काठमाडौँ — अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान–इजरायलबीचको युद्धमा अब युद्धविराम लागू भएको घोषणा गरेका छन् । उनले ट्रुथ सोसियलमा पोस्ट गर्दै भनेका छन्, ‘अब युद्धविराम सुरु भइसकेको छ । कृपया यसको उल्लंघन नगर्नुहोस् ।’
यसअघि बिहान उनले दुवै देशबीच युद्धविरामको सहमति भएको घोषणा गरेका थिए । गएराति तेहरानमा कैयौं मिसाइल आक्रमण गरिएको थियो ।
यसपछि मंगलबार बिहानै इरानले पनि इजरायलमा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । इरानी आक्रमणमा मंगलबार बिहान मात्रै ४ जना इजरायली नागरिकको मृत्यु भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार म्गलबार बिहान मात्रै इरानले इजरायलमा ६ पटक ब्यालेस्टिक मिसाइल प्रहार गरिसकेको छ । यता इरानको सरकारी टिभीका अनुसार युद्धविराम सुरु हुनुअघि अन्तिम मिसाइल प्रहार गरिएको हो ।
इजरायली एम्बुलेन्स सेवा म्यागन डेभिड एडमका अनुसार इरानी आक्रमणमा चार जना मारिनुका साथै २२ जना घाइते भएका छन् । युद्धविरामबारे इजरायलले भने कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।
