न्यूयोर्क, अमेरिका — वरपर भीडभाड, चारैतिर नेपाली रेष्टुरेन्ट, पानदेखि चिया पसलसम्म । यस्तो दृश्य अमेरिकामा देख्दा जो कोही नेपालीले आफू विदेशिएको आभाष गर्न सक्दैन । नेपालीका लागि भेटघाट गर्ने स्थल मात्र होइन, अमेरिकामा बिरानोपन केही क्षण मात्र भए पनि भुलाउनसक्ने वातावरण बनेको स्थान हो, न्युयोर्कको ज्याक्सनहाइट ।
विश्वकै व्यस्त र चर्चितमध्ये न्युयोर्क राज्यको म्यानहटन, क्विनस र टाइम्स् स्क्वायर पनि पर्दछ । त्यसमध्ये क्विन्स सिटीको बरोमा पर्ने ज्याक्सन हाइट पछिल्लो एक दशकदेखि ‘नेपालीको जक्सन’ बनेको छ । एक दशक अवधिमा ज्याक्सन हाइट वरपर बढेको आप्रवासीको व्यवसायिक फर्महरु, जनसंख्या र चलपहलका कारण यो क्षेत्रमा घुमफिरसँगै बसोबासका लागि समेत प्रयोग गर्ने नेपालीको संख्या बढेको हो ।
भेटघाट, नेपाली समुदायसँग सम्बन्धित संघसंस्थाहरुको बैठक, चियापान जस्ता आत्मीयता बाँड्ने स्थान बनेको ज्याक्सन हाइटलाई नेपालीहरुले जक्सनको रुपमा लिने गरेका छन् ।
ज्याक्सन हाइटको करिब ३ देखि ४ किलोमिटर वरपर २० वटा भन्दा बढी नेपाली रेष्टुरेन्ट छन् । करिब त्यतिकै संख्यामा नेपालीहरुले संचालन गरेको बुटिक, ब्युटीपार्लर, कपडा पसल र अन्य व्यवसायिक फर्महरु ज्याक्सन हाइटमा देख्न सकिन्छ ।
अधिक व्यवसायिक फर्मका कारण पनि यस क्षेत्रमा नेपालीको चहलपहल बढेको र भेटघाटका लागि सहज मानिएको हो । न्यूयोर्कका लागि नेपाल सरकारका पर्यटन प्रवर्द्धक गोकुल श्रेष्ठले ज्याक्सन हाइट आउनासाथ नेपालको एउटा कुनै चोकमा साथीभाइ भेट्न भेला भएको याद आउने गरेको बताए ।
‘वास्तवमै ज्याक्सन हाइट नेपालीहरुका लागि जक्सन बनिसकेको छ । सामान्यतयाः यहाँ हरेक दिन एक हजार बढी नेपालीहरु कुनै न कुनै कारण भेला भइरहेका हुन्छन्,’ उनले भने, ‘अरु राज्यबाट न्यूयोर्क घुम्न आउनेदेखि नेपालबाट आएका नेपालीले समेत ज्याक्सन हाइटलाई नै भेटघाटको बिन्दु बनाउने गरेका छन् । त्यसकारण पनि यो एउटा जक्सन जस्तो बनेको हो ।’
पर्यटन प्रवर्द्धक श्रेष्ठले एकै स्थानमा २० भन्दा बढी नेपाली रेष्टुरेन्ट, नेपाली स्वादका खानासँगै नेपाली संस्कृति र परम्परा झल्किने वातावरण बनेको स्मरण गर्दै हजारौं मानिसको भीडमा नेपाली चिनिने ज्याक्सन हाइट संम्भवत अमेरिकाको एक मात्र सहर भएको दाबीसमेत गरे ।
‘घुमफिरका लागि आउने नेपालीहरु ज्याक्सन हाइट आइपुग्दा नेपालकै कुनै सहरमा घुमिरहेको महशुस गर्छन् । त्यति मात्र होइन, नेपालका राष्ट्रियतासहित परम्परा झल्किने यहाँको नेपाली व्यवसायिक फर्मका कारण यो क्षेत्र नेपाल चिनाउने माध्यमसमेत बनेको छ,’ उनले भने ।
भेटघाट गर्ने स्थान मात्रै नभएर सयौं नेपालीको बासस्थानसमेत ज्याक्सन हाइट बनेको छ । बसाइँ सहज र सुलभ नभए पनि आफ्नोपन र नेपालमै बसोबास गरेको महशुस हुने भएकोले दशकदेखि ज्याक्सन हाइटमै बसेको स्थानीय जसकुमार राईले बताए । आफू दशकदेखि ज्याक्सन हाइटमै बस्दै आएको र यहाँको भीडभाड, खानपान वरपरको वातावरणका लागि नेपालमै बसोबास गरेको महशुस भएकै कारण सुलभ र सहज दैनिकी नभएपनि अन्यत्र बसाई सर्न मन नभएको उनको धारणा छ ।
‘३–४ किलोमिटर दुरीभित्रै हामी यहाँ सयौंको संख्यामा नेपाली छौं । भेटभाट गर्न मन हुँदा १०–१२ जना तुरुन्तै जुट्छौं,’ उनले भने, ‘यहाँ नजिकै मन्दिर छ, अलि पर गुम्बा छ । यस्तो महशुस भइरहन्छ कि नेपालको कुनै सानो सहरमा हामी छौं ।’
सडकमा हिँडडुल गर्ने मानिसको संख्या अत्यन्त कमसँगै अमेरिकामा मानिसको भीडभाडसमेत न्यून देखिन्छ । तर, ज्याक्सन हाइट र त्यस वरपर रहेका सहरमा भने २४ सै घण्टा हजारौं मानिस हिँडडुल गरिरहेका हुन्छन् । यो अमेरिकामा वीरलै देखिने दृश्य पनि हो । नेपालीहरु भेटघाट गर्ने मात्र स्थान मात्र होइन, ज्याक्सन हाइटलाई एसियालीहरुको ‘हव’को रुपमा लिन सकिने नेपाली संचारकर्मीसमेत रहेका दिवाकरबहादुर चन्द बताउँछन् ।
उनले नेपालीसँगै यस क्षेत्रमा भारतीय, बंगाली र एसियाली मुलुकका सयौं मानिस भेटिने र उनीहरु यसै क्षेत्र वरपर बस्ने जानकारीसमेत दिए । ‘हाम्रो आत्यमिता साँटासाँट गर्ने स्थान बनेको यस क्षेत्रका पसलकवल हेर्दा र मानिसहरुलाई नियाल्दा लाग्छ की हामी अमेरिकामा छैनौं ।’ उनले भने ।
एक तथ्यांकअनुसार ज्याक्सन हाइटका लगभग ६० प्रतिशत बासिन्दा आप्रवासी छन् । तीमध्ये एसिया, दक्षिण अमेरिकी मुलुकका बासिन्दा बढी छन् । तीमध्ये २६.५ प्रतिशत एसियनमुलका मानिस छन् । जसमा नेपाली, भारतीय र बंगाली धेरै छन् । सन् १९६० को दशकमा रैथानेहरु वरपरका ठूला सहर र न्यूजर्सीमा बसाईं सर्न थालेपछि यस क्षेत्रमा आप्रवासीको संख्या बढ्दै गएको द न्यूयोर्क टाइम्सको एक रिपोर्टमा उल्लेख छ ।
यस क्षेत्रमा हाल विश्वभरबाट आएका १ सय ६० भाषा बोल्ने करिब १ लाख ८० हजार बसोबास गर्छन् । रिपोर्टका अनुसार सन् १९०० को दशकसम्म ज्याक्सन हाइटको रुपमा चिनिने क्षेत्र ट्रेन्स मेडो नामक एक विशाल दलदल थियो । बढ्दो सहरीकरणका कारण न्यूयोर्कमा आवासको अभाव र फैलावट सिर्जना बढेसँगै सन् १९०९ मा एडवर्ड ए म्याकडोगलको क्विन्सबोरो कर्पोरेसनले १ सय ३२ हेक्टर अविकसित जमिन र खेतहरु किनेर जोन सी ज्याक्सनको नामबाट ज्याक्सन हाइट नामाकरण गरिएको हो ।
