इजरायली सेनाले ५१ जनाको ज्यान लिएको गाजा उद्धारकर्ताको दाबी

गत शुक्रबार राष्ट्रपति ट्रम्पले गाजामा ‘अर्को साताभित्र’ नयाँ युद्धविरामको आशा गरिरहेको बताएका बेला इजरायलको आक्रमण भने निरन्तर

असार १७, २०८२

एजेन्सी

Gaza rescuers claim Israeli forces killed 51 people

गाजा सिटी — युद्धग्रस्त प्यालेस्टिनी क्षेत्रमा युद्धविरामका लागि नयाँ पहल भइरहँदा इजरायली सेनाले सोमबार समुद्री किनारको विश्राम क्षेत्रमा २४ जनासहित कम्तीमा ५१ जनाको हत्या गरेको गाजाको नागरिक सुरक्षा एजेन्सीले जनाएको छ ।

इरानसँगको १२ दिने युद्धले विराम लिएपछि इजरायलको गाजासँगको लडाइँ पनि रोकिने सम्भावना बढेको हो । इजरायल–गाजाबीचको २० महिनाभन्दा लामो लडाइँका कारण गाजामा खाद्यान्न, आवास र पिउने पानीको अभाव हुँदा २० लाखभन्दा बढी जनसंख्या गम्भीर मानवीय अवस्थाबाट जुधिरहेका छन् । हमलामा मारिनेहरूमध्ये फोटो पत्रकार इस्माइल अबु हाताब पनि रहेको हमास सरकारको मिडिया कार्यालयले जनाएको छ ।

नागरिक रक्षा प्रवक्ता महमुद बासलले मध्य र दक्षिणमा ११ वटा सहायता केन्द्रहरूसहित गाजाभरि इजरायली आक्रमणमा २७ जनाको मृत्यु भएको बताए । मे महिनाको अन्त्यमा इजरायलले सहायता दिन थालेपछि हालैका साताहरूमा वितरण केन्द्रहरू नजिकै प्यालेस्टिनीहरूको बारम्बार हत्या भएको प्रत्यक्षदर्शी र स्थानीय अधिकारीले रिपोर्ट गरेका छन् । दक्षिणी सहर खान युनिसमा सहायता खोज्नेहरूले रफाहमा इजरायली सेनाले गोली हानेको बताएपछि मृतक र घाइतेहरूलाई ‘ओपन–टप ट्रेलर’मा अस्पताल लगिएको थियो ।

नासेर अस्पतालमा एएफपीको भिडियो फुटेजमा घाइतेहरूलाई रगत लागेको भुइँमा उपचार भइरहेको देखाइएको छ । नागरिक सुरक्षा रिपोर्टका बारेमा इजरायली सेनाले भने तत्काल कुनै टिप्पणी गरेको छैन ।

यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले जुलाई ७ मा ह्वाइट हाउसको भ्रमण गर्न लागेको एक अमेरिकी अधिकारीले नाम नछाप्ने सर्तमा बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै इजरायललाई ‘गाजामा पनि सम्झौता गर्न’ आग्रह गरिरहेका बेला प्रधानमन्त्री नेतान्याहुको अमेरिका भ्रमणलाई चासोका साथ हेरिएको छ । त्यसैगरी इजरायली रणनीतिक मामिलामन्त्री रोन डर्मर पनि यसै साता अमेरिकी अधिकारीहरूसँग वार्ताका लागि वासिङ्टन जाँदै छन् । ह्वाइट हाउसको आग्रहपछि गाजासँग युद्धविराम गर्ने सम्भावना बढिरहे पनि इजरायलले प्यालेस्टिनी क्षेत्रमा आफ्नो आक्रमणलाई भने जारी राखिरहेको छ । जबकि गत शुक्रबार ट्रम्पले गाजामा ‘अर्को साताभित्र’ नयाँ युद्धविरामको आशा गरिरहेको बताएका थिए ।

एजेन्सी

Link copied successfully