको थियो । बाइडेनले पठाएको अर्बौं डलरको समर्थन र हतियारको आलोचना गर्दै आएका ट्रम्पले जनवरीमा ट्रम्प ह्वाइट हाउस फर्केपछि किएभलाई लामो समयदेखि दिइँदै आएको अमेरिकी सहायता रोकिने जोखिम उच्च थियो ।
बाइडेन प्रशासनअन्तर्गत वासिङ्टनले युक्रेनलाई ६५ अर्ब डलरभन्दा बढी सैन्य सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो । ट्रम्पले दोस्रो पटक पदभार सम्हालेदेखि किएभका लागि कुनै नयाँ सैन्य सहायता प्याकेजको घोषणा गरेका भने छैनन् । यसको सट्टा रिपब्लिकन राष्ट्रपतिले पुटिनसँगको फोन वार्तासहित दुवै पक्षलाई शान्ति वार्तामा आउन निरन्तर दबाब दिइरहेका छन् ।
सोमबार ट्रम्पले युक्रेनलाई हतियार पठाउने भनी घोषणा गर्नुअघि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जीवन रक्षाका लागि हवाई रक्षा गर्नु मुख्य प्राथमिकता रहेको र यसका लागि युक्रेन साझेदारहरूमा भर परेको बताएका थिए । दक्षिणी युक्रेनी सहर माइकोलाइभमा रातिदेखि मंगलबारसम्म विस्फोटको आवाज सुनिएको थियो । माइकोलाइभका क्षेत्रीय गभर्नर भिटाली किमले सहरको बाहिरी भागमा गोलाबारीका कारण आगलागी भएको र ५१ वर्षीय व्यक्ति घाइते भएको बताए ।
