इजरायलबाट आक्रमण नरोकिएसम्म परमाणु कार्यक्रमबारे कुनै वार्ता नहुने इरानको चेतावनी

असार ७, २०८२

कान्तिपुर संवाददाता

Iran warns that there will be no talks on its nuclear program until the attack by Israel stops

काठमाडौँ — इरानले आफूविरुद्ध आक्रमण भइरहेका बेला परमाणु कार्यक्रमका विषयमा वार्ता सुरु गर्न नसकिने बताएको छ । इजरायलका रक्षामन्त्रीले इरानसँग लामो संघर्षको चेतावनी दिएका बेला इरानबाट परमाणु कार्यक्रमसम्बन्धि हाल कुनै वार्ता सुरु हुन नसक्ने बताइएको हो ।

इरानका विदेशमन्त्री अब्बास अरागचीले इजरायलले इरानमाथि आक्रमण बन्द गरेपछि मात्र यस विषयमा इरानले विचार गर्न सक्ने बताएका छन् । 

अरागचीले इरानको परमाण कार्यक्रम पूरै तरिकाले शान्तपूर्ण कार्यक्रम रहेको दाबी गर्दै इजरायलको आक्रमण अन्तर्राष्ट्रिय कानुनविरुद्ध रहेको बताएका छन् ।

उनले भने, ‘हाम्रो क्षमतामा कुनै सम्झौता नहुने म स्पष्ट पार्न चाहन्छु ।’ यता इजरायली सेनाका चीफ अफ स्टाफ इयाल जमीले एक भिडियो सन्देश जारी गर्दै इजरायल लामो लडाइँका लागि तयार हुनुपर्ने र आगामी दिन अझ कठिन हुने बताएका छन् । 

इरानी विदेशमन्त्री अब्बासले शुक्रबार जेनेभामा युरोपिय नेताहरुसँग भेटघाट गरेका छन् । भेटमा युरोपिय नेताहरुले इरानले अमेरिकासँग परमाणु कार्यक्रमलाई लिएर फेरि वार्ता गर्नुपर्ने अनुरोध गरेका थिए । दुवै देशबीच संघर्ष जारी छ । इजरायली सेनाका अनुसार इरानको मिसाइल क्षेत्रमा एक ठूलो आक्रमण गरिएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully