काठमाडौँ — प्यालेस्टाइनी कैदीहरू रहेको इजरायली जेलभित्र इजरायली सेनाले आकस्मिक निरीक्षण गरेको छ । जेलभित्र रहेको प्यालेस्टाइनी कैदीले इजरायली भूमिमा जारी इरानी हवाई आक्रमणपछि उल्लास मनाएको भन्दै बन्दीगृहमा अनुगमन गरेको हो ।
इजरायलस्थित जेल सेवाका अनुसार प्यालेस्टाइनी कैदीबन्दीले खुशी व्यक्त गरिरहेको आवाज सुनिएपछि त्यहाँ निरीक्षण गरिएको हो । सीएनएनले एक भिडियोमा प्यालेस्टाइनी कैदीबन्दीहरूको कोठामा छिरेर सुरक्षाकर्मीले कैदीबन्दीलाइ बन्दुक तेर्साएर उनीहरूलाई नियन्त्रणमा लिएर हात बाँधिएको र केहीको आँखामा पट्टी बाँधिएको दृश्य देखिएको उल्लेख गरिएको छ ।
जेल सेवाका अनुसार प्यालेस्टाइनी कैदीबन्दीलाई अनुशासनको कारबाही गर्ने अदालतमा पेस गरिएको छ । इजरायलका राष्ट्रिय सुरक्षा मन्त्री इतमार बेन गिभिरले शून्य सहनशीलताको नीतिअन्तर्गत उनीहरूलाई कारबाही गरिएको बताउँदै इजरायलका शत्रुप्रति समर्थन जनाउनेप्रति कडा रूपमा प्रस्तुत हुने बताएका छन् ।
सोमबार बिहानैदेखि तेल अभिभ र हाइफालक्षित इरानी मिसाइल आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु भएको र दर्जनौं संरचना ध्वस्त भएका छन् ।
