इजरायललाई बचाउन अमेरिका युद्धमा होमियो : अयातुल्लाह अली खामेनेई

असार १२, २०८२

कान्तिपुर संवाददाता

America went to war to save Israel: Ayatollah Ali Khamenei

काठमाडौँ — सार्वजनिक मञ्चहरुमा ट्रम्प इरानविरुद्ध नरम रुपमा प्रस्तुत भइरहँदा इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनेईले भने इजरायललाई बचाउनका लागि अमेरिका युद्धमा होमिएको आरोप लगाएका छन् ।

खामेनेई सम्पर्कमा नरहेको समाचारहरु सार्वजनिक भइरहेका बेला बिहीबार उनले सामाजिक सञ्जाल एक्समार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् । खामेनेईले इजरायललाई बचाउनका लागि युद्धमा होमिए पनि अमेरिकालाई केही प्राप्त नभएको टिप्पणी गरेका छन् । 

उनले भनेका छन्, ‘अमेरिका दुवै देशबीचको खुला युद्धमा होमियो, किनकि यदि आफूले दख्खल दिइएन भने इजरायल पूरै तरिकाले ध्वस्त हुने डर थियो । तर अमेरिकालाई केही प्राप्त भएन । इरानले अमेरिकाको अनुहारको ठूलो झापड लगायो ।’

उनले इजरायल विरुद्धको युद्धमा जित भएकोमा आफ्ना नागरिकलाई बधाई दिँदै भनेका छन्, ‘म झुटो इजरायली सरकारविरुद्धको जितका लागि बधाई दिन्छु । इरानले इजरायललाई धराशायी गरेको छ ।’  

खामेनेईले सरकारी सञ्चारमाध्यमार्फत गरेको सम्बोधनमा पनि यही कुरा भनेका छन् । उनले अमेरिकासँग आत्मसमर्पण नगर्ने बताउँदै भनेका छन, 'त्यस्तो कुरा कहिल्यै हुनेछैन । कहिल्यै हुनेछैन ।' यो युद्धबाट अमेरिकाले केही फाइदा पाउन नसकेको टिप्पणी पनि उनले गरेका छन् । 

खामेनेईले १२ दिने इजरायल-इरान युद्ध र युद्धविराम लागू भएको दुई दिनपछि अमेरिकाबारे यस्तो टिप्पणी गरेका हुन् । खामेनेईले अमेरिकाबारे तिखो टिप्पणी गरेपनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार नेदरल्यान्ड्समा नाटोको सम्मेलनका क्रममा इरानले युद्धमा बहादुरी देखाएको बताएका छन् ।

ट्रम्पले इरानको तेल कारोबारलाई आफूले अब नरोक्ने बताउँदै भनेका छन्, ‘इरानले युद्धमा धेरै क्षति व्यहोर्नुपर्‍यो । त्यसबाट उस्किनका लागि इरानलाई तेल बेच्नु आवश्यक छ । यदि चीन इरानबाट तेल खरिद गर्न चाहन्छ भने हामीलाई कुनै समस्या छैन ।'

कान्तिपुर

Link copied successfully