बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनक गोल्डम्यान स्यासमा सल्लाहकार नियुक्त

असार २५, २०८२

एजेन्सी

Former British Prime Minister Rishi Sunak appointed advisor to Goldman Sachs

काठमाडौँ — बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनकको आफ्नो पुरानो पेशामा फर्किएका छन् । अमेरिकी बहुराष्ट्रिय बैंक गोल्डम्यान स्यास समूहले उनलाई आफ्नो वरिष्ठ सल्लाहकारमा नियुक्त गरेको छ । उनले पहिले पनि गोल्डम्यानमा विभिन्न पदमा काम गरेका थिए । 

अहिलेको बढ्दो भूराजनीतिक र नियामकिय अनिश्चितताबीच बैंकहरूले अनुभवी नीति निर्मातालाई आफ्नो टोलीमा भित्र्याउन थालेका छन् । यसै क्रममा गोल्डम्यानले सुनकलाई फिर्ता ल्याएको हो । 

सन् २०२२ को अक्टोबरदेखि सन् २०२४ को जुलाइसम्म सुनक बेलायतका प्रधानमन्त्री थिए । भारतीय मूलका उनी वाल स्ट्रिट बैंकमा काम गरेको दुई दशकपछि पुन: गोल्डम्यानमा आबद्ध भएका हुन् । उनले बैंकका विश्वव्यापी स्तरमा रहेका क्लाइन्टहरूलाई आर्थिक विषयमा सल्लाह दिने अपेक्षा गरिएको छ । 

गोल्डम्यान स्यासका सीईओ डेभिड सोलोमनले एक विज्ञप्ति जारी गर्दै सुनकले विश्वभरका आफ्ना ग्राहकहरूलाई विभिन्न महत्त्वपूर्ण विषयहरूमा सल्लाह दिने, उनको अद्वितीय दृष्टिकोण र समष्टिगत आर्थिक तथा भूराजनीतिक परिदृश्यमा आधारित दृष्टिकोण साझा गर्ने बताएका छन् । 

सुनकको यस कदमले पूर्वसरकारी अधिकारीहरू वित्तीय क्षेत्रमा प्रवेश गर्ने पुरानै प्रवृत्तीलाई उजागर गरेको रोयटर्सले जनाएको छ । बेलायतका पूर्व चान्सलर अफ एक्सचेकर (अर्थमन्त्री) जर्ज ओसबोर्न र साजिद जाविद पनि वित्तीय क्षेत्रमा लागेका थिए । ओसबोर्न ब्ल्याक रकमा सल्लाहकारका रूपमा सामेल भएका थिए भने जाविद लगानी फर्म सेन्ट्रिकसका साझेदार बनेका थिए ।

गत वर्ष केयर स्टारमरको लेबर पार्टीसँग हार बेहोरेपछि सुनकले प्रधानमन्त्री र कन्जरभेटिभ पार्टीको नेता पदबाट राजीनामा दिएका थिए । हाल उनी रिचमन्ड र नर्थएलर्टनका सांसद छन् ।

एजेन्सी

Link copied successfully