आफ्नो जीडीपीको करिब १.३ प्रतिशत मात्रै रक्षामा खर्च गर्दै आएको स्पेनद्वारा जीडीपीको ५ प्रतिशत बजेट रक्षा क्षेत्रमा खर्च गर्ने नाटोको नयाँ योजनामा असन्तुष्टि
ब्रसेल्स — बढ्दो भूराजनीतिक तनावबीच प्रतिरक्षा खर्च बढाउने विषयमा उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो) का सदस्य राष्ट्रहरू सहमत भएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मंगलबार र बुधबार हुने नाटोको वार्षिक शिखर सम्मेलनमा यसका राष्ट्र प्रमुखहरूले प्रतिरक्षा खर्च कुल गार्हस्थ्य उत्पादनको ५ प्रतिशतसम्म बढाउने विषयमा प्रतिबद्धता जनाउने भएका हुन् ।
नाटोका महासचिव मार्क रुटले सम्मेलनको पूर्वसन्ध्यामा सबै ३२ वटा सदस्य राष्ट्रलाई प्रतिरक्षा खर्च बढाउने विषयका लागि सहमति जुटाउन खासै गाह्रो नभएको प्रतिक्रिया दिएका थिए ।
द गार्जियनसँगको अन्तर्वार्तामा महासचिव रुटले युक्रेनमाथि रुसी आक्रमणका कारण ‘धेरै कुराहरू दाउमा रहेको’ उल्लेख गर्दै नाटो सदस्यहरू रक्षा खर्च बढाउन सहमत भएको बताएका हुन् । ‘सुरक्षा अवस्था धेरै परिवर्तन भइसकेको छ, जब प्रतिरक्षाको समय आउनेछ (नाटो सदस्यमाथि हमला भएमा) हामीले सामूहिक प्रयासका लागि गरेका प्रतिबद्धताहरू पूरा गरेको हुनुपर्नेछ,’ रुटलाई उद्धृत गर्दै द गार्जियनले लेखेको छ, ‘त्यसका लागि हाम्रो तयारी राम्रो हुनुपर्छ ।’
यस योजनाअन्तर्गत, नाटो सदस्यहरूले जीडीपीको ३.५ प्रतिशत रक्षा खर्चमा र थप १.५ प्रतिशत साइबर सुरक्षा, सैन्य वाहनका लागि सडक तथा पुल निर्माण र गुप्तचरलगायतका व्यापक सुरक्षासम्बन्धी लगानीमा छुट्याउने प्रतिबद्धता जनाउनेछन् । युरोप र उत्तर अमेरिकी देशहरूको सैन्य गठबन्धनको यस वार्षिक शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, बेलायती प्रधानमन्त्री केयर स्टारमर, क्यानडाका प्रधानमन्त्री मार्क कार्नी, फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रों, इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनी, युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीलगायत उपस्थित हुँदै छन् । सम्मेलन नेदरल्यान्ड्सको हेगमा हुँदै छ ।
रुस–युक्रेन युद्ध चौथो वर्षमा प्रवेश गरेको र इजरायल–इरान युद्धको पृष्ठभूमिमा सम्मेलन हुन लागेको हो । ट्रम्पले इरान र इजरायलबीच युद्धविराम घोषणा गरे पनि मध्यपूर्वको माहोल तत्काल मत्थर भइहाल्ने अपेक्षा गरिएको छैन ।
हेगस्थित आफ्नो गृहनगरमा बोल्दै नेदरल्यान्ड्सका पूर्वप्रधानमन्त्री रुटले रुसलाई नाटोका लागि ‘सबैभन्दा महत्वपूर्ण र प्रत्यक्ष खतरा’ को रूपमा वर्णन गरेका थिए । मस्कोले आगामी तीनदेखि पाँच वर्षभित्र नाटो सदस्यहरूमाथि आक्रमण गर्न सक्ने उनको आकलन छ । ‘उनीहरू (रुस) आफ्नो क्षेत्र विस्तार गर्न चाहन्छन्, केही वर्षदेखि उनीहरूले आफूलाई तीव्र गतिमा पुनःस्थापित गरिरहेका छन्,’ रुटको भनाइ छ ।
नाटोको कुल ५० ट्रिलियन डलरको अर्थतन्त्रको तुलनामा आफ्नो २ ट्रिलियन डलरको अर्थतन्त्र भए पनि रुसले सम्पूर्ण नाटो गठबन्धनभन्दा ‘चार गुणा बढी गोला–बारुद उत्पादन गरिरहेको’ महासचिव रुटको दाबी छ । ‘त्यसकारण हामीले हाम्रो प्रतिरक्षा क्षेत्रमा लगानी बढाउन सुनिश्चित गर्नुपर्छ,’ उनको भनाइ छ । हाल युरोपेली देशहरू अमेरिकी सैन्य सहयोगमा अधिक निर्भर रहेको र यसले आफ्नो खर्च बढेको ट्रम्प र अमेरिकाको गुनासो रहँदै आएको छ ।
सन् २०२४ मा महासचिव नियुक्ति भएदेखि नै रुटलाई अमेरिकी राष्ट्रपतिसँग नाटोको तनावपूर्ण सम्बन्ध सुल्झाउने जिम्मा दिइएको थियो । यस तनावले कहिलेकाहीँ गठबन्धनको अस्तित्वमाथि नै प्रश्न उठ्ने गरेको छ । ट्रम्पसँग सकारात्मक सम्बन्ध बनाएका रुटले ट्रम्प नाटोप्रति ‘पूर्ण रूपमा प्रतिबद्ध’ रहेकामा जोड दिएका छन् ।
शिखर सम्मेलन नजिकिँदै गर्दा स्पेनले भने जीडीपीको ५ प्रतिशत बजेट रक्षा क्षेत्रमा खर्च गर्ने नाटोको नयाँ योजनामा असन्तुष्टि जनाउँदै यसमा सामेल नहुने संकेत दिएको थियो । स्पेनले आफ्नो जीडीपीको करिब १.३ प्रतिशत मात्रै रक्षामा खर्च गर्दै आएको छ । यो अन्य पश्चिमी राष्ट्रहरूभन्दा निकै कम हो । त्यसपछि ट्रम्पले स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज र उनको सरकारमाथि आक्रोश व्यक्त गरेका थिए । ‘अरूले जति खर्च गरेका छन्, स्पेनले पनि त्यति खर्च गर्नुपर्छ,’ ट्रम्पले शुक्रबार भनेका थिए, ‘रक्षा क्षेत्रमा न्यून खर्च गर्नेमा म्याड्रिड यसै पनि बदनाम छ ।’
