काठमाडौँ — इजरायल–इरान संघर्ष १० औं दिन पनि जारी छ । इजरायली एयरफोर्सले आइतबार मध्यरात इरानको शाहरुदमा ब्यालेस्टिक मिसाइलको इन्झिन बनाउने उद्योगमा बमबारी गरेको छ ।
यो क्षेत्र इजरायलभन्दा करिब २ हजार किलोमिटर टाढा रहेको छ । यो आक्रमणमा इन्जिन बनाउने कैयौं मेसिन र अन्य सामग्रीहरु नष्ट भएका छन् । यसबाहेक इजरायलले तेहरान, केरमान्शाह र हमादानमा पनि एयर स्ट्राइक गरेको छ ।
यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा सत्ता परिवर्तनको विषयमा कुरा गरेका छन् । उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘यदि इरानमा हालको सरकार इरानका लागि फेरि महान बन्न सक्दैन भने सत्ता परिवर्तन किन नहुनु? मेक इरान ग्रेट अगेन ।’
अमेरिकाले आइतबार ३ परमाणु केन्द्रमा आक्रमण गरेर युद्धमा सहभागिता जनाएको छ । यी केन्द्र फोर्दो, नतान्ज र इस्फहान रहेका छन् । यो अप्रेशनमा ७ बी–२ स्टेल्थ बम्बर्स प्रयोग गरिएको थियो । यस्तै इरानले पनि आइतबार इजरायलमा आक्रमण गरेको छ । इरानी आक्रमणमा इजरायलको नेस जियोनामा केही संरचना ध्वस्त भएका छन् ।
