काठमाडौँ — गत बिहीबार अहमदाबादमा भएको एयर इन्डियाको एआई–१७१ जहाज दुर्घटनापछि अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीहरूले उडानमा उच्च सतर्कता अपनाउन थालेका छन् । अहमदाबाद दुर्घटनामा यात्रु र चालक दलका सदस्यसहित विमानमा रहेका २४१ जना र थप ३१ जनाको ज्यान गएको थियो ।
बिहीबार अहमदाबादबाट उडेको जहाज दुई मिनेटमै होस्टलको बिल्डिङमा ठोक्किएर दुर्घटनाग्रस्त बनेको थियो । उक्त दुर्घटनापछि जहाजहरूको अवस्था र सुरक्षा जाँचलाई लिएर विश्वभर नै गम्भीर चासो उठिरहेको छ । दुर्घटनालगत्तै भारतको नागरिक उड्डयन महानिर्देशनालयले एयर इन्डियाको ७८७ फ्लिटको सुरक्षा जाँचको आदेश दिएको थियो ।
त्यसयता अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीहरूले प्राविधिक र सुरक्षाको कारण देखाएर उडानहरू रद्द गर्न थालेका छन् । जसका कारण अन्तर्राष्ट्रिय उडान नै प्रभावित भएको छ । एयर इन्डियाले मंगलबार मात्र प्राविधिक जाँचपछि आधा दर्जन अन्तर्राष्ट्रिय उडान रद्द गरेको छ । अन्य कम्पनीहरूले सुरक्षा जाँचपछि उडान रद्द गरेका छन् भने केहीले प्रतिकूल मौसम र प्राविधिक कारणले उडान स्थगित गरेका छन् ।
गत आइतबार लन्डन–चेन्नई उडानमा रहेको ब्रिटिस एयरवेजको बोइङ ७८७ ड्रिमलाइनर प्राविधिक समस्याका कारण पुनः हिथ्रो एयरपोर्ट फर्किएको थियो । ‘प्राविधिक समस्या भएको रिपोर्टपछि जहाज हिथ्रो नै फर्कियो’ ब्रिटिस एयरवेजको विज्ञप्तिलाई उद्धृत गर्दै सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।
त्यस्तै सोमबार मात्र हङकङबाट दिल्लीका लागि उडेको एयर इन्डियाको जहाज प्राविधिक समस्या देखिएपछि बीचबाटै फर्किएको थियो । बोइङ ७८७–८ ड्रिमलाइनर जहाज हङकङ नै फर्किएको थियो । भारतीय सञ्चारमाध्यमहरूका अनुसार उडिरहेका बेला जहाजमा केही प्राविधिक समस्या देखिएको चालक दलका सदस्यले सूचना पाएपछि जहाज बीचबाटै फर्काइएको हो । सोमबार नै जर्मनीको फ्राङ्कफर्टबाट हैदराबादको राजीव गान्धी अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडेको जहाजमा बम भएको आशंकापछि फ्राङ्कफर्ट नै फर्किएको थियो ।
