असदको पतनपछि २० लाख सिरियाली स्वदेश फर्किए : राष्ट्रसंघ

२०२४ डिसेम्बर ८ मा इस्लामिक शक्तिहरूको विद्रोहबाट असद सत्ताच्युत भएपछि विस्थापित नागरिकको घर फिर्तीको वातावरण बनेको थियो

असार ६, २०८२

कान्तिपुर संवाददाता

Two million Syrians returned home after the fall of Assad: UN

लेबनान (एजेन्सी) — युद्धका क्रममा देश छोडेर भागेका २० लाखभन्दा बढी सिरियाली नागरिक स्वदेश फर्केका छन् । बसर अल असदलाई सत्ताच्युत गरिएपछि चर्किएको गृहयुद्धमा लाखौं नागरिकले देश छोडेर भागेका थिए । जसमध्ये २० लाखभन्दा बढी स्वदेश फर्केको संयुक्त राष्ट्रसंघीय शरणार्थी नियोगका प्रमुख फिलिप्पो ग्रान्डीले बताएका छन् । 

२०११ मा असदले सरकारविरोधी प्रदर्शनमाथि निर्मम दमन गरेपछि सुरु भएको सिरियाली गृहयुद्धले आधा जनसंख्यालाई आन्तरिक वा बाह्य रूपमा विस्थापित गरेको थियो । २०२४ डिसेम्बर ८ मा इस्लामिक शक्तिहरूको विद्रोहबाट असद सत्ताच्युत भएपछि विस्थापित नागरिकको घर फिर्तीको वातावरण बनेको थियो । ‘डिसेम्बरयता २० लाखभन्दा बढी सिरियाली शरणार्थी र विस्थापितहरू घर फर्केका छन्,’ ग्रान्डीले छिमेकी लेबनानको भ्रमणका क्रममा भनेका छन् । उनले थपे, ‘बढ्दो क्षेत्रीय तनावका बीच यो आशाको संकेत हो । हामीलाई अस्थिरता र विस्थापनको अर्को लहर होइन, राजनीतिक समाधान चाहिएको छ भन्ने यसले के प्रमाणित गर्छ ।’

१४ वर्षसम्म चलेको गृहयुद्धपछि देश फर्कन पाउँदा खुसी देखिएका सर्वसाधारणले युद्धका कारण घर र सम्पत्तिमा नराम्ररी क्षति पुगेको देख्दा निराश छन् । हालै सिरियामाथि पश्चिमा मुलुकले लगाएको प्रतिबन्ध पनि हटेपछि नयाँ सिरियाली सरकारले पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको अपेक्षा गरेको छ, जसमा संयुक्त राष्ट्रसंघले ४ सय अर्ब डलरभन्दा बढी खर्च हुने अनुमान गरेको छ ।

यसै महिनाको सुरुमा यूएनएचसीआरले २०२५ को अन्त्यसम्ममा विदेशबाट १५ लाख सिरियाली र आन्तरिक रूपमा विस्थापित २० लाख नागरिक फर्कन सक्ने अनुमान गरेको थियो ।

कान्तिपुर

Link copied successfully