काठमाडौँ — इरानले हाइफा र तेलअविवलाई लक्षित गरेर प्रहार गरेको मिसाइल आक्रमणमा कम्तीमा १० जनाको इजरायली नागरिकको मृत्यु भएको छ । इरानको परमाणु कार्यक्रमसँग सम्बन्धित संरचना लक्षित इजरायली आक्रमणपछि इरानले पनि आक्रमण सुरु गरेको हो ।
दी टाइम्स अफ इजरायलका अनुसार इरानी आक्रमणमा परी १० जना मारिनुका साथै २ सयभन्दा बढी घाइते भएका छन् भने २० जना बेपत्ता रहेका छन् ।
अलजजिराले इरानी सञ्चारमाध्यमहरुलाई उद्धृत गर्दै इजरायली आक्रमणमा कम्तीमा ८० जनाको मृत्यु भएको र ८ सय भन्दा बढी घाइते भएको उल्लेख गरेको छ । मृत्यु हुनेमा २० जना बालबालिका पनि रहेका छन् ।
इजरलायलले शुक्रबारदेखि सुरु गरेको आक्रमणका कारण मस्कटमा आइतबार हुने भनिएको बहुप्रतीक्षित इरान-अमेरिका वार्ता पनि नहुने भएको छ । इरानी विदेशमन्त्री अब्बास अर्घाक्चीले इजरायलले निरन्तर आक्रमण गरिरहेका बेला वार्ता बस्नुको कुनै अर्थ नहुने बताएका छन् ।
इरान-अमेरिकाबीच न्युक्लियरका विषयमा केन्द्रित वार्ताका निम्ती ओमानले मध्यस्तता गर्दै आएको थियो । ओमानका विदेशमन्त्री बद्र अल्बुसैदीले सामाजिक सञ्जाल एक्समार्फत वार्ता नहुने बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार बिहान सामाजिक सञ्जाल ट्रुथ सोसियलमा पोस्ट गर्दै राति इरानमाथि भएको आक्रमणमा अमेरिका कुनै पनि रुपमा संलग्न नभएको बताउँदै आफूहरुलाई यो द्वन्द्वमा नतान्न भनेका छन् । साथै उनले इजरायलविरुद्ध आक्रमण नगरी वार्तामार्फत समस्या समाधान गर्न इरानलाई चेतावनीसमेत दिएका छन् ।
