काठमाडौँ — इजरायल–इरानी द्वन्द्वलाई नियन्त्रण बाहिर जानबाट रोक्न संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार कूटनीतिक पहलका लागि आह्वान गरेका छन् ।
सुरक्षा परिषद्को आपत्कालीन बैठकमा टिप्पणी गर्दै गुटेरेसले कूटनीतिको पहल गर्न जोड दिँदै द्वन्द्वको विस्तारले कसैलाई फाइदा नहुने बताएका हुन् । तेहरानबाट अधिकांश स्थानीय विस्थापित भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ‘अहिले चलिरहेको इरान–इजरायल द्वन्द्वको मुख्य प्रश्न आणविक विषय नै हो,’ गुटेरेसले सुरक्षा परिषद्को बैठकमा भनेका छन्, ‘युद्ध रोकेर शान्तिका लागि संवादको
ढोका खोल्न सबैलाई एकताबद्ध हुन र त्यसमा तत्परताका साथ कार्य गर्न सबैमा आग्रह गर्छु ।’ उनले अन्तर्राष्ट्रिय समुदायलाई दिगो शान्ति प्रदान गर्न सक्ने एकमात्र मार्गको पछाडि जुट्न आग्रह गरे ।
