युद्धविरामको प्रस्तावलाई इजरायलले पनि दियो सहमति

असार १०, २०८२

कान्तिपुर संवाददाता

Israel also agreed to the ceasefire proposal

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्ताव अनुसार इजरायल युद्धविरामको प्रस्ताव स्वीकार गरेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले विज्ञप्ति नै जारी गरेर यस्तो बताएका हुन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले युद्धविराम लागू भइसकेको र दुवै पक्षलाई त्यसको उल्लंघन नगर्न आग्रह गरेपछि इजरायली प्रधानमन्त्रीको यस्तो विज्ञप्ति आएको हो । 

इराकले कतारस्थित अमेरिकी बेसक्याम्पमै आक्रमण गरेपछिको परिस्थितिमा यो घटनाक्रम विकास भएको हो । बिबिसीका अनुसार इजरायली सरकारको एक वक्तव्यमा भनिएको छ, ‘इजरायल यो युद्धविरामको कुनै पनि उल्लंघनको जवाफ जोडतोडले दिनेछ ।’

ट्रम्पको घोषणापछि इरानी विदेशमन्त्री अब्बास अरागचीको बयान आएको थियो । अरागचीले भनेका थिए, ‘अहिलेसम्म कुनै पनि प्रकारको संघर्ष विराम या सैन्य कारबाही रोक्ने सम्झौता भएको छैन । इजरायली सरकारल इरानविरुद्ध  युद्ध रोक्छ भने हामी पनि जवाफी कारबाही गर्दैनौं ।’

इरानको सरकारी मिडियाले युद्धविराम सुरु हुनुअघि मिसाइलको अन्तिम प्रहार स्वरुप इजरायलमा आक्रमण गरिएको जनाएका छन् । उक्त आक्रमणमा परी चार जनाको मृत्यु हुनुका साथै २२ जना घाइते भएका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully