युद्धले कब्जा गरेको आकाशमा अस्तव्यस्त उडान, वायुसेवा कम्पनीलाई आर्थिक क्षति

‘फ्लाइट रडार २४’ मा हेर्दा युद्धरत देशहरू इराक, इरान र युक्रेनमाथिका आकाश उडानका लागि असुरक्षित हुँदा ती क्षेत्र हुँदै उड्ने विमानहरू घुमाउरो बाटो भएर साउदी अरब, इजिप्ट र तुर्किए हुँदै उडिरहेका छन्

असार ८, २०८२

सजना बराल

Unsettled flights in war-occupied skies, financial loss to airlines

काठमाडौँ — गत शुक्रबारदेखि जारी इरान–इजरायल युद्धका कारण अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन् । इजरायल, इरान, इराक, सुडान, लिबियासँगै आसपासका देशमाथिको हवाई क्षेत्र असुरक्षित बनेपछि वायुसेवा कम्पनीहरूले आफ्ना उडान मार्ग परिवर्तन गर्नुका साथै कतिपय उडान रद्द गर्नु परिरहेको छ ।

यसले ठूलो आर्थिक क्षति भइरहेको कम्पनीहरूको प्रतिक्रिया छ । हालको हवाई ट्राफिक इतिहासमै उच्च रहेका बेला हवाई मार्ग परिवर्तनले ट्राफिक व्यवस्थापनसमेत चुनौतीपूर्ण बनेको उड्डयन क्षेत्रका विज्ञहरूले औंल्याएका छन् । 

सुरक्षित हवाई मार्गको खोजीमा विमानहरूले लामो दूरी तय गर्नुपरेको जनाएका छन् । यसो गर्दा अतिरिक्त इन्धन खर्च हुने, उडान र चालक दलको समय बढ्ने, नयाँ ‘एयरस्पेस’का लागि शुल्क तिर्नुपर्ने र ढिलाइका कारण आर्थिक क्षति हुने गरेको विमान कम्पनीहरूको गुनासो छ । उदाहरणका लागि लन्डनबाट हङकङ सिधा उडानमा हाल दुई घण्टा समय थपिएको सीएनएनका पत्रकार ब्राड लेन्डनले उल्लेख गरेका छन् । लामो दूरीका लागि ऊर्जा–मितव्ययी मानिने बोइङ ७७७ वा एयरबस ए३५० जस्ता विमानमा पनि मार्ग परिवर्तनका कारण औसतभन्दा बढी इन्धन खपत भइरहेको छ । 

उड्डयन क्षेत्रका विज्ञहरूले अहिलेको यो अवस्थालाई एयरलाइन्सले सामान्य रूपमा लिएको बताएका छन् । तर, द्वन्द्व थप लम्बिए, यसले जटिल समस्या निम्त्याउने उनीहरूको चेतावनी छ । मार्ग परिवर्तनका कारण अहिले विश्वको हवाई नक्सा हेर्दा ठाउँ–ठाउँमा गोलाकार खाली ठाउँ (प्वाल) देखिन्छ । आकाशमा उडिरहेका विमानको जानकारी दिने ‘फ्लाइट रडार’जस्ता प्लाटफर्मको म्यापमा पहेंलपुर विमानहरूबीच इरान, इराक, युक्रेन, सुडानजस्ता देशहरूमाथिको आकाशमा भने प्लेन नै छैनन्, त्यहाँका आकाश पूरै खाली छन् । 

प्लेन नउडेर खाली देखिएको यस दृश्यलाई अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले ‘युद्धले प्वाल पारेको आकाश’ भनी व्याख्या गरेका छन् । द्वन्द्व र युद्धले विमान कम्पनीहरूको सेवा सञ्चालन र सुरक्षामा जोखिम खडा गर्छ । यसलाई सामना गर्न उनीहरूले मुख्यतया उडान मार्ग परिवर्तन गर्छन् । युरोपेली संघ एभिएसन सेफ्टी एजेन्सी (ईएएसए), अमेरिकाको संघीय वायुसेवा उड्डयन प्रशासन (एपएए) जस्ता निकायहरूले द्वन्द्वग्रस्त क्षेत्रबारे सूचना दिन बुलेटिन वा ‘नोटिस टु एयरमेन’ जारी गर्ने गर्छन् । त्यसमा सैन्य गतिविधि, मिसाइल आक्रमण वा अन्य जोखिमका कारण निश्चित हवाई क्षेत्रहरूमा जोगिन वा नजान एयरलाइन्सहरूलाई सुझाव वा निर्देशन दिइन्छ । 

नियामक निकाय र सरकारहरूले कतिपय क्षेत्रलाई विमान उडानमा पूर्णरूपमा प्रतिबन्धित गरेका हुन्छन् । त्यसलाई सामान्यतया ‘नो–फ्लाइट जोन’ भन्ने गरिन्छ । जमिनमा युद्ध भई विमान सुरक्षा जोखिममा हुँदा कहिलेकाहीं स्वतः स्वाभाविक रूपमा ‘नो–फ्लाइट जोन’ को दृश्य सिर्जना हुन्छ । तथापि, अमेरिकाको वासिङ्टन डीसी, बेलायतको बकिङ्घम प्यालेस, लन्डनको टेन डाउनिङ स्ट्रिटजस्ता संवेदनशील स्थानहरूमा सुरक्षाका कारण स्थायी नो–फ्लाइट जोन लागू गरिएका छन् । परमाणु ऊर्जा संयन्त्र वरपर पनि सुरक्षाका कारण उडान प्रतिबन्धित हुन्छन् । त्यस्तै, विभिन्न देशका कारागारहरू वरपर ‘नो–फ्लाइट जोन’ घोषणा गरिएको हुन्छ । इस्लाम धर्मावलम्बीहरूको पवित्र स्थल मक्काको काबामाथि पनि उडान गर्न पूर्ण रूपमा निषेध गरिएको छ ।

विज्ञका अनुसार युक्रेन युद्धदेखि हालको इरान–इजरायल संघर्षसम्म आइपुग्दा, वायुसेवा प्रदायक कम्पनीहरूले युद्धको असर सामना गर्न सिकिसकेका छन् । तर, इन्डोनेसियाको बालीनजिकै भएको ज्वालामुखी विस्फोटजस्ता प्राकृतिक विपत्तिहरूमा वायुसेवा थप चुनौतीपूर्ण हुने विज्ञहरू बताउँछन् । बालीछेउको तालिबुरा गाउँमा असार ३ मा भएको ज्वालामुखी विस्फोटबाट निस्किएको खरानीको मुस्लो ११ किलोमिटर माथिसम्म पुगेको थियो । यसले गर्दा पर्यटकीय सहर बालीमा उडानहरू अझैसम्म अवरुद्ध छन् । २०१० मा आइसल्यान्डको ज्वालामुखी विस्फोटका कारण १० लाखभन्दा धेरै हवाई यात्रु प्रभावित भएका थिए । त्यसले वायुसेवा कम्पनीहरूलाई १.७ अर्ब डलरभन्दा बढीको क्षति पुर्‍याएको थियो ।

हवाई सेवाका लागि युद्धग्रस्त क्षेत्रभन्दा ज्वालामुखी विस्फोटजस्ता विपद् बढी चुनौतीपूर्ण मानिन्छन् । किनभने, युद्धहरू अक्सर पूर्वानुमानित हुनुका साथै त्यसमा देखिने किसिमकै खतरा हुने हुँदा एयरलाइन्सहरूले हवाई मार्ग परिवर्तन गरेर त्यसलाई पार लगाउने विकल्प हुन्छ । तर, ज्वालामुखी विस्फोट अप्रत्याशित र अत्यधिक विनाशकारी हुने भएकाले त्यसले विमानको मुख्य भागहरूमै सिधै क्षति पुर्‍याउने बताइन्छ । साथै, ज्वालामुखीको खरानी अधिक हानिकारक हुने भएकाले कैयौं समय उडान सुरक्षित मानिँदैन ।

फ्लाइट रडार २४ मा हेर्दा हाल इजरायल, इराक, इरान र युक्रेनमाथिको आकाश खाली देखिन्छ । इरान, जोर्डन वा इजरायलको हवाई क्षेत्र हुँदै उड्ने अधिकांश विमानहरू ती देशका आकाश छलेर साउदी अरब, इजिप्ट र तुर्किए हुँदै उडिरहेका छन् । ‘अहिले हवाई ट्राफिक मुख्यतया द्वन्द्वग्रस्त क्षेत्रको दक्षिणमा रहेको एउटा साँघुरो करिडोरमा खुम्चिएको देखिन्छ,’ सीएनएनमा पत्रकार लेन्डनले लेखका छन्, ‘यसको अर्थ एयर ट्राफिक कन्ट्रोलरहरूलाई पनि कामको बोझ थपिएको छ । उनीहरूले धेरै विमानलाई सानो ठाउँमा मिलाउनु परिरहेको छ ।’ यसरी हवाई मार्ग परिवर्तनले कम्पनीहरूलाई आर्थिक घाटा त पुगेको छ नै, हवाई ट्राफिक व्यवस्थापनसमेत चुनौतीपूर्ण बनेको उनले प्रस्ट्याएका छन् । (एजेन्सीको सहयोगमा)

सजना बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

Link copied successfully