द्वन्द्वले गरिबी झन् बढ्दै : विश्व बैंक

२०३० सम्म ‘चरम गरिबी’ वर्गको जनसंख्या ४३ करोड ५० लाख नाघ्न सक्ने अनुमान 

असार १५, २०८२

एएफपी

Conflict makes poverty worse: World Bank

वासिङ्टन — विश्व बैंकले एक नयाँ अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै विश्वभर दोहोरिँदो द्वन्द्व र अस्थिरताका कारण गरिबीको समस्या भयावह बन्दै गएको गम्भीर चेतावनी दिएको छ ।

प्रतिवेदनअनुसार, सन् २००० को दशकको सुरुवातदेखि हालसम्म द्वन्द्व र त्यसबाट हुने जनधनको क्षति तीन गुणा बढी भएको छ । यसले गर्दा असुरक्षित र द्वन्द्व प्रभावित मुलुकहरूमा अत्यधिक गरिबी र खाद्य संकटको अवस्था अझ गहिरिँदै गएको उल्लेख गरिएको छ ।

यस वर्ष मात्र ४२ करोडभन्दा बढी मानिसहरू दिनको तीन अमेरिकी डलरभन्दा कम आम्दानीमा गुजारा चलाइरहेका छन्, जुन स्थिति विश्व बैंकले ‘चरम गरिबी’ को परिभाषामा राखेको छ । यस्तो दरले बढिरहेमा सन् २०३० सम्म यो संख्या ४३ करोड ५० लाख नाघ्न सक्ने अनुमान गरिएको छ ।

विश्व बैंक समूहका प्रमुख अर्थशास्त्री इन्दरमित गिलले भने, ‘युक्रेन र मध्यपूर्वका द्वन्द्वमा हाल विश्व समुदायको ध्यान केन्द्रित भए पनि आजका आधा द्वन्द्वग्रस्त देशहरू १५ वर्षभन्दा लामो समयदेखि अशान्ति र अस्थिरतामा फसेका छन् ।’

द्वन्द्व प्रभावित पश्चिमी सुडानको उत्तरी डार्फर राज्यको राजधानी एल फासेरमा अर्धसैनिक समर्थन बल (आरएसएफ) ले गरेको आक्रमणमा शुक्रबार मात्र कम्तीमा १३ सर्वसाधारणको मृत्यु हुनुका साथै २१ जना घाइते भएको स्वयंसेवक समूहले जनाएको छ । एल फासेरमा आरएसएफले आक्रमण गर्दा तीन बालबालिकासहित उनीहरूको मृत्यु भएको स्वयंसेवक समूह सुडानी डाक्टर नेटवर्कले विज्ञप्तिमार्फत बताएको हो ।

सुडानी सशस्त्र बल (एसएएफ) र आरएसएफ दुवैलाई युद्धविराम लागू गर्न आह्वान गर्दै उक्त संस्थाले सहरमा भएको आक्रमण र कडा घेराबन्दीले हजारौं बालबालिका, महिला तथा वृद्धहरूलाई प्रत्यक्ष रूपमा लक्षित गरेको जनाएको छ । आरएसएफले गरेको विस्फोट र आक्रमणले आवासीय क्षेत्रमा तनाव थपेको छ । केही घाइतेहरूलाई सहरको मुख्य अस्पतालमा लगिएको छ, जुन हाल औषधि र चिकित्सा आपूर्तिको गम्भीर अभावको सामना गरिरहेको छ ।

आरएसएफले २०२४ मे देखि एल फासेरमा अवरोध गरिरहेको छ, जसमा दैनिकजसो गोलाबारी र आरएसएफ र एसएएफ दुवै संलग्न तीव्र सहरी लडाइाहरू समावेश छन् । यसले सर्वसाधारण प्रभावित हुँदै आएका छन् । सुडान सन् २०२३ अप्रिल देखि एसएएफ र आरएसएफ बीचको द्वन्द्वमा फसेको छ । युद्धले दशौं हजारको ज्यान लिनुका साथै लाखौंलाई सुडानभित्र तथा यसको सीमापार घर छोड्न बाध्य पारेको छ ।

यस्तै, इजरायल र प्यालेस्टिनी लडाकू समूहबीचको युद्धले गाजामा हजारौं व्यक्तिले ज्यान गुमाएका छन् भने लाखौं घरबारविहीन भएका छन् । शनिबार मात्र उत्तरी, मध्य र दक्षिणी गाजा पट्टीका धेरै क्षेत्रहरूमा इजरायलले गरेका हवाई आक्रमणमा कम्तीमा ३९ जना प्यालेस्टिनीहरूको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएको जनाइएको छ । मध्य गाजा सहरको सामेर नजिकैका दुईवटा अपार्टमेन्टलाई लक्षित गरी भएको इजरायली आक्रमणमा १३ जना नागरिकको मृत्यु हुनुका साथै अन्य घाइते भएको चिकित्सा स्रोतहरूले बताएको छ । 

सहरको पश्चिममा रहेको प्यालेस्टाइन जंक्सन नजिकै इजरायलले विस्थापित मानिसहरूको शिविरमा बम प्रहार गर्दा दस प्यालेस्टिनीको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको जनाइएको छ । गाजा पट्टीको उत्तरमा जबालिया अल–बलादको दर्दुना जंक्सन नजिकैको घरमा भएको आक्रमणमा अन्य १० जनाको मृत्यु भएको उल्लेख गरिएको छ ।

खान युनिसको अघिल्लो बम विस्फोटमा घाइते भएका एक प्यालेस्टिनीको मृत्यु भएको जनाइएको छ । खान युनूसको विस्थापितहरूको शिविरमा भएको इजरायली ड्रोन आक्रमणमा दुई बच्चासहित अन्य तीन जनाको मृत्यु भएको जनाइएको छ । युद्धका कारण खाद्यान्न अभाव हुँदा गाजामा भोकमरीको समस्या बढेको छ ।

हाल ३९ देशलाई द्वन्द्व प्रभावित मुलुकको सूचीमा राखिएको छ, जसमा २१ देश प्रत्यक्ष सशस्त्र संघर्षमा छन् । यस सूचीमा युक्रेन, सोमालिया, दक्षिण सुडान, गाजा क्षेत्र र पश्चिमी तटका साथै इराकजस्ता देशहरू समावेश छन् । यद्यपि, इरान भने समावेश गरिएको छैन । विश्व बैंकले भनेको छ, ‘द्वन्द्वको सुरुआत हुनुअघि नै गरिने रोकथामको पहल धेरै सस्तो, प्रभावकारी र दीर्घकालीन रूपमा फाइदाजनक हुन्छ ।’ विश्व बैंकका उपप्रमुख अर्थशास्त्री आयहान कोसे भने, ‘पछिल्लो डेढ दशकमा द्वन्द्वग्रस्त देशहरूमा विकास होइन, आर्थिक जडता नै सामान्य अवस्था बनेको छ । यस्तो परिस्थितिमा परिवर्तन ल्याउन अबको प्रयास निर्णायक हुन सक्छ ।’

एएफपी

Link copied successfully