फोनवार्ता ‘लिक’ भएपछि थाइल्यान्डकी प्रधानमन्त्री सिनावात्रा निलम्बित

फोनवार्तामा सिनावात्राले पूर्वकम्बोडियाली नेतालाई ‘काका’ भनेर सम्बोधन गरेको र थाई सैन्य कमान्डरलाई ‘प्रतिद्वन्द्वी’ भन्दै आलोचना गरेपछि उनलाई प्रधानमन्त्री पदबाट बर्खास्त गर्नुपर्ने भन्दै अदालतमा मुद्दा परेको हो

असार १७, २०८२

प्रविना पौडेल

Thailand's Prime Minister Shinawatra suspended after the phone conversation was 'leaked'

काठमाडौं — थाइल्यान्डको संवैधानिक अदालतले प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई मंगलबार निलम्बन गरेको छ । पूर्वकम्बोडियाली नेता हुन सेनसँग भएको फोनवार्ता ‘लिक’ भएपछि सिनावात्रालाई पदबाट राजीनामा दिन चर्को दबाब परिरहेका बेला अदालतले निलम्बन गरेको छ ।

सिनावात्राले भने उक्त फोनवार्ताको उद्देश्य ‘देशकै भलाईका लागि भएको’ दाबी गर्दै मंगलबार जनतासमक्ष माफी मागेकी छन् । ‘मेरो आफ्नै स्वार्थका लागि फोन गर्ने कुनै मनसाय नै होइन,’ उनले भनेकी छन्, ‘अराजकताबाट कसरी बच्ने, लडाइँबाट कसरी बच्ने र बढीभन्दा बढी जनताको ज्यान कसरी जोगाउने भन्नेबारेमा मात्र सोचेकी थिएँ, यदि त्यो फोनवार्तालाई ध्यानपूर्वक सुन्ने हो भने त्यसमा मेरो कुनै खराब मनसाय थिएन भन्ने बुझ्न सकिन्छ ।’

थाइल्यान्डको कम्बोडियासँग लामो समयदेखि क्षेत्रीय विवाद चलिरहेको छ । गत मे महिनामा सीमामा झडप हुँदा एक कम्बोडियाली सैनिकको मृत्यु भएको थियो । ‘लिक’ भएको उक्त फोनवार्तामा सिनावात्राले पूर्वकम्बोडियाली नेतालाई ‘काका’ भनेर सम्बोधन गरेको र थाई सैन्य कमान्डरलाई आफ्नो ‘प्रतिद्वन्द्वी’ भन्दै आलोचना गरेको पाइएपछि जनस्तरमा आक्रोश बढेको थियो । त्यसपछि उनलाई प्रधानमन्त्री पदबाट बर्खास्त गर्नुपर्ने भन्दै अदालतमा मुद्दा परेको हो ।

रुढिवादी सांसदहरूले उनलाई कम्बोडियासामु झुकेको र सेनालाई कमजोर बनाएको आरोप लगाउँदै मन्त्रीहरूमा ‘स्पष्ट इमानदारिता’ र ‘नैतिक मापदण्डहरू’ आवश्यक पर्ने संवैधानिक प्रावधानहरू उल्लंघन गरेको जिकिर गर्दै आएका छन् । संवैधानिक अदालतले सीमा विवादका क्रममा सिनावात्राले मन्त्रिपरिषद्को नैतिकता उल्लंघन गरेको हो वा होइन भन्ने विषय विचाराधीन रहेकाले उक्त मुद्दाको किनारा नलाग्दासम्मका लागि प्रधानमन्त्रीबाट निलम्बनको आदेश दिएको हो । उक्त मुद्दामा उनलाई निलम्बन गर्नुपर्ने रायमा दुईका विरुद्ध सात न्यायाधीशले पक्षमा मतदान गरेका थिए ।

Thailand's Prime Minister Shinawatra suspended after the phone conversation was 'leaked'

सिनावात्रालाई आफ्नो बचाउ प्रस्तुत गर्न १५ दिनको समय दिइएको छ । यसैबीच उपप्रधानमन्त्रीले देशको कार्यवाहक प्रधानमन्त्रीका रूपमा काम गर्नेछन् । पछिल्लो फोनवार्ता ‘लिक’ भएपछि हजारौं सर्वसाधारणले बैंककमा उनको नेतृत्वविरुद्ध विरोध प्रदर्शन गरेका थिए । त्यसपछि उनका सहयोगीहरूले राजीनामा दिएपछि थाइल्यान्डका राजा माहा भजिरलोङकर्नले मंगलबार सिनावात्राको मन्त्रिमण्डल फेरबदललाई अनुमोदन गरेका छन् । निलम्बनमा पर्नु केही घण्टाअघि फेरबदल गरिएको मन्त्रिमण्डलमा सिनावात्रालाई संस्कृतिमन्त्री बनाइएको छ । बिहीबार उनले शपथग्रहण गर्ने बताइएको छ । तर संवैधानिक अदालतमा मुद्दा चलिरहेका बेला उनले उक्त भूमिका लिन सक्छिन् वा सक्दिनन् भन्नेमा अस्पष्ट नै छ ।

३८ वर्षीया सिनावात्राले २०२४ अगस्टमा सत्ता सम्हाल्दा उनी थाइल्यान्डकी सबैभन्दा कान्छी र दोस्रो महिला प्रधानमन्त्री बनेकी थिइन् । सिनावात्रा परिवारले विगत दुई दशकदेखि थाइल्यान्डको राजनीतिमा प्रभुत्व जमाउँदै आइरहेको छ । तर यो अवधिमा आफ्नो कार्यकाल पूरा गर्नुअघि नै सत्ता गुमाउनेमा पेटोङटार्न सिनावात्रा परिवारकी तेस्रो सदस्य बन्ने सम्भावना बढी देखिएको छ । दुई साताअघि मात्रै सिनावात्राको पार्टी ‘फेउ थाई’ एक काण्डमा मुछिएपछि सत्ता घटक एक प्रमुख रुढिवादी सहयोगीले सरकार छोडेपछि सिनावात्राको सत्ता गठबन्धनको बहुमत कमजोर बनेको थियो ।

मुलुकको राजनीति वर्षौंदेखि रुढिवादी, सैन्य समर्थक, शाही समर्थक अभिजात वर्ग र सिनावात्रा परिवारबीचको संघर्ष हावी भएको छ । सिनावात्रा परिवारलाई रुढिवादी, सैन्य समर्थक र शाही समर्थक अभिजात वर्गले थाइल्यान्डको परम्परागत सामाजिक व्यवस्थाका लागि खतरा मान्छन् । नौ वर्षअघि दक्षिण कोरियाली अखबारलाई दिएको अन्तर्वार्तामा राजतन्त्रको अपमान गरेको आरोपमा राजद्रोह कानुनको उल्लंघनको मुद्दा खेपिरहेका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राले बैंककको एक फौजदारी अदालतमा उपस्थित भएकै दिन छोरी सिनावात्रालाई पनि अदालतले पदबाट निलम्बन गरेको हो ।

–एजेन्सीको सहयोगमा

प्रविना प्रविना कान्तिपुरकी मल्टीिमिडिया रिपाेर्टर हुन् । उनी युवा पुस्ता, प्रविधी र मनाेस्वास्थ्यका बिषयमा रिपाेर्टिङ गर्छिन् ।

Link copied successfully