काठमाडौँ — अमेरिकाका ६० प्रतिशत नागरिकले अमेरिका युद्धबाट टाढा रहनुपर्ने सुझाव दिएका छन् । अमेरिकाको युगावमा भएको एक सर्वेक्षणमा अधिकांश अमेरिकी नागरिकले अमेरिका इजरायल–इरान द्वन्द्वमा सहभागी हुन नहुने सुझाव दिएका हुन् ।
करिब ६० प्रतिशतले अमेरिका यो युद्धबाट टाढा रहनुपर्ने मत राखेका छन् । १६ प्रतिशतले मात्र अमेरिका युद्धमा सहभागी हुनुपर्ने कुरामा सहमति जनाएका छन् । अमेरिका युद्धमा सहभागी हुनुपर्ने या हुन नहुने भन्ने विषयमा २४ प्रतिशतले अन्योलता जनाएका छन् ।
राजनीतिक रुपमा डेमोक्रेट्समध्ये ६५ प्रतिशतले अमेरिका युद्धमा सहभागी हुने कुरामा विरोध जनाएका छन् । रिपब्लिकनमध्ये ५३ प्रतिशतले विरोध जनाएका छन् । ६१ प्रतिशत स्वतन्त्र मतदादाताले पनि आफ्नो मत दिएका छन् । सर्वेअनुसार आधा अमेरिकीले इरानलाई दुश्मनका रुपमा मान्ने गरेको पाइएको छ । तर २५ प्रतिशत मानिसले इरान मित्र देश नभएको बताएका छन् ।
मध्यपूर्वमा बेलायती फाइटर जेट तैनाथ
बेलायतले मध्य पूर्वमा फाइटर जेट तैनाथ गरिएको छ । बेलायतका रक्षा सचिव जोन हिलीका अनुसार साइप्रस र ओमानमा रहेका बेलायती नागरिकको सुरक्षाका लागि यो निर्णय गरिएको हो ।
हीलीका अनुरा यहाँ सैन्य तैनाथीको लक्ष्य यस क्षेत्रको तनाव कम गर्नु र सुरक्षा व्यवस्थालाई बलियो बनाउनु हो । यी फाइटर जेटको प्रयोग सहयोगी देशको मद्दतका लागि पनि गर्न सकिने उनले बताएका छन् ।
यसअघि अमेरिकाले पनि मिडिल इस्टमा फाइटर जेटको तैनाथी बढाउने निर्णय गरेको थियो ।
अमेरिकी सैन्य क्षेत्रमा इरानको आक्रमणको योजना
न्युयोर्क टाइम्सका अनुसार अमेरिकी अधिकारिहरुले इरानले पहिलेदेखि नै अमेरिकी सैन्य क्षेत्रमा आक्रमणको तयारी गरिरहेको छ । इरानले मिसाइल र हतियार तयार गरेको र आवश्यक पर्दा अमेरिकाविरुद्ध आक्रमण गर्न सक्ने अमेरिकी अधिकारीहरुले बताएका छन् ।
यदि अमेरिका इजरायलका तर्फबाट युद्धमा सहभागी हुन्छ भने इरानले पनि अमेरिकी सैन्य क्षेत्रमा आक्रमण गर्नेछ । यद्दपि अमेरिकाले इरानविरुद्ध युद्धमा सहभागी हुने विषयमा आफ्नो तयारी सुरु गरिसकेको बताइएको छ ।
यस्तै बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिना सर्त आत्मसमर्पण गर्न इरानलाई चेतावनी दिएका छन् । साथै उनले इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेई कहाँ लुकेको भन्ने जानकारी आफूहरुलाई भएको र उनलाई निशाना बनाउनु कुनै ठूलो कुरो नभएको बताएका छन् ।
यसपछि खामेनेईले पनि एक्समा आफ्नो प्रतिक्रिया दिएका छन् । उनले इजरायलसँग कुनै पनि सम्झौता नगर्ने दाबी गरेका छन् ।
इरानमा ६० फायटर जेटमार्फत आक्रमण
इजरायली सेनाका प्रवक्ता ब्रिगेडियर जनरल एफी डेफ्रिनले ६० इजरायली फाइटर जेटबाट सेन्ट्रल इरानमा ब्यालेस्टिक मिसाइल लन्चरमाथि आक्रमण गरेको दाबी गरेका छन् ।
उनले हालै इजरायली आक्रमणका कारण इरानी सेना पश्चिम इरानबाट हटेर इस्फहान गएको दाबी गरेका छन् ।
