जेरुसेलम लक्षित इरानी आक्रमण, १३ इजरायलीको मृत्यु

शुक्रबारयता जारी युद्धमा इजरायल–इरान दुवै देशले एक अर्कामाथि आक्रमण जारी राखेका छन्

असार १, २०८२

कान्तिपुर संवाददाता

Iranian attack on Jerusalem kills 13 Israelis

काठमाडौँ — आइतबार पनि इजरायलमा विस्फोटका आवाज सुनिएका छन् । इरानले हाइफा र तेल अभिभ लगायतमा क्षेत्रमा गरेको क्षेप्यास्त्र प्रहारबाट १३ जना इजरायली नागरिकको मृत्यु भएको छ ।

इजरायली सञ्चारमाध्यम दि जेरुसेलम पोस्टका अनुसार आक्रमणमा कम्तीमा २७० जना घाइते भएका छन् । शुक्रबारयता इजरायलले गरेको आक्रमणबाट इरानमा भने २७० भन्दा धेरैको मृत्यु भइसकेको छ भने ८०० जना घाइते भएका छन् । जेरुसेलम पोस्टले समाज कल्याण मन्त्रालयलाई उदृत गर्दै इरानी आक्रमणका कारण कम्तीमा ७२४ जना सर्वसाधरण घरबारविहीन भएको उल्लेख गरेको छ । एबीसी न्युजका अनुसार दुई रातमा इरानले दुई सय ब्यालेस्टिक मिसाइल इजरायलतर्फ प्रहार गरेको थियो ।

सीएनएनले इजरायली डिफेन्स फोर्सले इरानी आक्रमण रोक्न सुरक्षा प्रणाली सक्रिय रहेको बताउँदै नागरिहरुलाई सुरक्षित स्थानमा बस्न निर्देशन दिएको जनाएको छ । तेलअभिभस्थित सीएनएन संवाददाताहरुले सहरमा खतराको संकेत जनाउने साइरन बजिरहेको बताएका छन् । 

इरानमा पनि आइतबार दिउँसो इजरायली आक्रमण भएको छ । सीएनएनले स्थानीयलाई उदृत गर्दै तेहरानमा दिउँसो नयाँ विस्फोटले सहरमा कम्पन उत्पन्न भएको उल्लेख गरेको छ । इरानी सरकारी मिडियाले आवासीय क्षेत्र भएको सहरको पश्चिमी भागमा विस्फोटका आवाज सुनिएको र धूवाँको मुस्लो आकाशमा देखिएको उल्लेख गरेका छन् । तर यो विस्फोटमा कति मानवीय क्षति भयो भन्ने उल्लेख भइसकेको छैन । विस्फोटका आवाज आइरहेका बेला इजरायली सेनाले पत्रकार सम्मेलन गरिरहेको थियो । इजरायली डिफेन्स फोर्सका प्रवक्ता इफी डेफ्रिनले भने, 'हामी एक्कैछिन पनि आक्रमण राेक्दैनौँ । हामीले तेहरानमा एकपछि अर्को आक्रमण जारी राख्नेछौँ ।'

शुक्रबार इरानविरुद्ध इजरायलले आक्रमण गरेयता दुई देशबीच एक अर्काविरुद्ध मिसाइल आक्रमणको शृंखला जारी छ । शनिबार मध्यराति पनि इजरायलले इरानको तेल प्रशोधन केन्द्र लक्षित गरी आक्रमण गरेपछि इरानले जवाफी आक्रमण सुरु गरेको हो ।

इजरायलमा करिब ५ हजार ५०० र इरानमा रहेका १२ नेपाली विभिन्न सेवा क्षेत्रमा कार्यरत छन् । आइतबार परराष्ट्रमन्त्री राणा देउवाले तेल अभिभ र दोहास्थित नेपाली राजदूतहरुलाई टेलिफोन गरी नागरिकको सुरक्षा र उनीहरुसँग निरन्तर सम्पर्कमा रहन निर्देशन दिएकी छिन् । इजरायल र इरानबीच विकसित घटनाक्रमलाई नेपाल सरकारले नजिकबाट नियालिरहेको र त्यहाँ रहेका नेपालीको हित सुनिश्चित गर्न आवश्यक उपयुक्त कदम चालिने परराष्ट्रले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कान्तिपुर

Link copied successfully