काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आगामी वर्ष नोबेल शान्ति पुरस्कार प्रदान गर्नुपर्ने पाकिस्तान सरकारको सुझाव छ । यसका लागि पाकिस्तानले ट्रम्पलाई औपचारिक रूपमा मनोनयनसमेत गरेको छ ।
पहलगाम घटनापछि भारत-पाकिस्तानबीच भएको सैन्य तनाव कम गर्न ट्रम्पले 'निर्णायक कूटनीतिक भूमिका निर्वाह गरेको' भन्दै पाकिस्तानले त्यसको उच्च मूल्यांकन हुनुपर्ने जनाएको छ ।
नोबेल शान्ति पुरस्कारका विषयमा पाकिस्तान सरकारले आधिकारिक वक्तव्य र सामाजिक सञ्जाल 'एक्स'मार्फत आफ्नो प्रस्तावबारे जानकारी दिएको छ । सन् २०२५ को मे महिनामा भारत-पाकिस्तानबीच भएको सैन्य झडपलाई युद्धमा परिणत हुनबाट रोक्न ट्रम्पले मध्यस्थता गरेको पाकिस्तानको ठहर छ । जम्मु-कश्मीरको पहलगाममा भएको आक्रमणमा २६ जना सर्वसाधारणको मृत्यु भएपछि भारतले ‘अपरेशन सिन्दुर’ सुरु गरेको थियो । जवाफमा पाकिस्तानले ‘अपरेशन बुनयान मर्सुस’ सञ्चालन गरेको थियो ।
पाकिस्तानले ट्रम्पको रणनीतिक दृष्टिकोण र असाधारण नेतृत्व क्षमताले युद्धविराम सुनिश्चित गर्नुका साथै आणविक युद्धको खतरा टरेको दाबी गरेको छ । भारतले भने युद्धविराममा ट्रम्पको मध्यस्थता अस्वीकार गर्दै आएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले ‘दुई देशका सैन्य अधिकारीहरूको सिधा संवादमार्फत शान्तिवार्ता भएको’ बताएका छन् । भारतका विदेश सचिव विक्रम मिस्रीका अनुसार, अपरेशन सिन्दूरपछि कुनै पनि तहमा भारत-अमेरिका व्यापार सम्झौता वा मध्यस्थताका विषयमा कुरा भएको थिए ।
ट्रम्पले हालै वासिङ्टन डीसीमा पाकिस्तानका सेना प्रमुख जनरल असीम मुनीरसँग भेट गरेका थिए । त्यसपछि उनले ट्रुथ सोसियलमा लेखेका थिए, ‘भारत र पाकिस्तानबीचको युद्ध रोकिदिएको वा अब्राहम सम्झौताजस्ता उपलब्धिका लागि मलाई नोबेल पुरस्कार दिइने छैन… तर जनतालाई सत्य थाह छ र मलाई त्यही काफी छ ।’
जनरल मुनीरले अमेरिकामा ट्रम्पको खुलेर प्रशंसा गर्दै, ‘ट्रम्पकै कारण सम्भावित आणविक भिडन्त टर्यो,’ भनेका थिए । ह्वाइट हाउसकी सहायक प्रवक्ता एना केलीका अनुसार ट्रम्प र मुनीरबीचको भेट नोबेल मनोनयनको पहलस्वरूप आयोजना गरिएको थियो ।
पाकिस्तानको प्रस्तावमा नोबेल समितिले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । ट्रम्पले भने विभिन्न कारणले आफूलाई शान्ति पुरस्कार दिइनुपर्ने दाबी गर्दै आएका छन् । भारत-पाकिस्तान तनाव समाधानसँगै कंगो र रवान्डाबीचको विवादमा पनि आफूले मध्यस्थता गर्न लागेको ट्रम्पले शुक्रबार बताएका थिए । ‘मैले नोबेल शान्ति पुरस्कार यसअघि नै चार/पाँचपटक पाइसक्नुपर्ने हो,’ ट्रम्पको भनाइ छ, ‘तर उनीहरूले मलाई यो पुरस्कार दिँदैनन् किनभने उनीहरूले उदारवादीहरूलाई मात्रै शान्ति पुरस्कार दिन्छन् ।’
