ट्रम्प-मस्क विवादपछि ट्रम्पसँग नजिँदै अन्य प्रविधि उद्यमी

सरकारी ठेक्का प्राप्त गर्न जेफ बेजोस प्रयत्नरत

असार १८, २०८२

कान्तिपुर संवाददाता

After the Trump-Musk dispute, other tech entrepreneurs disagree with Trump

काठमाडौँ — हालै मात्र आफ्नो बिहेका लागि ‘भेनिस सहर’ नै भाडामा लिएका अर्बपति जेफ बेजस अहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग अन्तरिक्ष एजेन्सी, नासा र अमेरिकी रक्षासम्बन्धी परियोजनाको ठेक्का प्राप्त गर्न लबिङ गरिरहेको खबर बाहिरएका छन् ।

अमेजनका संस्थापक बेजोसले ट्रम्प र इलन मस्कबीच सम्बन्ध चिसिएको मौकामा आफ्नो कम्पनी, ब्लु अरिजिनका लागि ठेक्का दिलाउन प्रयास गरेका हुन् । उनले मस्कको स्पेसएक्ससँग प्रतिस्पर्धा गर्दै ती ठेक्का जित्ने दाउ गरिरहेको वाल स्ट्रिट जर्नलले जनाएको छ । 

मस्कको राजनीतिक प्रभाव कमजोर बन्दै गर्दा, अन्य प्रविधि उद्यमी त्यसको फाइदा उठाउन लालायित देखिएका छन् । यसको अग्रपंक्तिमा रहेका बेजसले पछिल्ला दिनमा ट्रम्पसँग पटक-पटक कुराकानी गरिरहेको र यसले दुईबीचको सम्बन्धमा न्यानोपन बढाइरहेको मनी कन्ट्रोलको समाचारमा विश्लेषण गरिएको छ । कुनै बेला ट्रम्पले खूब आलोचना गर्ने बेजस अहिले उनीतर्फ ढल्लिकएका छन् । निर्वाचनका बेलामा उनले अन्तिम समयमा वाल स्ट्रिट जर्नललाई डेमोक्रयाट उम्मेदवार कमला ह्यारिसको पक्षमा उभिन दिएका थिएनन् । 

बेजसको अन्तरिक्षसम्बन्धी सेवा दिने कम्पनी ब्लु अरिजिनका प्रमुख कार्यकारी अधिकृत डेभ लिम्पले हालै मात्र ट्रम्पका चिफ अफ स्टाफसँगको भेटमा चन्द्रमामा मान्छे पठाउने अभियान र रक्षा परियोजनाका लागि आफ्नो कम्पनीको भूमिका र क्षमताबारे प्रस्तुति दिएका थिए । ट्रम्पको दोस्रो कार्यकालमा चन्द्रमामा मानव मिसन पठाउने योजनाअन्तर्गत ब्लु ओरिजिनलाई स्पेसएक्सको विकल्पका रूपमा अगाडि सारिएको छ । अमेजनले ट्रम्पपत्नि मेलानियाबारे वृत्तचित्र निर्माणदेखि ट्रम्पका कार्यक्रममा चन्दा दिनेजस्ता गतिविधिमार्फत राष्ट्रपतिलाई रिझाउने प्रयास गरिरहेको छ । 

मस्कसँग मनमुटाव बढेपछि ट्रम्पले उनका कम्पनीलाई दिइएको कयौँ सरकारी ठेक्का खारेज गरिदिने चेतावनी दिएका थिए । यसको बदलामा मस्कले पनि नासासँगको ‘ड्रागन स्पेसक्राफ्ट’ अभियान रोकिदिने धम्कि दिए । योसँगै नासा र पेन्टागनले वैकल्पिक साझेदार खोज्न थालेको वासिङ्टन पोस्टको समाचारमा उल्लेख छ । त्यसमा ब्लु ओरिजिन, रकेट ल्याबसँगै बेजोसकै स्याटलाइट-बेस्ड इन्टरनेट सेवा प्रदायक ‘प्रोजेक्ट कुइपर’ को नाम चर्चामा आएको छ । ह्रवाइट हाउसले अन्तरिक्ष अभियानमा स्पेस एक्सको वर्चस्व पुन:मूल्यांकन गर्न खोजिरहेको बताइन्छ ।

मस्कको राजनीतिक प्रभाव घटेसँगै अन्य प्रविधि उद्यमीले उनको ठाउँ लिन खोजेका छन्, यसमा एआई कम्पनीका संस्थापकको विशेष लगाव देखिएको छ । च्याटजीपीटी निर्माता, ओपनएआईका प्रमुख साम अल्टम्यानको ह्वाइट हाउस ओहोर-दोहोर बढ्नुका साथै उनले एआई पूर्वाधारका लागि संघीय सर्मथन प्राप्त गरेका छन् । पालान्टिर, रिभाडाजस्ता ‘डेफेन्स-टेक’मा अग्रणी कम्पनी मस्कको स्थान लिन तम्तयार छन् । न्युयोर्क टाइम्सले गत महिना प्रकाशन गरेको समाचारअनुसार अमेरिकी नागरिकको डाटा एकीकृत गर्ने प्रविधि निर्माणका लागि ट्रम्प प्रशासनले पछिल्ला केही महिनामा पालान्टिरसँगको सहकार्य बढाएको छ ।

‘ट्रम्प राष्ट्रपति बनेपछि पालान्टिरले संघीय सरकारबाट ११३ मिलियन डलरभन्दा बढी रकम प्राप्त गरिसकेको छ,’ उक्त समाचारमा भनिएको छ, ‘यसमा पहिलेका ठेक्काबाट थपिएको बजेटसहित गृह मन्त्रालय र पेन्टागन (रक्षा मन्त्रालय) सँग गरिएका नयाँ ठेक्का पनि समावेश छन् ।’ प्रविधि कम्पनीलाई नियमन खुकुलो बनाउने ट्रम्पको नीतिबाट उत्साहित अन्य एआई स्टार्टप पनि अहिले मस्कको एक्स एआईजस्ता ठूलो कम्पनीसँग प्रतिस्पर्धा गर्ने हिम्मत देखाउन थालेका छन् ।

ट्रम्पले मस्कलाई दक्षिण अफ्रिका फर्कन र मस्क नै पूर्वप्रमुख रहेको सरकारी दक्षता विभाग (डज) मार्फत कारबाही गर्ने धम्की दिइरहेका छन् । मस्क र ट्रम्पबीचको यो दरारले प्रविधि क्षेत्रमा राजनीतिक छत्रछायाको कस्तो नयाँ स्वरूप प्रस्तुत गर्छ भन्नेमा धेरैको चासो छ । 

कान्तिपुर

Link copied successfully