इजरायल–इरान द्वन्द्व : इजरायलद्वारा तेस्रो दिन पनि हवाई क्षेत्र बन्द

असार १, २०८२

एएफपी

Israel-Iran conflict: Airspace closed by Israel for third day

जेरुसेलम — इजरायली सेनाको सैन्य अभियानको जवाफमा इरानले दुई रातसम्म घातक क्षेप्यास्त्र आक्रमण गरेपछि इजरायली अधिकारीहरूले आइतबार लगातार तेस्रो दिन देशको हवाई क्षेत्र बन्द गरिएको बताएका छन्।

इजरायली यातायात र विदेश मन्त्रालयले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, 'सुरक्षा स्थितिका कारण र सुरक्षा अधिकारीहरूको निर्देशनअनुसार इजरायली हवाई क्षेत्र हाल नागरिक उड्डयनका लागि बन्द गरिएको छ । कुनै पनि आगमन वा बहिर्गमन उडानहरू सञ्चालन भइरहेका छैनन् ।' 

इजरायली सेनाले इरानमा सैन्य र आणविक लक्ष्यमा आक्रमण गर्न थालेपछि शुक्रबारदेखि हजारौँ इजरायली नागरिक विदेशमा अलपत्र परेको इजरायली सञ्चारमाध्यमले जनाएका छन् ।

इरानले इजरायललक्षित जवाफी कारबाहीमा इजरायली सहरहरूमा सयौं ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो, जसमा आवासीय भवनहरू ध्वस्त भएका थिए र तीन बालबालिकासहित १३ जनाको मृत्यु भएको थियो।

इजरायलको विमानस्थल प्राधिकरणका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा तेल अभिभ नजिकै रहेको बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थल बन्द रहने पुष्टि गर्दै भनिएको छ, 'कम्तीमा छ घण्टाको पूर्व चेतावनीसहित यसलाई पुनः सञ्चालन गर्ने सूचना दिइनेछ ।'

'इजरायलका लागि उडान पुनः सुरु गर्ने निर्णय सुरक्षित ठानेपछि मात्र हुनेछ,' विज्ञप्तिमा भनिएको छ।

यसैबीच, जोर्डन र इजिप्टको सिनाई प्रायद्वीपमा इजरायलको सीमा नाका खुला रहेको छ । 

एएफपी

Link copied successfully