तेलाङ्गानाको औषधि उद्योगमा भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३६ पुग्यो, अझै २४ जना बेपत्ता

असार १७, २०८२

एजेन्सी

Death toll rises to 36 in Telangana pharmaceutical factory explosion, 24 still missing

नयाँ दिल्ली — भारतको दक्षिणी राज्य तेलङ्गानाको संगारेड्डी जिल्लामा रहेको एउटा औषधि कारखानामा सोमबार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।

विस्फोटपछि कारखानाको ठूलो भाग भत्किएको छ । जिल्ला दमकल अधिकृत बी. नागेश्वर रावका अनुसार अहिलेसम्म मृतकको संख्या ३६ पुगेको हो । मृतकमध्ये २३ जनाको पहिचान भइसकेको छ । दुर्घटनामा ३५ जना अरु घाइते छन् ।

प्रशासनका अनुसार अझै २४ जना बेपत्ता रहेका छन् । उनीहरुको खोजी भइरहेको छ । ५७ जनालाई भने सुरक्षित निकालिएको छ ।

यस घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको जनाइएको छ । भारतमा यस्ता दुर्घटनाहरू कहिलेकाहीँ हुने गरेका छन् । प्रायः यस्ता घटनामा सुरक्षा नियमहरूको पालना नहुनु मुख्य कारण भएको बताइन्छ ।

एजेन्सी

Link copied successfully