काठमाडौँ — इरानले इजरायलको खुफीया एजेन्सी मोसादका लागि जासुसी गरेको आरोपमा एक जनालाई फाँसी दिएको छ ।
इरानको न्यूज एन्सीका अनुसार इस्माइल फेकरी नामका व्यक्तिलाई मोसादका लागि जासुसी गरेको आरोपमा फाँसी दिएको हो ।
इरानले यसै साता जासुसीको आरोपमा ९ जनालाई पक्राउ गरेको थियो । इरान–इजरायलबीच संघर्ष तीन दिनदेखि जारी छ ।
दुवै देशले एक अर्काविरुद्ध मिसाइल आक्रमण गरिरहेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार इरानको आक्रमणमा परी २० जना इजरायली नागरिक मारिएका छन् ।
यता इजरायलको आक्रमणमा परी इरानमा २२४ जना मारिएको इरानको स्वास्थ्य मन्त्रालयले बताएको छ । १२ सय ७७ भन्दा बढी घाइते भएका छन् । यस्तै अमेरिकास्थित ह्युमन राइट्स एक्टिभिस्ट्स ग्रुपले इजारयली आक्रमणमा परी इरानमा ४०६ जना मारिएको दाबी गरेको छ ।
इजरायलका रक्षामन्त्री इजरायल कात्जले इरानलाई फेरि चेतावनी दिएका छन् । टाइम्स अफ इजरायलका अनुसार सोमबार उनले इरानको आक्रमणको बदला तेहरानका मानिसले चुकाउनुपर्ने चेतावनी दिएका हुन् ।
