पोप लियोले भेटिकनमा एआई सम्मेलन आयोजना गर्दै भने– ‘प्रविधिले मान्छेको सेवा गर्नुपर्छ, विस्थापित होइन’

असार ९, २०८२

कान्तिपुर संवाददाता

Pope Leo, holding an AI conference at the Vatican, said - 'Technology should serve people, not replace them'.

काठमाडौँ — झन्डै एक महिनाअघि रोमन क्याथोलिकका पोप बनेका लियो चौधौँले गत हप्ता भेटिकनमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई), आचार संहिता र व्यावसायिक शासनमा केन्द्रित सम्मेलन आयोजना गरे ।

जुन १९ देखि २० मा भएको सम्मेलनमा विश्वभरका नेता, प्रविधि क्षेत्रका विज्ञ र अन्य सरोकारवालाहरूको उपस्थिति थियो । तीव्र रूपमा विकास भइरहेको एआई प्रविधिको सामाजिक र नैतिक प्रभावप्रति ध्यानाकर्षण गर्ने प्रयास गरिएको थियो । 

इटालीकी प्रधानमन्त्री जियोर्जिया मेलोनीसहित ६८ देशका प्रतिनिधि पोपको एआई सम्मेलनमा सहभागी थिए । अपोस्टोलिक प्यालेसको साला रेजिया हलमा बोल्दै नवनियुक्त पोपले एआई मानवको सेवा गर्ने प्रविधि भएको धारणा राखेका थिए । ‘यसले मानवलाई अप्ठेरोमा पार्ने वा विस्थापित गर्ने होइन,' उनले भने, 'एआईलाई मानव जगत् र समाजको समग्र विकासका आधारमा नैतिक र नीतिगत रूपमा मूल्यांकन गरिनुपर्छ ।' इटालीको उद्यमशीलतासम्बन्धी मन्त्रालयसँगको सहकार्यमा आयोजित सम्मेलनमा शिक्षा, स्वास्थ्य, विद्युतीय सुशासन र गोपनीयता तथा स्वतन्त्रताजस्ता विषयमा एआईले पारेको प्रभावबारे विस्तृत छलफल भएको थियो । 

गत महिनामात्र चयन भएका पोप लियो चौधौँले आफ्नो सुरुवाती कार्यकालमै एआईलाई प्राथमिक विषय बनाएका हुन् । ‘तपाईंहरूको उपस्थितिले नै एआईमा गम्भीर नीतिगत बहसको आवश्यकतालाई प्रमाणित गर्छ,’ उनले भने, ‘यसले समस्त मानवको फाइदाका लागि अपार सम्भावना बोकेको भएपनि यसको तीव्र विकासले गहिरा प्रश्नहरू पनि उब्जाएको छ ।’ 

पोपले स्वार्थी उद्देश्य वा द्वन्द्वमा एआईको प्रयोगप्रति चेतावनी दिँदै भने, ‘हाम्रो समाजमा आज मानवीय मूल्यप्रति एक प्रकारको विस्मृति देखिएको छ वा कम्तीमा यसको आभास महसुस हुँदै गएको छ । यसले हामी सबैलाई साझा मानवीय गरिमाबारे अझ गहिरो चिन्तन गर्न चुनौती दिन्छ ।’ राजनीति र प्रविधिमा निर्णय लिँदा प्राकृतिक कानुन नै नैतिक मार्गनिर्देशक हुनुपर्ने पोपको भनाइ थियो । ‘एआई सबैभन्दा पहिले एउटा उपकरण हो,’ उनले भने, ‘उपकरणहरूले सधैँ त्यसलाई बनाउने मानव बुद्धिमताको संकेत गर्छन् र तिनको नैतिकता त्यसलाई चलाउने मानिसको उद्देश्यमा भर पर्छ ।’

युरोपेली संघका विभिन्न नेताहरू उपस्थित कार्यक्रमले नवनियुक्त पोपको प्राथमिकतामा प्रविधि क्षेत्र पनि रहेको संकेत दिएको छ । यसअघिका पोपले पनि जलवायु परिवर्तन, डिजिटल प्रविधिजस्ता विषयमा बोल्ने गरेका थिए । स्वास्थ्य सेवा, युद्ध, सेवा प्रवाहसँगै विभिन्न सरकारी कामहरूमा एआईको प्रयोग बढिरहेको र यस क्षेत्रका कम्पनीहरू अर्बौं डलरमा मूल्यांकन हुँदै गएको समयमा पोपको यो भनाइ अर्थपूर्ण रहेको रोयटर्सले उल्लेख गरेको छ ।

कान्तिपुर

Link copied successfully