ट्रम्पको ‘निर्देशनमा’ इरान–इजरायल युद्ध विराम

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको केही घण्टापछि दुई देशका उच्च नेतृत्वले त्यसलाई स्वीकार गरेका हुन्

असार ११, २०८२

कान्तिपुर संवाददाता

Trump's 'directed' Iran-Israel ceasefire

काठमाडौँ — अप्रत्याशित रूपमा सुरु भएको इरान–इजरायल युद्ध १२ दिनपछि नाटकीय रूपमा टुंगिएको घोषणा भएको छ । युद्धको दसौं दिनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई पनि युद्धमा होमेका थिए । त्यसको भोलिपल्ट जवाफी कारबाहीस्वरूप इरानले कतार र इराकमा रहेका अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै हवाई आक्रमण सुरु गरेको थियो ।

यसले युद्ध थप पेचिलो बनेको विश्लेषण भइरहँदा तेहरानको स्थानीय समय साढे १ बजे राति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा इरान र इजरायलबीच ‘युद्धविराम’ भएको घोषणा गरिदिए । ट्रम्पले एकपक्षीय रूपमा इरान–इजरायल युद्धमा युद्धविरामको घोषणा गरेको केही घण्टापछि मात्रै दुई देशको उच्च नेतृत्वले त्यसलाई स्वीकार गरेको थियो ।

‘युद्धविराम’ घोषणा गरेको केही घण्टापछिसम्म पनि दुई देशका सेनाले एकअर्का माथि क्षेप्यास्त्र प्रहार भने गरिरहे । अमेरिकी समयअनुसार मंगलबार बिहान नेदरल्यान्ड्समा हुने नेटो सम्मेलनमा भाग लिन प्रस्थान गर्नुअघि राष्ट्रपति ट्रम्पले इजरायलका प्रधानमन्त्री बेन्जेमिन नेतान्याहुलाई फोनमा

‘युद्धविराम उल्लंघनलाई आफूले समर्थन नगर्ने’ बताए । 

ह्वाइट हाउस अधिकारीका अनुसार नेटो शिखर सम्मेलनका लागि जाँदै गर्दा एयर फोर्स वानबाट भएको फोनवार्तामा राष्ट्रपति ट्रम्पले युद्धविराम कायम राख्न के गर्न आवश्यक छ भन्नेबारेमा इजरायलका प्रधानमन्त्री नेतान्याहुसँग ‘दृढ र प्रत्यक्ष’ कुरा गरेका थिए । ‘प्रधानमन्त्रीले परिस्थितिको गम्भीरता र राष्ट्रपति ट्रम्पले व्यक्त गरेका चासोलाई स्पष्ट बुझे,’ अधिकारीले भने । 

लगत्तै ट्रम्पले सामाजिक सञ्जालमा इजरायलको सत्तालाई निर्देशनात्मक सुझाव दिँदै लेखे, ‘इजरायलले इरानमाथि आक्रमण गर्नेछैन । सबै विमानहरू फर्किएका छन् । इरानबाट फर्किंदा मैत्रीपूर्ण ‘प्लेन वेभ’ गर्नेछन् । कसैलाई पनि चोटपटक लाग्ने छैन, युद्धविराम लागू भएको छ । यस विषयमा ध्यान दिनुभएकोमा धन्यवाद ।’ 

इजरायल र इरान १२ दिनको युद्धपछि युद्धविराममा सहमत भएको समाचारप्रति विश्व नेताहरूले ‘सतर्कतापूर्वक आशावादी’ रहेको प्रतिक्रिया जनाएका छन् ।

राष्ट्रपति ट्रम्पले सम्झौताको घोषणा गरेको केही घण्टापछि र त्यसको केही समयपछि इजरायल र इरानले पनि त्यसलाई आत्मसात् गरेपछि पनि दुवै देशले लडाइँ जारी राखेको खबरहरू बाहिरिएका थिए । त्यसपछि ट्रम्पले इजरायललाई थप आक्रमणहरू भए त्यो युद्धविरामको ‘ठूलो उल्लंघन’ हुने चेतावनी दिएका थिए ।

इजरायलले इरानलाई युद्धविराम उल्लंघन गरेको आरोप लगाउँदै त्यसो गरेमा बदला लिने पनि बताएको थियो । युद्धविराम लागू भएपछि इरानको सेनाले भने कुनै आक्रमण नगरेको इरानी सरकारी समाचार संस्थाहरूले दाबी गर्दै रिपोर्ट गरेका छन् ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री एस पेस्कोभले क्रेमलिनले युद्धविराम टिकाउ साबित हुनेमा आशावादी रहेको बताए । ‘यदि युद्धविराम साँच्चै हासिल भएको छ भने त्यसलाई स्वागत मात्र गर्न सकिन्छ,’ उनले भने । रुस र इरान घनिष्ठ सहयोगी हुन् । पुटिनले सोमबार मस्कोमा इरानका विदेशमन्त्रीसँग भेटेका थिए । तर युद्धविराम घोषणाको नेतृत्व गर्ने कूटनीतिमा रुस संलग्न भएको कुनै संकेत देखिएको भने छैन । 

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले युद्धविराममा सहमति भएको ट्रम्पको घोषणाको प्रशंसा गरे । तर उनले भने, ‘स्थिति अझै अस्थिर छ । अन्तिम मिनेटहरूले स्थिति धेरै नाजुक रहेको देखाएको छ ।’

यस्तै जर्मनीका चान्सलर फ्रेडरिक मर्जले पनि ट्रम्पको घोषणाको स्वागत गरे । उनले युद्धविरामलाई कायम राख्न इजरायल र इरानलाई ध्यान दिन आग्रह गरे । ‘अमेरिका र युरोपेली देशहरूले मंगलबार नेटो शिखर सम्मेलनपछि स्थितिलाई स्थिर गर्ने तरिकाहरूमा छलफल गर्नेछन्,’ उनले भने ।

कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमानले भने कतारका आमिरले युद्धविरामका लागि वार्ता गर्न मद्दत गरेको दाबी गरे । ‘हामी युद्धविराम गम्भीर रूपमा लागू भएको देख्ने आशा गर्छौं । यसका लागि दुवै पक्ष जिम्मेवार भएर लाग्छन् भन्ने हामीलाई लागेको छ ।’ यस्तै, साउदी अरेबियाको विदेश मन्त्रालयले पनि एक विज्ञप्तिमा युद्धविरामको घोषणालाई स्वागत गरेको र ‘तनाव कम गर्न गरिएका प्रयासहरूको कदर गरेको’ बताएको छ ।

इरान–इजरायलबीच चलेको १२ दिनको युद्धमा करिब ७०० इरानी मारिएका छन् भने इजरायलतर्फ २८ जना मारिएका छन् । दुवैतर्फ घाइते हुनेको संख्या भने हजारमाथि नै छ । इजरायलको आक्रमणले इरानमा भौतिक रूपमा पनि ठूलो क्षति पुगेको छ । तर, इजरायलीहरूले पनि गत २० महिनादेखि हमाससँगको युद्धमा नभोगेको भौतिक क्षति यो १२ दिनमा बेहोर्नुपरेको छ । 

युद्धविरामपछि तेलको मूल्यमा गिरावट

इजरायल–इरानबीचको द्विपक्षीय युद्धविरामपछि मंगलबार तेलको मूल्य पाँच प्रतिशतभन्दा बढीले घटेको छ ।

मंगलबार बिहान ५.२ प्रतिशतले घटेर प्रतिब्यारेल ६७.७५ डलरमा झरेको हो भने मुख्य अमेरिकी कच्चा तेल सम्झौता डब्लूटीआई प्रतिब्यारेल ५.४ प्रतिशतले घटेर ६५.०१ डलर भएको थियो । इरानले तेल ढुवानीको प्रमुख मानिने होर्मुज जलमार्गलाई रोक्ने तयारी गरेपछि सोमबार बिहान कच्चा तेलको मूल्यमा वृद्धि भएको थियो ।

कान्तिपुर

Link copied successfully