दोहा — इरानले सोमबार राति कतार र इराकमा रहेका अमेरिकी सैन्य अड्डामा मिसाइल आक्रमण गरेको दाबी गरेको छ । उक्त आक्रमण अमेरिकाद्वारा इरानका आणविक केन्द्रमा गरिएको बमबारीको बदला स्वरूप भएको जनाइएको छ ।
यस हमलापछि मध्यपूर्वका अस्थिर क्षेत्रको तनाव झन् बढ्न सक्ने आकलन गरिएको छ ।
आक्रमणको घोषणा इरानी सरकारी टेलिभिजनमार्फत गरिएको थियो, जहाँ सैन्य संगीतको पृष्ठभूमिमा 'अमेरिकाको आक्रमणको विरुद्धमा शक्तिशाली र सफल जवाफ' भनी स्क्रिनमा देखाइएको थियो ।
आक्रमणको घोषणापछि हवाइ मार्ग बन्द गरेको केहीबेरमै दोहास्थित अल उदीद हवाइ अड्डामा हमला भएको कतारी अधिकारीहरुले जनाएका छन् ।
यसैबीच कतारले दोहामा भएको आक्रमणको निन्दा गरेको छ । तर मिसाइल सफलतापूर्वक निस्क्रिय पारिएको र कुनै पनि मानवीय क्षति नभएको सरकारी दाबी छ । कतारी अधिकारीहरूले हालसम्म आफ्ना हवाई क्षेत्र सुरक्षित रहेको जनाएका छन् ।
कतारको विदेश मन्त्रालयले इरानी क्रान्तिकारी गार्डले गरेको आक्रमणलाई 'कतारको सार्वभौमसत्ता, हवाइ क्षेत्र र अन्तर्राष्ट्रिय कानुनको खुला उल्लंघन' भनेको छ।
इरानले कतारमा गरिएका मिसाइल प्रहार अमेरिकाद्वारा सप्ताहन्तमा इरानमा गरिएका बम आक्रमण बराबरको संख्याका भएको जनाएको छ । साथै इरानले ती हमला बस्ती बाहिर छानेको बताएको छ ।
अल उदीद सैन्य अड्डा अमेरिकी संयुक्त हवाई अभियान केन्द्रको मुख्यालय हो, जहाँबाट सम्पूर्ण क्षेत्रभर अमेरिकी हवाइ शक्ति सञ्चालनको कमान्ड र नियन्त्रण गरिन्छ । यसै अड्डामा विश्वकै सबैभन्दा ठूलो '३७९ औं एयर एक्सपेडिसनरी विङ' पनि अवस्थित छ।
आइतबार बिहान मात्रै अमेरिकाले इरानका तीन आणविक क्षेत्रमा बमबारी गरेको थियो ।
इराकका सैन्य अड्डामा मानवीय क्षति भए, नभएको बारे विवरण आउन बाँकी छ ।
