भन्सार नीतिमा अमेरिका लचिलो, भियतनामसँग व्यापार सम्झौता

सम्झौताका विवरण सार्वजनिक नभए पनि अमेरिकामा भियतनामी निर्यातमा २० प्रतिशत भन्सार शुल्क लाग्ने बताइएको छ, जुन ट्रम्पले धम्की दिएको उच्च दरभन्दा आधा कम हो 

असार २०, २०८२

एजेन्सी

US flexible on customs policy, trade deal with Vietnam

अमेरिका — पहिलो कार्यकालमा राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कम्पनीलाई चीनमाथिको निर्भरता त्याग्न बाध्य पारेका थिए । अहिले पनि उनले अन्य देशलाई चीनको आपूर्ति शृंखलाबाट बाहिर निस्कन दबाब दिइरहेका छन् ।

बुधबार घोषणा गरिएको भियतनाम र संयुक्त राज्य अमेरिकाबीचको प्रारम्भिक व्यापार सम्झौता त्यही लक्ष्य प्राप्तितर्फको महत्त्वपूर्ण कदम भएको व्यापार विश्लेषकको बुझाइ छ ।

दुई देशबीच गरिएको व्यापार सम्झौताका विवरण सार्वजनिक नभए पनि अमेरिकामा भियतनामी निर्यातमा २० प्रतिशत भन्सार शुल्क लाग्ने बताइएको छ । जुन ट्रम्पले धम्की दिएको उच्च दरभन्दा आधाले कम हो । तर उल्लेखनीय कुरा के छ भने, यो सम्झौताले भियतनाममा उत्पादन नभएर त्यहाँबाट ट्रान्ससिपमेन्टका रूपमा वर्गीकृत कुनै पनि निर्यातमा भने ४० प्रतिशत भन्सार शुल्क लाग्नेछ ।

यो प्रावधान विशेष गरेर चीन लक्षित नै छ, जसले भियतनाम र छिमेकी देशलाई आफ्ना सामानमा अमेरिकी भन्सार शुल्कलाई छल्न प्रयोग गरेको छ । यो अन्य दक्षिणपूर्वी एसियाली सरकारसँगको अमेरिकी व्यापार सम्झौताका विशेषता बन्न सक्छ किनकि बुधबारदेखि चीनबाट अमेरिका जाने सामग्रीमा उच्च भन्सार शुल्क लागू हुन सुरु भएको छ ।

ट्रम्पका व्यापार प्रतिनिधिले भियतनामका इन्डोनेसियाजस्ता निर्यातमुखी छिमेकीलाई पनि उनीहरूको आपूर्ति शृंखलामा चिनियाँ सामग्रीको मात्रा घटाउन दबाब दिइरहेका छन् । उनीहरूले थाइल्यान्डलाई चिनियाँ व्यवसायलाई आउनबाट रोक्नका लागि विदेशी लगानीको छानबिन गर्न आग्रह गरिरहेका छन् । अमेरिकीहरूले केही देशलाई चीनमा उत्पादित सेमिकन्डक्टरको प्रयोगलाई पनि घटाउन दबाब दिइरहेका छन् ।

 चीनलाई व्यापारिक रूपमा घेर्ने अमेरिकी प्रयासले दक्षिणपूर्वी एसियाका देशहरूले सामना गर्ने जोखिमहरूलाई बढाउँछ । जुन बेइजिङका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण क्षेत्र हो र पहिले नै विश्वव्यापी व्यापार र उत्पादनमा चीनको प्रभुत्व अग्रपंक्तिमा छ । ‘ट्रम्प प्रशासनले अमेरिकासँग व्यापार साझेदार बन्न चाहने हो भने चीनको निर्भरताबाट रणनीतिक रूपमा अलग हुनु आवश्यक छ भनेर दबाब दिइरहेका छन्,’ भूराजनीतिक परामर्श फर्म एपीएसी एडभाइजर्सका प्रमुख कार्यकारी स्टिव ओकुनले भने, ‘के ती देशहरू यसमा सहमत हुनेछन् ?’ 

बिहीबार चीनको वाणिज्य मन्त्रालयले अमेरिका–भियतनाम सम्झौताको ‘मूल्यांकन’ गरिरहेको बताएको छ । साथै ‘चीनको हित’ मा असर गर्ने कुनै पनि सम्झौताको दृढतापूर्वक विरोध गर्ने र आफ्नो हितको रक्षा गर्न कदमहरू चाल्ने स्पष्ट पारेको छ । अमेरिका र भियतनामले अहिलेसम्म सहमति जनाएका व्यापारिक सर्तहरूलाई कसरी परिभाषित गर्नेछन् भन्ने विषयले चीनको आगामी रणनीति तय गर्ने छ । 

अमेरिकासँगको व्यापार वार्तामा भियतनामले आफ्ना सबै सर्तहरूलाई बिर्सिएर छलफल गरेको थियो । ट्रम्पले भियतनामी सामानमा ४६ प्रतिशत आयात कर लगाउने धम्की दिएपछि भियतनाम व्यापार वार्तामा सुरुदेखि नै तल परेको थियो । भियतनामका अधिकांश जुत्ता, कपडा र इलेक्ट्रोनिक्सजस्ता उद्योगहरू अमेरिका निर्यातमा पूर्ण रूपमा भर परिरहेको अवस्थामा उच्च भन्सार दरले भियतनामी उद्योग धराशायी हुन सक्छन् । ट्रम्पले भियतनामलाई पनि उच्च भन्सार लगाउने धम्की दिएलगत्तै त्यहाँका व्यापारीहरू आफ्नो उद्योगको भविष्यलाई लिएर अन्योलमा थिए । ‘२० प्रतिशत कर कसैका लागि पनि उत्तम होइन । तर ४६ प्रतिशतभन्दा त २० प्रतिशतलाई नराम्रो भन्न मिल्दैन,’ अमेरिकामा आफ्ना लगभग सबै उत्पादनहरू निर्यात गर्ने फ्र्याग्रेन्स कम्पनीका कार्यकारी ट्रान क्वाङले भने ।

यसका साथै उनले सम्झौतामा उल्लेख भएको ट्रान्ससिपमेन्टमा लगाइने भनिएको शुल्कको पनि समर्थन गरे । उनका अनुसार भियतनाममा लगानी गरेका चिनियाँ कम्पनीबाट अनुचित प्रतिस्पर्धाका कारण भियतनामीलाई त्यसले सुरक्षा प्रदान गर्ने छ । ‘धेरै साना चिनियाँ कम्पनीहरू छन् जो अमेरिकामा निर्यात गर्नुअघि आफ्ना उत्पादनहरूलाई पुनः लेबल गर्न मात्रै भियतनाम आउँछन्,’ उनले भने ।

चिनियाँ कम्पनीका व्यापार र लगानीले भियतनाम र यस क्षेत्रमा आर्थिक वृद्धिलाई बलियो बनाउन मद्दत गरेको छ तर दक्षिणपूर्वी एसियाले चीनबाट आउने सामानहरूको ओइरोलाई पराजित गर्न संघर्ष गरिरहेका छन् । चिनियाँ सामग्रीले धेरै स्थानीय कम्पनीलाई व्यवसायबाट बाहिरिन बाध्य बनाइरहेको छ ।

चीनको अर्थतन्त्र खतरामा परेका बेला कारखानालाई भारी अनुदान दिएपछि विश्वभरमा चिनियाँ निर्यातमा वृद्धि भएको हो । तर चीनको प्रभुत्वमाथिको अमेरिकी हमलाले चीनलाई पनि प्रतिक्रियात्मक कदम चाल्न बाध्य बनाउनेछ । यसले दक्षिण एसियाकै व्यापारमा तरंग ल्याउनेछ ।

एजेन्सी

Link copied successfully