युरोप — युरोपका केही देशमा ४२ डिग्रीसम्म तापक्रम बढेपछि फ्रान्स लागयतका केही देशमा आगलागी, डढेलो र उच्च तापक्रमका कारण राजमार्ग बन्द हुनुका साथै केही देशले काममा प्रतिबन्ध लगाएका छन् ।
फ्रान्सका ८४ वटा डिपार्टमेन्टलाई उच्च सतर्कतामा राखिएको छ भने दक्षिणी क्षेत्र र ग्रीसमा डढेलो निभाउन अग्नि नियन्त्रक र अग्नि नियन्त्रक जहाजहरुसमेत परिचालन गरिएको छ । दक्षिणी क्षेत्रको लोदमा राजमार्ग बन्द गरिएको छ । ग्रीस, पोर्चुगल र फ्रान्सका केही गाउँबाट स्थानीयहरुलाई अन्यत्र स्थानान्तरण गरिएको छ ।
सुख्खा मौसम, तीव्र हावा र गर्मीको लहरले डढेलोको खतरा अझै फैलिने अनुमानले अधिकारीहरूले सावधानी अपनाउन आग्रह गरिरहेका छन्।
ग्रीस र पोर्चुगलमा पनि उच्च तापक्रम बढेसँगै डढेलो र आगजनीको घटना तीव्र बनेका छन् । त्यहाँ केही गाउँहरुलाई अन्यत्र स्थानान्तरण गरिएको फ्रान्सेली टिभी टिएफ १ ले जनाएको छ ।
देशभरि तीव्र गर्मीको लहर फैलिएपछि धेरै इटालियन, स्पेनी, ग्रीस र फ्रान्सेली क्षेत्रहरूले धेरै तातो समयमा काममा प्रतिबन्ध लगाउने तयारी गरिरहेका छन् । स्पेन र इटालीका केही क्षेत्रमा त्यो लागू भैसकेको छ । आइतबार बिहानसम्म २१ शहरहरूमा रातो अलर्ट जारी गरिएको छ।
बढ्दो तापक्रमको प्रतिक्रियामा यो उपाय लागू गर्ने योजना बनाइरहेका क्षेत्रहरूमा लाजियो, टस्कनी, क्यालाब्रिया, पुगलिया र उम्ब्रिया समावेश छन् । इटालियन स्वास्थ्य मन्त्रालयले रोम, मिलान र नेपल्ससहित २७ मध्ये १७ शहरहरूलाई आफ्नो उच्चतम सतर्कता अपनाउनुपर्ने सूचीमा राखेको छ ।
युरोपका अन्यत्र क्षेत्रमध्ये स्पेनको राष्ट्रिय मौसम विज्ञान एजेन्सी आएमेटले जुन महिना रेकर्डमा सबैभन्दा तातो हुने चेतावनी दिएको छ । सेभिल र अन्य दक्षिणी शहरहरूमा तापक्रम ४२ डिग्री सेल्सियसमा पुगेको छ । फ्रान्सको दक्षिणी क्ष्रेत्रमा पनि केही स्थानमा तापक्रम ४२ डिग्री पुगेको छ ।
त्यहाँबाट क्याम्पिङ कारहरु हटाइएको छ र पर्यटकहरुलाई अन्यत्र जान आग्रह गरिएको छ । स्वास्थ्य अधिकारीहरूले विशेष गरी वृद्धवृद्धा र साना बालबालिका जस्ता कमजोर समूहहरूलाई अत्यधिक गर्मीको समयमा कडा गतिविधिबाट बच्न र उच्च गर्मीबाट बच्ने उपाय अपनाउन सल्लाह दिएका छन् । विज्ञहरूले जलवायु परिवर्तनकै कारण दक्षिणी युरोपमा गर्मी बढेको मानेका छन् ।
