मस्कले फेरि गरे विधेयकको विरोध

राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको ‘वाक्युद्ध’ समाप्त भएको केही सातापछि एलन मस्कले राष्ट्रपतिको विधेयकलाई ‘पूर्ण रूपमा पागल र विनाशकारी’ भएको संज्ञा दिएका छन् 

असार १६, २०८२

एजेन्सी

Musk again opposed the bill

वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘अ बिग ब्युटिफुल बिल’ करार दिएको कानुनको मस्यौदाको एलन मस्कले शनिबार सामाजिक सञ्जालमा आलोचना गरेका छन् । सिनेटमा रिपब्लिकनले पारित गर्न खोजिरहेको ट्रम्पको घरेलु नीति विधेयकको उनले आलोचना गरेका हुन् ।

विधेयकका केही व्यवस्थालाई लिएर दुईबीच चलेको ‘वाक्युद्ध’ समाप्त भएको केही सातापछि मस्कले ट्रम्पविरुद्ध पुनः राजनीतिक टिप्पणी गरेका हुन् । 

शनिबार बिहान रिपब्लिकन नेताहरूले राष्ट्रपतिको एजेन्डा पूरा गर्न ९ सय ४० पृष्ठको नयाँ विधेयक सार्वजनिक गरेका थिए । उक्त विधेयकले कर घटाउने, औषधि उपचार कोषमा कटौती गर्ने, पोषण सहायता कटौती गर्ने तथा सेना र आप्रवासन नीति कार्यान्वयनमा खर्च बढाउनेछ ।

यद्यपि सिनेटले औषधोपचार कोषमा निर्भर रिपब्लिकनहरूको वर्चस्व रहेका ग्रामीण क्षेत्रका अस्पतालहरूलाई मद्दत गर्न थप कोषसहितका केही नयाँ उपायहरू पनि समावेश गरेका छन् । रिपब्लिकन बहुमतका नेताहरूले ट्रम्पको जुलाई ४ को समय सीमाअघि नै विधेयकलाई सिनेटबाट पारित गर्ने र सदनमा अन्तिम अनुमोदन प्राप्त गर्ने आशा गरिरहेका छन् ।

टेस्ला र स्पेसएक्सका प्रमुख कार्यकारी रहेका अर्बपति मस्क राष्ट्रपति ट्रम्पसँगको वाक्युद्धपछि अपेक्षाकृत रूपमा केही शान्त थिए । तर शनिबार सिनेटले प्याकेजका बारेमा छलफल गर्ने घोषणा गरेपछि उनले आफ्नो सामाजिक सञ्जाल एक्समा एक पोस्टमा लेख्दै विधेयकलाई ‘पूर्ण रूपमा पागल र विनाशकारी’ भन्दै पुनः बहसमा उत्रिएका हुन् । ‘सिनेटको पछिल्लो विधेयकको मस्यौदाले अमेरिकामा लाखौं रोजगारीहरू नष्ट गर्नेछ र हाम्रो देशलाई ठूलो रणनीतिक हानि पुर्‍याउनेछ,’ उनले लेखेका छन् । 

राष्ट्रपति ट्रम्पसँगको उनको कटु सम्बन्धको कारक यही विधेयक नै हो । मस्कका अनुसार यस विधेयकले राष्ट्रिय ऋण उल्लेखनीय रूपमा थप्नेछ । साथै उनले राष्ट्रपति ट्रम्पले सत्तारोहण गरेपछि उनले सम्हालेको संघीय सरकारको लागत कटौती तथा क्षमता अभिवृद्धि परियोजना, ‘डज’ ले गरेका कामलाई कमजोर बनाउने मस्कको विश्वास छ । उनले विधेयकलाई ‘घृणित’ भन्दै यसले अमेरिकालाई टाट पल्टाउने दाबी गरेका छन् । 

मस्कले पछिल्लो पटक विधेयकमाथि गरेको यस्तै टिप्पणीपछि ट्रम्पसँगको सम्बन्ध व्यक्तिगत गालीगलौजमा परिणत भएको थियो । मस्कले यौन अपराधी दोषी ठहरिएर जेलमै आत्महत्या गरेका जेफ्री एपस्टाइनबारे गरिएको सरकारी अनुसन्धानको फाइलमा ट्रम्पको पनि नाम रहेको दाबी गरेका थिए । त्यसको जवाफमा ट्रम्पले मस्कको व्यवहार ‘पागलपन’ र लागू पदार्थको प्रयोगसँग जोडिएको बताएका थिए । 

राष्ट्रपतिको शपथलगत्तै ट्रम्पले दिएको भूमिकाबाट पछि हटेर केही समययता मस्क पुनः आफ्नो कम्पनी चलाउनमा केन्द्रित रहँदै गर्दा दुईबीच सामाजिक सञ्जालमा ‘वाक्युद्ध’ चलेको थियो । उनीहरूको विवाद भएको करिब एक सातापछि मस्क आफैंले आफ्ना केही पोस्टहरूप्रति पश्चात्ताप गर्दै ‘त्यो धेरै टाढा पुगेको’ बताएका थिए । यद्यपि ट्रम्पले भने मस्कसँगको सम्बन्ध सुधार गर्न कुनै चासो नरहेको बताएका थिए ।

एजेन्सी

Link copied successfully