ध्वस्त हुन लागेको इजरायललाई बचाउन अमेरिका युद्धमा होमिएको इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनेईको टिप्पणी
न्युयोर्क — यति बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायल–इरान युद्धविरामको श्रेय लिनमा व्यस्त छन् । उनले आफू नभएको भए इरान–इजरायल युद्धमा शान्तिको सम्भावना नभएको बताइरहेका छन् ।
राष्ट्रपति ट्रम्पले आफूलाई शान्तिको नायकका रूपमा प्रस्तुत गर्ने कोसिस गरिरहेका छन् । युद्ध जारी रहँदासम्म इरानलाई इजरायलमाथि थप आक्रमण गरे ध्वस्त पार्ने चेतावनी दिएका ट्रम्पले एकाएक बहादुरीका साथ लडाइँ लडेको भन्दै इरानको पनि प्रशंसा गर्न भ्याए । उनले इजरायली हमलामा इरानले धेरै क्षति बेहोर्नुपरेकाले तेल बिक्रीका लागि अमेरिकाले कुनै अवरोध नगर्ने पनि बताएका छन् । चीनले पनि अब इरानबाट तेल खरिद गर्न सक्ने उनको भनाइ छ ।
यति मात्र होइन, ट्रम्पको मुख्य माग नै परमाणु सम्झौता थियो । तर अहिले फेरि परमाणु सम्झौता आवश्यक नभएको बताएका छन् । नाटो सम्मेलनमा सहभागी हुन नेदरल्यान्ड्स पुगेका बेला पत्रकारसँग कुरा गर्दै उनले अमेरिका र इजरायलको हमलाबाट इरानको परमाणु कार्यक्रम नष्ट गरेकाले अब कुनै सम्झौताको आवश्यकता नभएको बताएका हुन् ।
इजरायल बचाउन अमेरिका होमियो
सार्वजनिक मञ्चमा ट्रम्प इरानविरुद्ध नरम रूपमा प्रस्तुत भइरहँदा इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनेईले भने इजरायललाई बचाउनका लागि अमेरिका युद्धमा होमिएको आरोप लगाएका छन् । बिहीबार उनले सामाजिक सञ्जाल एक्समार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन् । इजरायललाई बचाउनका लागि युद्धमा होमिए पनि अमेरिकालाई केही प्राप्त नभएको खामेनेईको भनाइ छ ।
‘अमेरिका दुवै देशबीचको खुला युद्धमा होमियो किनकि आफूले दक्खल दिइएन भने इजरायल पूरै तरिकाले ध्वस्त हुने डर थियो । तर अमेरिकालाई केही प्राप्त भएन । इरानले अमेरिकाको अनुहारमा ठूलो झापड लगायो,’ उनले भनेका छन् । खामेनेईले इजरायलविरुद्धको युद्धमा इरानको जित भएको दाबी गर्दै आफ्ना नागरिकलाई बधाई दिएका छन् । उनले भनेका छन्, ‘म इजरायली सरकारविरुद्धको जितका लागि बधाई दिन्छु । इरानले इजरायललाई धराशायी बनाएको छ ।’
रुसले सहयोग नगर्ने
यता रुसले इरानका आणविक केन्द्रमा अमेरिकी हमलापछि अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आईएईए) लाई सहयोग नगर्ने निर्णय गरेको छ । आईएईए विभिन्न देशका आणविक कार्यक्रमलाई निगरानी गर्ने संयुक्त राष्ट्रसंघको संस्था हो । रुसको राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले आईएईएलाई रुसले अबदेखि सहयोग नगर्ने निर्णय गरेको जानकारी दिए । ‘यो निर्णय बिनाकारण इरानका आणविक केन्द्रमा गरिएको हमलाको नतिजा हो,’ थपे, ‘यो अवस्थाले आईएईएको साख गिरेको छ, यो चिन्ताको विषय हो ।’
रुस इरानको सहयोगीका रूपमा देखिँदै आएको छ । इरानमाथि इजरायल र अमेरिकाले गरेका हमलाको पनि रुसले निन्दा गरेको थियो । प्रवक्ता पेस्कोभले इरानमाथिको हमलापछि अमेरिका र रुसबीचको द्विपक्षीय सम्बन्ध बिग्रन सक्ने आशंकालाई भने नकारेका छन् ।
यस्तै, चीनका विदेशमन्त्री वाङ यीले इरानी विदेशमन्त्री अब्बास अराघचीसँग वार्ता गरेका छन् । चीनको विदेश मन्त्रालयका प्रवक्ता लिन चियनले भनेका छन्, ‘आईएईएको प्रावधानविपरीत इरानी आणविक केन्द्रमा हमला हुनु राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन हो ।’
यसले आणविकसम्बन्धी विपत्ति ल्याउन सक्ने चीनको भनाइ छ । ‘अन्तर्राष्ट्रिय समुदायले यसको विरोध गर्नुपर्छ,’ उनले भनेका छन् । चीनको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा ‘आफ्नो सम्प्रभुता र सुरक्षाका लागि इरानले उठाएको कदमलाई चीनले समर्थन गर्ने’ पनि उल्लेख छ ।
परमाणु केन्द्र निरीक्षणका लागि कुनै जवाफ आएन
अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीका प्रमुख राफेल ग्रसीले इरानको परमाणु केन्द्रमा अध्ययनका लागि अहिलेसम्म कुनै प्रतिक्रिया नआएको बताएका छन् । बिहीबार रेडियो फ्रान्स इन्टरनेसनलसँग कुरा गर्दै उनले भने, ‘इरानमा आईएईएको उपस्थिति अन्तर्राष्ट्रिय जिम्मेवारी हो । किनकि इरान परमाणु अप्रसार सन्धिको सदस्य हो ।’ उनले सदस्य भएका नाताले इरानसँग एक ‘इन्स्पेक्सन’ प्रणाली हुनुपर्ने र निगरानी गरिनुपर्ने बताएका छन् । साथै एक–एक कानुनी दायित्व भएकाले एकतर्फी रूपमा निलम्बन गर्न नसकिने उनको भनाइ छ ।
परमाणु अप्रसार सन्धि परमाणु हतियारको वैश्विक प्रसारको रोकथामका साथसाथै परमाणु टेक्नोलोजीको शान्तिपर््णू ढंगले उपयोगलाई बढावा दिनका लागि बनाइएको हो ।
सन्धिमा हस्ताक्षर गर्ने कुनै पनि देशसँग परमाणु हतियार छैन । उनीहरू सबैलाई प्रयोगका लागिसमेत प्रतिबन्ध लगाइएको छ । इरानी विदेशमन्त्री अराघचीले बुधबार इरानको परमाणु स्थलमा अमेरिका–इजरायल हमलालाई मध्यनजर गर्दै सदस्यतामाथि पुनर्विचार गर्नुपर्ने बताएका थिए ।
इरानको परमाणु केन्द्र नष्ट भएको सीआईएको दाबी
अमेरिकाको गुप्तचर निकाय सीआईएले हालैका हमलामा इरानको परमाणु कार्यक्रममा क्षति पुगेको दाबी गरेको छ । सीआईए र ट्रम्प प्रशासनका अधिकारीका अनुसार यी आक्रमणमा इरानका कैयौं परमाणु केन्द्र नष्ट भएका छन् भने फेरि बनाउन वर्षौर् ंलाग्नेछ । सीआईएका निर्देशक जोन र्याटक्लिफले इरानको मुख्य परमाणु केन्द्रमा धेरै क्षति पुगेको बताएका छन् । तर अमेरिकाको रक्षा गुप्तचर निकाय ‘डीआईए’ को प्रारम्भिक रिपोर्टमा भने इरानको परमाणु कार्यक्रम केही महिनापछि मात्र धकेलिदिएको उल्लेख छ ।
ट्रम्पले भने इरानको हतियार बनाउने क्षमता पूरै नष्ट गरिदिएको दाबी गरेका छन् । अमेरिकी गुप्तचर प्रमुख तुल्सी गबार्डले पनि नयाँ जानकारीअनुसार इरानको परमाणु केन्द्रहरू पूरै नष्ट भएको दाबी गरेका छन् ।
नेतान्याहुविरुद्ध भ्रष्टाचार मुद्दा खारेज गर्न ट्रम्पको माग
ट्रम्पले इजरायलको न्यायपालिकासँग प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्ध चलिरहेको भ्रष्टाचारको मुद्दा तत्काल रद्द गर्न माग गरेका छन् । उनले यसलाई एक राजनीतिक षड्यन्त्र भएको बताए । इजरायलले प्रधानमन्त्री विरुद्ध बिनाकारण मुद्दा चलाइरहेको उनको आरोप छ । इजरायलले नेतान्याहुजस्ता बलिया नेताको नेतृत्वमा आफ्नो इतिहासको सबैभन्दा महान् समय देखेको ट्रम्पको दाबी छ ।
१३ जुनमा इजरायलले इरानमा आक्रमण सुरु गरेको थियो । त्यसपछि देश युद्धमा होमिएका थिए । १२ दिनसम्म चलेको युद्धपछि ट्रम्पले २४ जुनमा युद्धविरामको घोषणा गरेका थिए । उक्त युद्धमा इरानतर्फ ६ सय २७ जनाले ज्यान गुमाएका छन् भने इजरायलमा २४ जनाले ज्यान गुमाएको रिपोर्टहरूमा जनाइएको छ ।
