काठमाडौँ — इजरायली रक्षा मन्त्री इजरायल काट्जले युद्धविरामपछि पनि इरानले आक्रमण जारी राखेको दाबी गरेका छन्। उनले युद्धविराम सम्झौताको दुई घण्टापछि आक्रमण भएको भन्दै इरानले युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएका हुन्।
इरानी सेना प्रमुख अब्दुलरहिम मौसभीले भने पछिल्ला घन्टामा इजरायलमाथि कुनै आक्रमण नगरिएको भन्दै प्रतिवाद गरेका छन्। युद्धविराम सम्झौतापछि इरानले गरेको भनिएको आक्रमणमा कति क्षति पुगेको हो भन्नेबारे विस्तृत विवरणहरू सार्वजनिक भइसकेका छैनन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्तावअनुसार इजरायल र इरानबीच युद्धविराम सुरु भएको थियो। इरानले कतारस्थित अमेरिकी बेस क्याम्पमै आक्रमण गरेपछिको परिस्थितिमा इजरायल र इरानबीच युद्धविराम सुरु भएको हो। इरानी सरकारी मिडियाका अनुसार युद्धविराम सुरु हुनुअघि गरिएको मिसाइल आक्रमणबाट चार जनाको मृत्यु हुनुका साथै २२ जना घाइते भएका छन्।
