शुक्रबार नियुक्त इरानी सेना प्रमुख पनि मारिएको इजरायलको दाबी

तत्कालीन सेना प्रमुख मारिएपछि इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले चार दिनअघि मात्र अली सादमानीलाई सेना प्रमुख नियुक्त गरेका थिए 

असार ४, २०८२

कान्तिपुर संवाददाता

Israel claims that the Iranian army chief appointed on Friday was also killed

काठमाडौँ — इरान–इजरायल युद्ध पाँचौं दिनमा प्रवेश गर्दा इजरायलले आफ्नो आक्रमणमा अर्का वरिष्ठ इरानी जनरल अली सादमानी मारिएको दाबी गरेको छ । इरानले इजरायलको उक्त दाबीमा कुनै टिप्पणी गरेको छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जी–७ शिखर सम्मेलनबाट ‘युद्धविरामका लागि पहल गर्ने’ भन्दै चाँडै बाहिरिएर वासिङ्टन फर्की नसक्दै इजरायलले शुक्रबार मात्रै नियुक्त भएका इरानी जनरल मारिएको दाबी गरेको हो । 

इजरायलले गत शुक्रबारदेखि इरानमा आक्रमण गर्न थालेयता इरानको सैन्य नेतृृत्वमा ठूलो धक्का पुगेको छ । इजरायली आक्रमणमा इरानले कम्तीमा ११ वरिष्ठ जनरल गुमाइसकेको छ । मंगलबार बिहान इजरायली सेनाले मेजर जनरल सादमानीलाई मारेको बताएको छ । उनी इरानको सबैभन्दा वरिष्ठ सैन्य कमान्डर हुन् । उनलाई चार दिनअघि मात्र इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले उक्त पदमा नियुक्त गरेका थिए । उनले इजरायलले आक्रमणको सुरुमै मारेका वरिष्ठ जनरल गोलामली रसिदलाई प्रतिस्थापन गरेका थिए ।

इजरायली अधिकारीले अमेरिकालाई आफ्नो विशाल ‘बंकर बस्टिङ बम–म्यासिभ अर्डनेन्स पेनिट्रेटर’ खसालेर युद्धमा प्रत्यक्ष संलग्न हुन दबाब दिइरहेका छन् । जुन इरानको फोर्डो आणविक स्थललाई ध्वस्त पार्न सक्ने एक मात्र हतियार हो । जुन अमेरिकासँगै मात्रै छ । शुक्रबार लडाइँ सुरु भएपछि इजरायलले इरानभित्रका दर्जनौं लक्ष्यमा अचानक आक्रमण गरेको थियो । जसमा आणविक स्थलहरू पनि समावेश थिए । सोही आक्रमणमा धेरै इरानी सेनाका शीर्ष नेता मारिएका थिए ।

युद्ध सुरु भएयता इजरायली आक्रमणमा परेर कम्तीमा २२४ जनाको मृत्यु र १४ सय बढी घाइते भएको इरानको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । इरानको जवाफी कारबाहीमा इजरायलमा पनि कम्तीमा २४ जनाको मृत्यु भएको छ भने ६ सय जना घाइते भएका छन् ।

इजरायली सेनाले मंगलबार बिहान पश्चिमी इरानको ड्रोन र मिसाइल प्रक्षेपण गर्ने केन्द्रलाई निसाना बनाएर हवाई आक्रमण गरेको थियो । इजरायली सेनाका प्रमुख प्रवक्ता जनरल एफी डेफ्रिनका अनुसार इरानविरुद्ध आक्रमण सुरु गरेयता इजरायली सेनाले इरानको १२० भन्दा बढी मिसाइल लन्चरहरू नष्ट गरिसकेको छ ।

यस्तै इरानी सेनाले पनि मंगलबार बिहान इजरायलमा फेरि मिसाइल प्रहार गरेका थिए । त्यसपछि इजरायलले आफ्ना नागरिकलाई अर्को सूचना नभएसम्म सुरक्षित आश्रयस्थलमा जान आह्वान गरेको थियो । इरानी मिसाइलहरूले उत्तरी इजरायलको हाइफा खाडीमा रहेको इजरायलको सबैभन्दा ठूलो तेल रिफाइनरीलाई पनि प्रहार गरेको बताइएको छ ।

उता संयुक्त राष्ट्रसंघीय आणविक निगरानी गर्ने संस्थाले मंगलबार इरानी आणविक स्थल नातान्जको भूमिगत संवर्द्धन केन्द्रमा इजरायल आक्रमणको प्रत्यक्ष प्रभाव परेको बताएको छ । इजरायलले शुक्रबार उक्त स्थललाई निसाना बनाएको थियो र निगरानी संस्था, अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले सुरुमा आक्रमणले इन्धन संवर्द्धन प्लान्टको माथिल्लो भाग, बिजुली पूर्वाधारलाई मात्र असर गरेको बताएको थियो ।

यस्तै, क्यानडामा जारी जी–७ सम्मेलनमा सहभागी सदस्य राष्ट्रहरूले इजरायल–इरान युद्धमा चिन्ता व्यक्त गरेका छन् । उनीहरूले साझा वक्तव्य जारी गर्दै इरानसँग तनाव कम गर्नअपिल समेत गरेका छन् । तर उनीहरूले इजरायललाई आफ्नो सुरक्षा गर्ने पूर्ण अधिकार भएको बताएका छन् । गाजामा युद्धविराम पनि हुनुपर्नेमा जोड उनीहरूको छ । जी–७ राष्ट्रले इरानसँग परमाणु हतियार हुनुहुँदैन भन्नेमा जोड दिएका छन् ।

इरान–इजरायल युद्ध विस्तार हुँदै जाँदा धेरै देशले इजरायल र इरानका लागि ‘ट्राभल एड्भाइजरी’ (यात्रा चेतावनी) जारी गरेका छन् । दुई देशबीचको युद्धलाई ध्यानमा राख्दै अधिकांश देशले आफ्ना नागरिकहरूलाई घर फर्कन आग्रह गरेका छन् । तर इरान र इजरायल दुवैले व्यावसायिक उडानका लागि आफ्नो हवाई क्षेत्र बन्द गरेका छन् । त्यसका कारण धेरै राष्ट्रले जमिनी मार्ग हुँदै इरान र इजरायलका छिमेकी राष्ट्रहरूमा आफ्ना नागरिक पुर्‍याएर उद्धार फ्लाइट गर्न सुरु गरेका छन् ।

कान्तिपुर

Link copied successfully