चिनियाँ राष्ट्रपति सीको सार्वजनिक अनुपस्थितिले बढाएको शक्ति हस्तान्तरणको चर्चा

असार २३, २०८२

कान्तिपुर संवाददाता

Chinese President Xi's public absence has fueled talk of a power transfer

काठमाडौँ — चिनियाँ राष्ट्रपति सी जिनपिङ जुन २४ यता सार्वजनिक कार्यक्रम र ‘ब्रिक्स’ सम्मेलनमा समेत नदेखिएपछि उनको अनुपस्थिति राजनीतिक वृत्तमा निकै चासो र अड्कलबाजीको विषय बनेको छ ।

सीको पछिल्लो अनुपस्थितिले चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) भित्र शक्ति सन्तुलनमा केही गम्भीर फेरबदल भइरहेको अनुमान गरिएको छ । सर्वशक्तिमान चिनियाँ राष्ट्रपतिले आफ्ना केही अधिकार हस्तान्तरण गरेर अवकास लिने तयारी गरेको हुनसक्ने 'द हिन्दू' ले उल्लेख गरेको छ ।

राष्ट्रपति सी जिनपिङलाई पछिल्लो एक महिनामा जम्मा दुईपटक मात्रै सरकारी सञ्चार माध्यमले देखाएका थिए, सिंगापुर र न्युजिल्यान्डका प्रधानमन्त्रीहरूसँगको भेटमा। । यसअघि उनी जुन ४ मा बेलारुसका राष्ट्रपति अलेक्सान्दर लुकाशेन्कोसँग भेटघाटका क्रममा सार्वजनिक रूपमा देखिएका थिए । ब्रिक्स सम्मेलनमा सीको अनुपस्थितिलाई बेइजिङले ‘तालिका मिलेन’ भन्ने कारण दिए पनि यसलाई विश्लेषकहरूले आन्तरिक सत्ता समीकरणसँग समेत जोडेर हेरेका छन् ।

प्रधानमन्त्री ली छ्याङले ब्रिक्स सम्मेलनमा चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आफूलाई अन्तर्राष्ट्रिय कूटनीतिमा थप सक्रिय गराएका छन् । सीसीपीको पोलिटब्युरोले जुन महिनाको अन्त्यतिर पारित गरेका नयाँ नियमहरूले पार्टी अन्तर्गतका आयोग र समूहहरूलाई बढी जिम्मेवारी दिने प्रयास गरेको सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।

यस्ता समूहहरूले केही समय अघिसम्म राज्य संयन्त्रको प्रत्यक्ष मातहत रहेका जिम्मेवारीहरू सम्हाल्न थालेका छन् । क्यालिफोर्निया विश्वविद्यालय सान डिएगोका चिनियाँ राजनीतिविज्ञ भिक्टर सीले भनेका छन्, 'सी अब दैनिक प्रशासनिक काममा धेरै नलाग्ने र आफ्ना नीति प्राथमिकता कार्यान्वयनमा निरन्तर निगरानी राख्ने प्रणाली तयार गरिरहेकाजस्तो देखिन्छन् ।'

सीको यस्तो अचानक हराउने व्यवहार चीनमा नयाँ भने होइन । सन् २०२३ मा परराष्ट्र मन्त्री किन ग्याङ र रक्षा मन्त्री ली साङफु रहस्यमय रूपमा हराएका थिए । पछि, भ्रष्टाचार अनुसन्धानको कारण देखाउँदै उनीहरूलाई पदच्युत गरिएको थियो । यस्तो स्थितिमा सामान्यतया आन्तरिक सत्ता पुनर्संरचना वा शक्तिकेन्द्रमा हेरफेर हुने गरेको चिनियाँ राजनीतिक इतिहासले देखाउँछ । तर यसअघि सन् २०१२, २०२० र २०२२ मा पनि सी केही समय सार्वजनिक जीवनबाट एकाएक हराएका थिए । तर, पछिल्ला केही महिनामा उनको सार्वजनिक सहभागिता एकदमै कम देखिएको छ ।  

यसपटक स्थिति अलि फरक देखिएको प्रेस ट्रस्ट अफ इन्डियाको अनुमान छ । चिनियाँ सञ्चार माध्यम ‘साउथ चाइना मर्निङ पोस्ट’ लगायतमा प्रकाशित समाचारहरूका अनुसार सन् २०२७ को पार्टी कांग्रेसलाई लक्षित गर्दै सीले सम्भावित शक्ति हस्तान्तरणको तयारी गरिरहेका हुन सक्छन् । यसैबीच पूर्वराष्ट्रपति हु चिन्ताओका समर्थकहरूको पुनः उदय र सम्भावित उत्तराधिकारीका रूपमा जनरल झाङ यौशियाको प्रभाव बढ्न थालेको पनि कूटनीतिक वृत्तमा चर्चा शुरू भएको छ। 

सीको स्वास्थ्य, भूमिकामा आएको ह्रास वा गम्भीर राजनीतिक रणनीति के हो भन्नेमा स्पष्टता आउन बाँकी भए पनि यो प्रकरणले चिनियाँ राजनीतिक फरक दिशातर्फ मोडिनसक्ने सम्भावना देखाएको छ । यसले सी जिनपिङ युगको अन्त्य नजिकिने त होइन भन्ने बहसलाई घनिभुत बनाएको छ।

अमेरिकासँगको व्यापार सम्झौता र एकपछि अर्को भूराजनीतिक द्वन्द्वबीच सीको अनुपस्थितिले अघिल्ला चिनियाँ राष्ट्रपतिहरूले जस्तो दुई कार्यकालपछि अधिकार हस्तान्तरण नगरी कार्यकाल जारी राख्ने सीको योजनामा आशंका जन्माएको 'द हिन्दू'ले उल्लेख गरेको छ ।

कान्तिपुर

Link copied successfully